३ कार्तिक, २०७३ । एमाले र माओवादीका १ सय ९७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।
एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कंग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् । यसैबीच, प्रमुख विपक्षी एमालेले अख्तियार प्रमुख कार्कीको क्रियाकलापप्रति असन्तुष्टि जनाएको छ । संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकमानको गतिविधिको आलोचना गर्नुभयो ।
सांसद यज्ञराज सुुनवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीबारे सर्बत्र उठिरहेको प्रश्नबारे पार्टीको धारणा स्पष्ट पार्नु पर्ने माग गर्नुभएको थियो । सांसद सुनुवारले उठाएको बिषयलाई अध्यक्ष ओलीले आफ्नो सम्बोधनका क्रममा घुमाउरो शैलीमा जवाफ दिदै भन्नुभयो, ‘सरकार लगायत सबै निकायहरुले आफ्नो दायरा र लक्ष्मणरेखाभित्र बस्नुपर्छ ।’ यस्तै, बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटकको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय भावनाको ठिक ढंगले प्रतिनिधित्व गर्दै आफ्ना कुरा राख्न नसकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री दाहालले आज संसदमा गरेको सम्बोधनबाटै यो पुष्टि भएको एमालेको ठहर छ ।