Wednesday, December 7, 2016

एमाले र केही साना दलद्वारा लगातार चौथौ पटक संसद बैठक अवरुद्ध

२२ मंसिर , २०७३, काठमाडौं     सरकारले ल्याएको संविधान संसोधनको विरोधमा प्रमुख प्रतिपक्षी एमाले र केही साना दलले आज पनि संसद बैठक अवरुद्ध गरेका छन् ।

बैठकको शुरुमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको इशारामा सरकारले संशोधन विधेयक ल्याएको आरोप लगाउनुभयो । उहाँले विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने बताउनुभयो । केसीले बोलिसकेपछि प्रतिपक्षी दलका सांसद आ–आफ्ना ठाउँमा उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले मागप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गर्नुभयो । 

पटकरपटकको आग्रहलाई वेवास्ता गर्दै प्रतिपक्षी दलका सांसद उभिएपछि सभामुख घर्तीले बैठक पर्सी शुक्रबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गर्नुभएको छ । संशोधन विधेयकको विरोधमा उत्रिएका एमाले, माले, राष्ट्रिय जनमोर्चा र नेमकिपाले यसअघि पनि लगातार तीनवटा बैठक अवरोध गरेका थिए ।

संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने दाहालको उद्घोष

२२ मंसिर , २०७३, दाङ प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा दर्ता गरेको संबिधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताउनुभएको छ । दाङको सिसनिया र गोबरडिहा जोड्ने राप्ती नदी पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले सबै समुदायको भावना समेट्न संशोधन बिद्येयक ल्याएको भन्दै फिर्ता नहुने स्पष्ट पार्नुभएको हो ।

संशोधन प्रस्तावको बिरोधमा एमालेले गरेको आन्दोलनको औचित्य नभएको भन्दै प्रधानमन्त्री दाहालले बिद्येयकमा त्रुटी भए सहमतिमा परिमार्जन गर्न सकिने बताउनुभयो । उहाँले आन्दोलनरत सबै पक्षलाई सहमतीमा आउन आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संशोधन बिद्येयक एमालेले भने जस्तो राष्ट्रघाती छैन । यसले सबैको भावना समेटेको छ, सबैको सहमती जुटाएर पारित गर्ने प्रयासमा सरकार छ ।’ पुल शिलान्यासपछि प्रधानमन्त्री दाहाल कैलाली प्रस्थान गर्नुभएको छ । उहाँले धनगढीमा आयोजित सुदुरपश्चिम महोत्सबको उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहाल त्यसपछि कञ्चनपुरको दोधारा चाँदनी स्थित सुख्खा बन्दरगाहा अवलोकनका लागी जानुहुनेछ ।

एमालेले आज पनि संसद चल्न नदिने

 काठमाडौं , २२ मंसिर, २०७३   ब्यवस्थापिका संसद बैठक आज दिउँसो एक बजेका लागि बोलाईएको छ । संविधान संशोधन विधेयक फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने रणनीति बनाएको प्रमुख प्रतिपक्षी एमालेले आज पनि बैठक अवरुद्ध गर्ने बताएको छ ।
सरकारले गत मंसिर १४ गते दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रहित बिपरित भएको भन्दै एमालेले यसअघिका ३ वटा बैठक अवरुद्ध गरेको थियो । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने बताउनुभयो ।  

यसैबीच कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ । संशोधन प्रस्ताव दर्ताभएसँगै संसदका कामकारवाही प्रभावित भएको भन्दै निकासका लागि सभामुख ओनसरी घर्तीको पहलमा परामर्श समितिको बैठक बसेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेपछि सभामुख घर्तीले निकासका लागि बैठक बोलाउनुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । 

एमालेको अवरोधका कारण संसदले सो प्रस्तावमाथिको छलफल सक्दै थप अध्ययन र अनुसन्धानका लागि महाअभियो सिफारिस समितिमा पठाउन सकेको छैन ।  यस्तै कार्यब्यवस्था परामर्श समितिले प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रत्यक्ष प्रश्नउत्तरको कार्यबिधिलाई समेत आज पारित गर्ने तयारी गरेको छ । कार्यबिधि परिमार्जन गर्दै सिफारिस समितिले प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदहरुले प्रत्यक्ष प्रश्नउत्तर गर्न पाउने ब्यवस्था गरेको थियो । दलहरुको थप सुझाव सहित सो कार्यबिधि पारित गर्ने र आजैको संसद बैठकबाट त्यसलाई अनुमोदन गर्ने तयारी सभामुख घर्तीको छ । 

इन्डोनेसियामा शक्तिशाली भुकम्प

एजेन्सी मंसिर २२, २०७३    इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले कयौं घर भत्किएका छन् । ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पपछि अधिकांश घरहरु भत्किएका छन् । भत्किएका घरहरुमा फसेकाहरुको उद्धार तिब्र बनाईएको छ ।  सन् २००४ मा आचेमै गएको ९ दशमलव २ रेस्टर स्केलको भूकम्पपछि सुनामी गएको थियो । तर, अहिले भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ । 

कार्यविभाजनलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टी

 काठमाडौं, २१मंसिर , २०७३ ।   संगठनात्मक कार्यविभाजनलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टी बढेको छ ।
पोलिटब्युरो बैठकमा संगठनात्मक संरचनाका विषयमा छलफल भईरहेका बेला पार्टीको आन्तरिक कार्यविभाजनप्रति कतिपय नेताले तीब्र असन्तुष्टी जनाएका छन् । सचिवालय सदस्य शशी श्रेष्ठले आफु भन्दा कनिष्ठलाई हेडक्वाटरमा राखेर पाखा लगाएको भन्दै पदबाट राजीनामा दिनुभएको छ । बैठकबाट रुँदै वाहिर निस्किएकी श्रेष्ठले बैठकमै पार्टी अध्यक्ष पुष्पकमल दाहालसामू सचिवालय सदस्यबाट राजीनामा दिएको बताउनभयो । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा संगठनात्मक विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको हो । बैठकमा अन्य कार्यबिभाजनबारे छलफल जारी छ ।

Tuesday, December 6, 2016

सन् २०२५ सम्म डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरिसक्ने

१८ मंसिर , २०७३  वायु प्रदुषण नियन्त्रण गर्ने भन्दै फ्रान्स,  स्पेन,  मेक्सिको र ग्रीसले सन् २०२५ सम्म डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरिसक्ने बताएका छन् ।
 मेक्सिकोमा भएको वातावरणीय सम्मेलनमा सो चारै देशले सो घोषणा गरेका हुन् । सम्बन्धित मुलुकका अधिकारीले  सर्वसाधरणलाई साइकल पैदल  अथवा  अन्य बैकल्पिक सवारीसाधनको प्रयोग गर्न आग्रह गरेका  छन्  । बिश्वका ऐतिहासिक शहर फ्रान्सको पेरिस,स्पेनको मड्रिड मेस्किको र ग्रीसको एथेन्समा वास्तविक सुन्दरतामा कमी आउन नदिने  योजनाका साथै मानव स्वास्थ्य र पर्यावरण जोगाउनका लागि समेत यो कदम चालिएको  सरकारी अधिकारीले जनाएका छन् ।   

विश्व स्वास्थ्य संगठनका अनुसार  हरेक बर्ष  वायु प्रदुषणका  कारण  मात्र ३० जनाको मृत्यु हुने गरेको  छ । जलबायु संकटलाई कम गर्न यो कदम स्वागतयोग्य भएको बिश्लेषण गरिएको छ । 

Wednesday, November 30, 2016

संविधान संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

१५ मंसिर,२०७३,काठमाडौं।   प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुक ध्वस्त पार्ने निष्कर्ष निकाल्दै भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको छ।
बुधबार संसद भवन नयाँ बोश्वरमा बसेको बैठकले संविधान संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। गौतमले भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्नसमेत आफ्ना सांसदहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘यो संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन सकेको छैन,’ गौतमले भने,‘यसले संविधानको उल्लघंनमात्र गरेको छैन,मुलुक नै ध्वस्त हुने गरी ल्याइएको छ।’एमालेले संविधाव संशोधनको आधार र औचित्य पुष्टि गर्न यसअघि सरकारलाई आग्रह गर्दै आएको थियो। तर सरकारले मंगलबार राति संशोधन प्रस्ताव दर्ता गराएपछि एमाले संसदीय दलको बैठकले औपचारिक धारणा सार्वजनिक गरेको हो। एमालेले कुनै पनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने रणनीति अपनाउने भएको छ।

एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङले प्रदेश सभा गठन भएको अवस्थामा रुपान्तरित संसदले  संविधान संशोधन गर्न नसक्ने बताए। उनले सरकारले सर्वोच्च अदालतको अपहेलना  गरेकोसमेत आरोप लगाए। संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालका जिल्लामा बुधबार विहानैदेखि आन्दोलन सुरु भएको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठानलगायतका जिल्ला बन्दको आह्वानसमेत गरिएको छ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...