Tuesday, December 20, 2016

जनकपुरमा सडक छेउको नालामा युवकको शव

 ६ पुस,२०७३    जनकपुरको पिडारीचोक स्थित सडक छेउको नालामा एक युवकको शव भेटिएको छ । जनकपुर–ढल्केवर सडकखण्डको पिडारीचोकबाट उत्तरपश्चिम छेउको नालामा युवकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
युवकको शव प्रहरीले नालाबाट निकालेर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार  मंगलबार राति ११ बजेको समयमा जनकपुरबाट ढल्केवर तर्फ जान लागेको बिआर ३० पि ६६३२ नम्बरको भारतीय नम्बरप्लेटको स्कारपिओ अत्यधिक गतिका कारण दुर्घटना भएको थियो । तर प्रहरी टोली पुग्दा त्यहाँ कोही पनि थिएनन् । प्रहरीले राति नै दुर्घटना भएको स्कारपिओ नियन्त्रणमा लिएको थियो ।

बुधबार बिहान दुर्घटना स्थलकै नालामा शव भेटेपछि स्कारपिओमै सवार कुनै व्यक्ति भएको वा अन्य व्यक्तिलाई ठक्कर दिएर घाइते भएको अवस्थामा फालेको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय मुजेलियाका सई गगन शाहीले बताउनुभयो । 

संसदीय गतिरोध अन्त्यका लागि दलहरुबीच जारी छलफल निश्कर्ष उन्मुख- सभामुख घर्ती

६ पुस,२०७३ ।  सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्यका लागि दलहरुबीच पछिल्लो समय जारी छलफल निश्कर्ष उन्मुख भएको बताउनुभएको छ । विहान एक संचार माध्यमसँगको कुराकानीमा यस्तो बताउनु भएको हो ।
 निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउनेबारे दलहरुबीच कुनै विवाद नरहेपनि संशोधन विधेयकमा कायम विवाद अन्त्यका लागि दलहरु समेत गम्भीर बनेको उहाँको भनाई थियो । गतिरोध अन्त्यका लागि आफुले पहल जारी राखेको बताउदै सभामुख घर्तीले भोली संसद बैठक बस्नु अगावै निकास निस्कने बिश्वास ब्यक्त गर्नुभयो । 

आगामी बर्षको माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने बिषयमा सरकार तथा दलहरुको ध्यानकर्षण गराएको जानकारी दिदै उहाँले त्यसका लागि उपयुक्त वातावरण बनाउन दलहरु एक ठाउँमा उभिनुको बिकल्प नभएको बताउनुभयो । घर्तीले भन्नुभयो– बिगतमा ठूला उपलब्धि हासिल गर्दा दलहरु एक ठाउँमा उभिएको उदाहरण छ । अब पनि राजनीतिक गतिरोध अन्त्यका लागि एक ठाउँमा आउनुको बिकल्प छैन ।   

संसदीय गतिरोध अन्त्य गर्दै छलफलमा रहेका निर्वाचनसँग सम्बन्धित तीन वटा विधेयक, अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने सभामुख घर्तीको बिश्वास थियो । 

पुरानै संरचनामा स्थानीय निकायको चुनाव हुन नसक्ने दाहालको भनाई

५ पुस,२०७३। प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन नहुने बताउनुभएको छ । सुर्खेतको बिरेन्द्रनगरमा आज संचारकर्मीसंग प्रधानमन्त्री दाहालले पुरानै संरचनामा निर्वाचन गर्नु भनेको संविधान कार्यान्वयनबाट पछाडि हट्नु भएको दावी गर्नु भयो ।
पुर्नसंरचना गरेर स्थानीय तहकै निर्वाचन हुने भन्दै उहाँले आफू पुरानै संरचनालाई आधार मानेर निर्वाचन गर्न सहमत भएको भन्ने कुरा सत्य नभएको उल्लेख गर्नुभयो । माओबादी केन्द्रको प्रदेश स्तरिय प्रशिक्षणका लागी प्रधानमन्त्री दाहाल सुर्खेत पुग्नुभएको हो । प्रशिक्षणमा उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता उल्ट्याउन कोशिस भइरहेको दावी गर्नु भयो ।  

माओवादी आन्दोलन कमजोर भएकाले परिवर्तनका मुद्दा उल्टाउने शक्तिले षडयन्त्र गरेको उहाँको भनाई थियो । परिवर्तनका मुद्दा जोगााउन छरिएका माओवादीबीच एकता आवश्यक रहेको औंल्याउनुभयो । विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्तावलाई सरकारले संसदमा दर्ता गरेको दोहोर्‍याउँदै प्रधानमन्त्री दाहालले बिरोधमा एमाले लगायतका दलले बखेडा निकाल्नु आश्र्चयजनक भएको टिप्पणी गर्नुभयो । प्रशिक्षणमा  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानमा संस्थागत गरिएका परिवर्तनका मुद्दा कार्यान्वयनका लागि एकतावद्ध भएर जनतामा जानुपर्ने बताउनुभयो । 

युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको हत्यामा संलग्नकोे आशंकामा प्रहरीद्धारा तीन पक्राउ, मोटरसाईकल पनि बरामद


५ पुस,२०७३  नेकपा एमालेको भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नकोे आशंकामा रुपन्देही प्रहरीले ३ जना पक्राउ गरेको छ ।तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल देबदहको खैरेनीबाट बरामद भएको प्रहरीले जनाएको छ । 
बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ ।  घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै तिवारीलाई हत्या गरेको अभियोगमा अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताउनु भयो । घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । टोलीले जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
यसैबीच सरकारले तिवारीको हत्याबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो । तिवारी हत्याको विरोध गर्दै युवा संघले मंगलबार रुपन्देहीसहित लुम्बिनी अञ्चलका विभिन्न जिल्ला बन्द गरेका छन् ।

पाकिस्तान विरुद्धको पहिलो टेष्टमाअष्ट्रेलिया विजयी

उत्तम रिजाल, ५ पुस,२०७३   पाकिस्तान विरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया ३९ रनले विजयी भएको छ । व्रिसबर्नमा ४ सय ८० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ्ग गरेको पाहुना टोली एक सय ४५ ओभरमा ४ सय ५० रनमा समेटिएसँगै घरेलु टोली विजयी भएको हो ।
Australian players celebrate their victory over Pakistan in the first day-night cricket Test match between Australia and Pakistan in Brisbane .
पाकिस्तानका लागी म्यान अफ दी म्याच असाद सफिकले सतक बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन् । उनले २ सय ७ बलको सामना गर्दै १३ चौका र एक छक्काको सहायताले एक सय ३७ रन बनाए । त्यस्तै ओपनर अजहर अलीले ७१,पुर्व कप्तान युनिस खानले ६५ तथा मोहम्मद अमिरले ४८ रन बनाएका थिए ।

४ पुस,२०७३  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा सेनाको त्रिभूवन आर्मी  र नेपाल पुलिस क्लवले  लगातार दोश्रो जित निकालेका छन् । 
सुनसरीको दुहबीमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३-० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५ औं मिनटमा गोल गरिन् गरिन भने  खेलको ५४ औं र ७० औं मिनटमा ईन्दिरा राईले गोल गर्दै आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई वुमन अफ द म्याच चुनिइन् । अर्को खेलमा प्रहरीले पश्चिमाञ्चललाई ४- ० ले पाखा लगायो । विजयी टिमका लागि वुमन अफ दि म्याच यशोदा लामाले खेलको १९ औं मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि २९ औं मिनटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै श्रृजना खड्काले खेलको ४६ औं मिनटमा गोल थपिन् । त्यसपछि ५७ औं मिनटमा मञ्जु गुरुङ्गले गोल  गरिन् । जितसँगै दुबै टोलिले उपाधि दाबेदारी प्रस्तुत गरेका छन् ।

मलेशिया विरुद्ध नेपालको कठिन जित


उत्तम रिजाल, ३ पुस,२०७३      श्रीलंकामा जारी अण्डर नाइन्टिन एशिया कप क्रिकेटमा नेपालले कठिन जित हात पारेको छ । आज सम्पन्न समुह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई एक विकेटले पराजित गरेको हो ।

कोलम्बोमा टस हारेर ब्याटिङ्ग गरेको मलेशियाले ४४ दशमलव ४ ओभरमा एक सय ५३ रन बनाएको थियो । उसका लागि कप्तान विरन्दिप सिंहले सर्वाधिक ७५,मोहम्मद हासिफले २१ र सैफ उल्लाह मल्लिकले ११ रनको योगदान दिन बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । आठ रनमा पहिलो विकेट गुमाएको मलेशियाले दोस्रो विकेट पनि आठ रनमै गुमाएको थियो । ४८ मा तेस्रो,५७ मा चौथो,७३ मा पाँचौ,७९ मा छैटौ,८५ मा सातौ,एक सय २० मा आठौ र एक सय ३७ मा नौ औं विकेट गुमाएको थियो । मलेशियालाई सस्तैमा समेट्ने क्रममा बलिङ्गतर्फ नेपालका आदिल खानले तीन तथा कप्तान संन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।
nepal-u19-team2
जबाफमा एक सय ५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ओपनर आसिफ सेखलाई एक तथा अर्का आक्रामक ब्याट्समेन आदिल खानलाई विना कुनै रनमा गुमाएको थियो । टिमको स्कोर ६ रन भएको अबस्थामा दुई विकेट गुमाएको नेपालले ३९ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि दबाबमा रहेको नेपालले ६२ मा चौथो विकेट गुमायो । ओपनर अभिनास कर्ण २९ रन जोड्दै आउट भए । त्यसपछि आस गरिएका दिपेन्द्रसिंह ऐरी पनि २२ रन जोड्दै आउट हुँदा नेपालले मात्र ८० रन जोडेको थियो । त्यसपछि विकेट किपर प्रकाश केसी दोस्रो बलको सामना गर्ने क्रममा विरन्दिप सिंहको बलमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८० रनमै छैटौ विकेट गुमाएको थियो । त्यसपछि पराजय उन्मुख रहेको नेपालका लागी रोहित कुमार पौडेलले केहि सम्माले पनि उनीपनि १२ रन जोड्दै मोहम्मद अमिरको बलमा बोल्ड आउट भए ।
nepal-2016
त्यपछि झन दबाबमा रहेको नेपालले एक सय ८ रनमा आठौ विकेट गुमाएको थियो । आठौ विकेट झरेसँगै समुह चरणको अन्तिम खेलमा मात्र भएपनि जित निकाल्ने सोचमा रहेको नेपाल पराजय नजिक पुगेको थियो । त्यसपछि अनिल शाहाले सम्मालिदै ब्याटिङ्गगर्दा टिमलाई जित नजिक पुर्याए । उनले ६६ बलको सामना गर्दै ३२ रनको योगदान दिए । उनी नौ औं विकेट स्वरुप आउट हुँदा नेपालले एक सय ४५ रन जोडेको थियो । शाहालाई पबन सराफले साथ दिएका थिए । सराफ ६७ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतमा २९ रनमा अविजित रहे । टिमलाई जित दिलाउने क्रममा अन्तिम विकेटका रुपमा क्रिजमा आएका कप्तान संन्दिप लामिछानेले तीन बलमा तीन रनको योगदान दिए । यसअघि समुह चरणका दुई खेल गुमाएसँगै प्रतियोगिताबाट बाहिरीसकेको नेपालले जितको स्वाद पाएपनि आस गरिए अनुसारको भने खेल खेल्न सकेन् । नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग एक रनले र दोस्रो खेलमा इण्डीयासँग ६ विकेटले पराजित भएको थियो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...