Friday, October 21, 2016

महाअभियोग प्रस्ताव सरोकारको विषय होईन - मोर्चा

५ कार्तिक , २०७३ मधेसी मोर्चाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आफ्नो  सरोकारको बिषय नभएको बताएको छ । लामो समयदेखी मधेसको मुद्धा सम्वोधनका लागी आफुहरुले गरेको आन्दोलनलाई वेवास्ता गरेर दलहरुले राष्ट्रिय एजेण्डालाई बिषयान्तर गर्न खोजेको टिप्पणी गरेका छन् ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र सदभावनाका महासचिव मनिष सुमनले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने बिषयमा मोर्चाको कुनै सरोकार नभएको टिप्पणी गर्नुभयो । फोरम गणतान्त्रिक अध्यक्ष यादवले संविधान संशोधनको माग आफुहरुको प्राथमिकतामा रहेको भन्दै प्रमुख दलहरुले संविधान संशोधनको बिषयलाई पन्छाउन कार्कीको बिषय उठन गरेको दावी गर्नुभयो । 

सदभावना महासचिव सुमनले प्रमुख दलले पुर्वाग्रही भएर कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएको बताउनुभयो । उहाँले ११ सदस्यीय महाअभियोग सिफरिस समितिमा प्रमुख ४ दलले भागबण्डा गरेर निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग प्रस्तावमा मतदान गर्ने अवस्था आए प्रक्रियामा सहभागी भएर मोर्चाले आफ्नो विवेक प्रयोग गर्ने उल्लेख गर्नुभयो । 



ललितपुरको इमाडोलमा ग्यास परिक्षण गर्ने

५ कार्तिक,२०७३   ललितपुरको इमाडोलमा भेटिएको ग्यासको सरकारले आज परिक्षण गर्ने भएको छ । इमाडोलमा मिथेन ग्यास खानीको सम्भावना रहेको भन्दै लामो समय देखि कुरा उठेपनि ठोस प्रक्रीया अघी वढ्न सकेको थिएन । 
इमाडोलमा रहेको भनिएको ग्यासको उत्खननको संभावना र प्रयोग गर्न सकिने आधारबारे आज परिक्षण गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो । ग्यास उत्खनन सम्वन्धी परिक्षण गर्न मन्त्री जोशी सहितको सरकारी टोली अपरान्ह २ वजे त्यसतर्फ जाने भएको छ । पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा इमाडोलमा रहेको ग्यास खानीको उत्खननबारे कुरा उठेपनि प्रक्रिया भने अहिले शुरु भएको हो । 

सन १९८० ताका जापानी सहयोग  नियोग जाईकाले ललितपुरको इमाडोलमा ग्यास खानी रहेको प्रतिवेदन दिएपनि साढे ३ दशक भन्दा वढी समय सम्म ग्यास उत्थखनन प्रक्रीयाले मुर्तरुप लिन सकेको छैन । पछिल्लो समय अव्यबस्थित ढल निर्माण र बोरिङका कारण बाह्य श्रोतमा समेत ग्यास मिसिने गरेको खानी विभागका महानिर्देशक राजेन्द्र खानालले जानकारी दिनुभयो । इमाडोल आसपासका क्षेत्रमा रहेका ग्यासका खानीको अन्य श्रोत समेत पहिचान गरि भण्डारणको व्यवस्था गर्न सरकारले तत्काल पहल थाल्ने खनालले बताउनुभयो । 

Thursday, October 20, 2016

महाअभियोग प्रस्तावबारे कांग्रेस बैठकमा आज पनि छलफल हु्ँदै

५ कार्तिक ,२०७३ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको एक दिनपछि हिजो सुरु बैठकमा आज पनि सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । 
ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा बोल्न बाँकी सदस्यले कार्की बिरुद्धको महाअभियोग प्रस्तावमा पार्टीले अवलम्बन गर्ने रणनीतिबारे सुझाव दिनेछन् । हिजो ९ जना सदस्यले आफ्नो धारणा राखेका थिए, ती मध्ये अधिकांशले महाअभियोग प्रस्तावलाई समर्थन गर्नुपर्ने सुझाव दिएका थिए । 
यद्यपी सत्तासाझेदार दल कांग्रेसलाई बेवास्था गर्दै सत्तानेतृत्वकर्ता दल माओवादी केन्द्रले प्रमुख पतिपक्षी एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएको भन्दै केही सदस्यहरुले आपत्ति जनाएका थिए ।  सदस्यहरुले बोल्नेक्रम सकिए आजैको बैठकले महाअभियोग प्रस्तावबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछ । 

यस्तै बैठकमा मधेशी मोर्चाको माग सम्बोधनका लागि भन्दै गर्ने भनिएको संविधान सम्सोधन, स्थानीय निकाय पुनः संरचना, पार्टीको आन्तरिक जीवन लगायत बिषयमा समेत सदस्यहरुले सुझाव दिनेछन् । केन्द्रीय समितिमा पदाधिकारी र सदस्यको मनोनयनको प्रस्ताव आउने सम्भावना भने कम रहेको एक नेताले जानकारी दिए । 

निषेधको राजनीतिले विद्रोह जन्मिने पुर्व राजाको चेतावनी

उत्तम रिजाल४ कार्तिक,२०७३,काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह निम्त्याउने चेतावनी दिएका छन्। 
आजदेखि राजधानीमा सुरु भएको अन्तर्राष्ट्रिय विराट हिन्दू महासंघको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘कसैले पनि निषेधको राजनीति गर्न हुँदैन। यसो गरियो भने जनतामा निराशा र वितृष्णा पैदा हुन्छ।  र यसले विद्रोहको सृजना गर्छ।’ निषेधको राजनीतिले असन्तुलनको  सिर्जना गर्ने र त्यसबाट विद्रोह जन्मिने उनको भनाइ थियो। 
पूर्वराजा शाहले नेपालमा बढिरहेको बाह्य हस्तक्षप र नेपालका पार्टीले गरिरहेको राजनीति खिचातानीले देशलाई गन्तव्यहीन दिशामा अगाडि बढाइरहेको बताउँदै यस्तो अवस्थाले नेपाली जनातामा निराशा पैदा भएको पनि बताए।
‘नेपाल आज कुन अवस्थाबाट कुन अवस्थामा आइपुगेको छ नेपाली जनतालाई सर्वविद्धितै छ,’ उनले भने, ‘त्यसैले यस्तो अवस्थाको कारक तत्व के हो भनी नेपाली जनताले प्रश्न सोध्ने बेला आएको छ।’ उनले हिन्दू धर्म नै शान्तिको प्रतीक भएकाले नयाँ सिराबाट यसको पु:स्थापना र संरक्षण गर्नुपर्ने बेला आएको समेत बताए। उनले ‘अहिले हिन्दू धर्ममाथि कालो बादल मडारिइ रहेको छ,  भन्दै नयाँ बाटो र नयाँ सोचबाट सनातन हिन्दू धर्मको जगेर्ना  र पुनःस्थापना गर्न सोच्नुपर्ने बेला आएको बताए ।
उद्‍घाटन सत्रलाई सम्बोधन गर्दे भारतीय धर्म गुरु रघुनन्दन शर्माले नेपाली राजनीतिज्ञले आफ्नो धर्म संस्कृतिलाई छाडेर पश्चिमा संस्कृति अंगालेको आरोप लगाए। शर्माले भने, ‘नेपाली राजनीतिज्ञले आफ्नो धर्म संस्कृतिलाई छाडेर पश्चिमा संस्कृति अंगालेका छन्, उनीहरुले विदेशीको चलखेल र आर्थिक प्रलोभनमा परी विश्वमा एक मात्र हिन्दू राज्य रहेको नेपालमा पहिचान मेटाउँदै धर्म निरपेक्षता अंगाले।’
उनले नेपाललाई सनातन हिन्दू राज्य बनाउन नेपाली जनताले हिन्दू क्रान्ति गर्नुपर्ने र यसमा भारतको प्रेरणा र साथको भने आशा गर्न नहुने बताए। सम्मेलनमा बोल्दै विभिन्न धर्म गुरुहरुले नेपाललाई सनातन धर्म बनाउनुको विकल्प नभएको बताएका थिए। कार्यक्रम स्थलमा राजा आउ देश बचाउ सम्मको नारा लगाइएको थियो भने हजारौंको उपश्थिति थियो । उपश्थित कतिपय गणतन्त्रका लागि हिजो हिडेर गल्ति गरिएको भन्दै पछुताइरहेका थिए । सो सम्मेलन तीन दिनसम्म चल्नेछ।


राजाको सम्बोधनको पुर्ण पाठ

जगतगुरु शंकराचार्य, मठाशीश, गुरुवाचार्य र यस अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलनमा उपस्थित हुनुभएका ओमकार परिवारका धर्मगुरु तथा हिन्दु दर्शनका चिन्तकहरु।
धार्मिक, दैविक र प्राचिन एतिहासिक तथ्य बोकेको नेपाल भूमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नु हुने अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलन आयोजक तथा यहाँ उपस्थित सबै धर्मपरायण, संघ संस्था तथा आस्थाका पात्रहरुप्रति पनि म आभार व्यक्त गर्दछु ।
हिन्दु धर्म एवम् दर्शन विश्वकै महान र उदार छ । अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचिन ऐतिहासिक पाशुपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गुरु, सन्त, महात्मा, पिठाधिश एवम् विद्वान विवेचकहरुको भेला हुनु आफैँमा स्तुत्य कार्य हो । म यहाँ पाल्नु भएका जगतगुरु शंकराचार्य, मठाधीश, पिठाधिश, गुम्वाचार्य र विभिन्न आश्रम प्रमुख धर्माधिमहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।
धर्म जो धारण गरिन्छ त्यसको धेरै कारण छन् । आत्म उन्नति, परमार्थ र परमपूण्य मात्र होइन, धर्मले राष्ट्र, समाज एवम् सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछ । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालाई अभिवृद्धि गर्न र आन्तरिक एवम् अन्तराष्ट्रिय सद्भावको प्रवद्र्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ भन्ने मेरो धारणा छ ।
सम्पूर्ण हिन्दु दर्शन एवम् संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरि हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबाटै नेपालले देवभूमि, तपोभूमि, योगभूमि भन्ने नाम पाएको छ । हिन्दु अनुयायीका आराध्यदेव पशुपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ । चारै वेद, उपनिष्द, अठार पुराण, भागवतगीता, रामायण, महाभारत आदि ग्रन्थहरु र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापुरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारीसम्मका उपज हुन् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा बौद्ध, किराँत, प्रकृतिपुजक, जैन, शिख आदि समष्ठिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभूमि हो ।
गुरु गोरखनाथको आशीर्वाद प्राप्त यो भूमिमा हामी एकत्र भएका छौँ । नेपाल हिन्दु, बौद्धहरुका लागि सधै प्ररणाको अक्ष्य स्रोत हो । आज हाम्रो धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनजागृत र सुसंस्कृत बनाउन एकबद्ध गर्नु पर्ने खाँचो देखापरेको छ ।
जनसुकै युग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ, त्यसैगरि असत्य, असत्य नै ! यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनुभव गरिआनएको कुरा हो । आफ्नो भाषा, इतिहास, धर्म, दर्शन र संस्कृति देशका धरोहर हुन्, वैभव हुन् र प्राण हुन् । यिनको समुचित रुपमा संरक्षण, संवद्र्धन र समादर गरेर नै आफ्नो मुलुकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हुनु परेको छ ।
हाम्रो दर्शनलाई नयाँ बाटो चाहिएको छैन। तर नयाँ सोच आवश्य चाहिएको छ। यस्तो सोच होस् जसले पुरानै बाटोमा हामी अगाडि बढ्न सकौँ । नयाँ दायित्व होइन तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसँग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतु होस् जसमा आस्था र विकासको जरा, मानवीय अनुभव र आत्मीयताले भरिभराउ होस् ।
कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौँ भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निमित्त अभिशाप सिद्ध भएका छन् । यस्तो विषम, जटिल र क्लिष्ठ परिस्थिति किन र कसरी सिर्जना भयो, यसका कारक तत्व के के हुन्, भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नु पर्ने बेला भएको छ ।
सनातन धर्म, संस्कृति र सभ्यताको प्राचिन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौ वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशिलतालाई हृदयगम गरेर सबै मिलर अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौँ ।
राजर्षि जनककका आदर्श, बुद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौँ विद्वान र विदुषिहरुले देखाएको बाटो र हजारौँ वर्षदेखि हाम्रा पूर्वजबाट विरासतमा प्राप्त सद्गुण र सदविचार अनुशरण गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौँ । गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पुजक सनातन हिन्दु अनुयायीका रुपमा प्रश्न गर्न चाहन्छौँ कि विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवतखण्डको संरक्षण कसरी हुन सक्दछ ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र आध्यात्मको केन्द्र जोगाउने के सामुहिक दायित्व भित्र पर्दैन ?
तराईमा बसोवास गर्ने नेपालीहरु आफ्नो धार्मिक साध्य पुरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेषी र पाथिभरा जस्ता पवित्र तीर्थ स्थलसम्म पुग्छन् भने, हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको पवित्र धाम जनकपुर र लुम्बिनी रहेको छ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बुनेको छ ।
सनातनी हिन्दुहरु जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन् । जहाँ हिन्दु हुन्छन् । त्यहाँ शान्ति र सद्भाव हुन्छ । असत्यलाई निरुत्साहि गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र संघर्षको स्थितिलाई न्युनिकरण गर्न आह्वान गर्दछु । हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।
आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तुलनलाई सम्बोधन गर्ने दायित्वबाट मानवजाती पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्पिएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष्य होइन र हुनु पनि हुँदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत् अनि राष्ट्रप्रति हाम्रो दायित्व के हुने यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेका छन् । हाम्रो दर्शनले हामीलाई सधै अगाडि बढ्न निर्देशित गर्दछ तर व्यवहारमा निशेषको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउदछ । असन्तुलनले उपेक्षा जन्माउदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौ भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ ।
अन्त्यमाः बहुजन हिताय, बहुजन सुखायको मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौँ । श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरुन् ।
जय नेपाल ।






लोकमानसिंह बिरुद्धको महाअभियोग प्रस्ताव पारित गराउन पहल गर्ने एमालेको निर्णय

४ कार्तिक , २०७३    प्रमुख प्रतिपक्षी नेकपा एमालेले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन पहलकदमी लिने निर्णय गरेको छ । 

सो पार्टीको आज बसेको संसदीय दलको बैठकले महाअभियोग प्रस्ताव पारित गराउन अन्य सबै दलसंग छलफल अघि बढाउने निर्णय समेत गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावलाइ निष्कर्षमा पुरयाउन आआफनो तर्फबाट भुमिका निर्वाह गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले नियम र प्रक्रिया विपरित चल्न खोजेकाले हिजो महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको कारण जानकारी गराउदै त्यसलाई पारित गर्न आआफनो स्थानबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । हिजो दर्ता भएको महाअभियोग प्रस्तावमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल लगायतले हस्ताक्षर गर्नुभएको छ । महाअभियोग प्रस्तावबारे पार्टीमा कुनै मतभेद नरहेको प्रमुख सचेतक ढकालले बताउनुभयो । 

संसद बैठक अचानक स्थगित

 ४ कार्तिक , २०७३,काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची सहित आज बस्ने भनिएको ब्यवस्थापिका संसद बैठक अचानक स्थगित भएको छ । बैठक आइतवार बस्ने छ । 
प्रस्तावबारे साझा धारणा बनाउन दलहरु छलफलमा ब्यस्त भएपछि बैठक सूचना टासेर आइतवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयले जनाएको छ । सभामुख ओनसरी घर्तीले कार्की बिरुद्धको महाअभियोग प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने र आजै छलफलको मिति तोक्ने कार्यसूची थियो । 

कार्की बिरुद्धको महाअभियोग प्रस्तावबारे धारणा बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक आज सुरु हुदैछ भने एमाले संसदीय दलको बैठक जारी छ । यस्तै नेकपा माओवादी केन्द्रको बिहान बसेको कार्यदल बैठकले कांग्रेस र सभामुख घर्तीसँग थप छलफल गर्दै धारणा बनाउने निर्णय गरेको थियो । 

एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्की बिरुद्ध हिजो महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । माओवादी सांसद महेन्द्रबहादुर साही प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक हुनुहुन्छ । 

प्रस्तावमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ, उर्जामन्त्री जनार्दन शर्मा लगायतले समेत हस्ताक्षर गर्नुभएको छ । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै कार्की भने निलम्बित हुनु भएको छ ।

सर्वोच्चबाटै लोकमानसिंह विरुद्धको मुद्दा टुङ्गो लगाउन माग गर्दै अर्को रिट दायर गर्ने तयारी

काठमाडौं , ४ कार्तिक , २०७३    संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतबाटै काममा रोग लगाउन माग गर्दै रिट दायर गर्ने तयारी भएको छ । 

अख्तियार प्रमुखमा कार्कीको नियुक्तीसम्बन्धी मुद्धा अदालतमा बिचारधीन भएकाले रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई काममा रोक लगाउन माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा आज अर्को रिट दायर गर्न लाग्नुभएको हो । 

संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएर कार्की निलम्वनमा परेपनि सर्वोच्चबाटै उनलाई मुद्धाको टुंगो नलागेसम्म काममा रोग लगाउन माग गर्दै रिट दायर गर्न लागिएको अधिवक्ता अर्यालले बताउनुभयो । महाअभियोगको प्रस्ताव पारित हुन नसके कार्कीलाई पुनस्अख्तियार प्रमुखको रुपमा काम गर्न बाटो खुल्ने भएकाले सर्वोच्चबाटै उनलाई काममा रोक लगाउन माग गर्न लागिएको अर्यालले बताउनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...