Wednesday, October 19, 2016

चिकित्सा क्षेत्रमा देखिएको अनियमितता अध्ययन गर्न उपसमिति गठन

काठमाडौं ३ कार्तिक , २०७३  संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले चिकित्सा क्षेत्रमा देखिएको अनियमितता अध्ययन गर्न उपसमिति बनाएको छ । 

सिंहदरबारस्थित समितिको सचिवालयमा आज बसेको बैठकले चिकित्सा क्षेत्रमा शुल्क, सिट र प्रवेश परीक्षामा देखिएको अनियमितता अध्ययनका लागि ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई शुल्कमा देखिएको अनियमितता, प्रवेश परीक्षा, काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप भएरनभएको तथा सिट निर्धारण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको समिति सभापति रञ्जुकुमारी झाले जानकारी दिनुभयो । 

उपसमिति गठन गर्नु अघि समितिले स्वास्थ्यमन्त्री गगन थापासँग चिकित्सा क्षेत्रमा देखिएको समस्या र समाधानका लागि सरकारबाट भएका प्रयासबारे जानकारी लिएको थियो । स्वास्थ्यमन्त्री थापाले केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको प्रतिवेदनलाई निर्देशक डकुमेण्ट्रीको रुपमा लिएर काम अघि बढाइरहेको जानकारी गराउनुभएको थियो । उहाँले शैक्षिक सत्रलाई असर नपर्ने गरी अर्को व्यवस्था नहुन्जेलसम्म नेपाल मेडिकल काउन्सिललाई काम अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।

संविधान संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा - दाहाल

  ३ कार्तिक , २०७३   प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ । 

संसद बैठकलाई आज सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको जानकारी गराउनु भएको हो । उहाँले आफु नेतृत्वको सरकारले संविधान संशोधन गरेर देशलाई सहज दिशामा अघि बढाउन र स्थानीय तहको निर्वाचन गर्ने विषयलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । 

आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउन संविधान संशोधन र तीनै तहको निर्वाचनका लागि सबै दलहरुसँग छलफल र सहमतिका साथ अघि बढ्ने उहाँको भनाई छ । प्रधानमनत्री दाहालले स्थानीय तह पुनर्संरचना आयोग मार्फत स्थानीय तहको पुनर्संरचनालाई टुङ्ग्याउन सरकारले सहजीकरण गर्दै आएको जानकारी गराउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति र कुटनीतिमा कुनै विचलन नआएको पनि बताउनुभयो । 

नेपालको परराष्ट्र नितीमा विचलन आउन नदिई सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले ब्रिक्स विमेस्टेक सम्मेलनमा सहभागिताले नेपालको शिर उच्च बनाएको र राष्ट्रिय हितको प्रवद्र्धन भएको दाबी गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीइ समकक्षी नरेन्द्र मोदीसँग एक साथ भएको भेटले छिमेकी राष्ट्रमा चर्चा भएपनि आफुले भने आलोचना सहनु परेको उल्लेख गर्नुभयो ।

संविधान संशोधन प्रक्रियाबारे धारणा सार्वजनिक गर्न सरकारसँग तमलोपाको माग

३ कार्तिक , २०७३ , काठमाडौं   तराई मधेस लोकतान्त्रिक पार्टीे तमलोपाले संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलासुस्ती बारे आफ्नो धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । 

विगतमा भएको ३ बुँदे सहमति अनुसार संविधान संशोधन गर्न उदासिनता देखाएको भन्दै तमलोपाले सरकारको धारणा  सार्वजनिक गर्न माग गरेको हो । पार्टीको जिल्ला अध्यक्ष, केन्द्रीय पदाधिकारी, सांसद एव केन्द्रीय सदस्यहरुको राजधानीमा आज बसेको संयुक्त बैठकले संविधान संशोधनको प्रक्रियामा ढिलासुस्ती देखाएकाले सरकारको नियतमाथि शंका उत्पन्न भएको ठहर गरेको छ ।

 बैठक पछि पार्टी अध्यक्ष  महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा संविधान संशोधन प्रक्रिया प्रारम्भ गर्न सरकारसँग माग गरिएको छ । यस्तै, तमलोपाले प्रस्तावित पूनर्संरचना विभेदकारी भएको ठहर गरेको छ । विज्ञप्तीमा पूनर्संरचनामा स्थानीय तहको संख्या तराई मधेसमा कुल संख्याको मात्र ३० प्रतिशत रहेकाले षड्यन्त्रपूर्ण भएको भनिएको छ । 

तराई मधेसको प्रस्तावित तहको न्यून संख्या एवं प्रकृति पनि विगतको विभेदकारी मानसिकता र नीतिको निरन्तरता भएको तमलोपाले जनाएको छ ।

साउदी अरबका राजकुमारलाई मृत्युदण्डको सजाय

 ३ कार्तिक , २०७३   आफ्नै साथीको हत्या गरेको अभियोग  पुष्टि भएपछि साउदी अरबका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई मृत्युदण्डको सजाय दिइएको छ ।
तीन वर्षअघि  विवादको क्रममा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग लागेका अल–काबिरलाई साउदीको एक अदालतले दोषी ठहर गरेको थियो । राजकुमारलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृत्युदण्ड दिइएको साउदीको गृहमन्त्रालयले पुष्टी गरेको छ । 

यद्यपी राजकुमार अल–काबिरलाई कसरी  मृत्युदण्ड दिइयो भन्ने बारेमा केही खुलाइएको छैन । पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई सजाय दिन अपील गरेपछि अदालतले राजकुमारलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

साउदी अरेबियामा मृत्युदण्डको सजाय सामान्य भएपनि राजपरिवारका सदस्यलाई नै मृत्युदण्ड दिएको बिरलै पाइन्छ । साउदी अरेबियाको गृहमन्त्रालयले यो निर्णयले सरकार न्यायप्रति प्रतिबद्ध छ भन्ने कुरामा जनताको भरोसा र विश्वास मिल्ने जनाएको छ ।  विश्वकै सवै भन्दा कडा कानुन भएको मुलुक मध्ये साउदी अरेबियामा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।

त्रिदेशीय साझेदारीका लागि चीन तयार

२ कार्तिक , २०७३   उत्तरी छिमेकी चीनले नेपाल र भारतसँग मिलेर आफू त्रिदेशीय साझेदारीका लागि तयार रहेको बताएको छ । 

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच अनौपचारिक सम्वादपछि फेरि बहसमा आएको त्रिदेशीय साझेदारीको बिषयलाई सकारात्मक भन्दै चीनले आफू त्यसका लागि तयार भएको बताएको हो । 

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयिङले भन्नुभयो– ‘नेपाल र भारत चीनको असल छिमेकी हुन् । तीन पक्षको सकारात्मक सम्वादले तीन देशको आर्थिक र सामाजिक विकासलाई प्रोत्साहन मात्र गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा समेत योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’ प्रवक्ता चुनयिङले साझा विकास अघि बढाउन भारत र नेपालवीच त्रिदेशीय समझदारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर खोजी गर्न इच्छुक रहेको बताउनुभयो ।

Tuesday, October 18, 2016

बालिका माथि कार्यालय हाता भित्रै निर्घात कुटपिट


२ कार्तिक, २०७३ / ईलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत महिला प्रहरी सहायक निरिक्षक प्रेमकुमारी पाख्रीनले एक बालिका माथि कार्यालय हाता भित्रै निर्घात कुटपिट गरेकि छिन् । 

पैसा चोरी गरेको आरोपमा कार्यालयमा ल्याई सोधपुछ गर्ने बाहानामा उर्लाबारी तरुण चौकमा बस्दै आएकि १४ बर्षिया बालिका साबित्रा फुयल माथि निर्घात कुटपिट भएको हो । सोही ठाउकी तारा चम्लगाइले आफ्नो ८० हजार चोरी भएको भन्दै ठाडो उजुरी दिएको भरमा बालिका लाई प्रहरीले सोधपुछ गर्ने भन्दै कार्यालय हाताभित्रै कुटपिट गरेको हो । 

बालिकालाई हिजो दिउसो १२ बजे तिर कार्यालयमा लगेर प्र.स.नि. पाख्रीनले गाली गलौज सहित पाईप र बुटले हिर्काएको पिडित बालिका फुयलले बताईन । आफुले पैसा नचोरेको भन्दा भन्दै तैले नै चोरीस भनेर आफु माथि अन्धाधुन्ध कुटपिट भएको उनले बताईन । बालिकाको कुम , कम्मर मुनी , पाखुरा र तिघ्रामा निलडाम रहेको छ । घटना हिजो भए पनि बालिकाले डरले आज मात्र परिवारमा कुटपिट भएको बताए पछि सार्वजनिक भएको हो । 

घटना सार्वजनिक भए पछि ईलाका प्रहरी कार्यालय उर्लाबारीले गल्ती भएको भन्दै सार्वजनिक रुपमा माफि मागेको छ । कार्यालयका सई मोती बहादुर कटुवालले कुटपिटमा संलग्न महिला प्रहरी सहायक निरिक्षक पाख्रीन लाई बिभागिय कारबाहीका लागि सिफारिस गरेसकेको र प्रहरी नियमावली अनुसार कारबाही हुने आश्वासन दिनुभयो । 

कुटपिटमा संलग्न पाख्रीन लाई स्थानीयले भेट गर्ने भनेपछि प्रहरीले लुकाएको थियो । घाईते बालीकाको स्वास्थ्य उपचार ईलाका प्रहरी कार्यालयले नै गरिदिने भएको छ ।

संसदमा अख्तियार प्रमुख कार्कीको चर्को आलोचना

२ कार्तिक, २०७३  /  व्यबस्थापिका संसदको आजको बैठकमा सांसदहरुले अदालतको अवहेलना गरेको भन्दै अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको चर्को आलोचना गरेका छन । 

सांसदहरुले प्रमुख आयुक्त कार्कीले अदालति आदेशको खुल्लमखुल्ला अवज्ञा गर्दा पनि दलहरुले बचाउ गरिरहेकोमा पनि आपत्ती जनाएका छन । कंग्रेस सांसद राधेश्याम अधिकारीले सर्बोच्च अदालतलाई म्याद तामेल गर्न नदिइएकोप्रति इङ्गित गर्दै कानुनी राज्यको उपहास भएको बताउनु भयो ।

 उहाँले संबैधानिक ओहोदाका प्रमुखबाट यस्तो काम गर्नु गराउनु झनै आपत्तिजनक विषय भएको भन्दै यसले राम्रो संकेत नगरेको टिप्पणी गर्नुभयो । अदालतको गरिमा जोगाउनका लागि पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उहाँको भनाई थियो । सांसद अधिकारीले महाअभियोग सिफारिस समिति बन्न नसकेको भन्दै सभामुखको ध्यानाकर्षण समेत गराउनुभयो । 

एमालेका सांसद रेवतीरमण भण्डारीले सादा पोशाकका प्रहरी समेत परिचालन गरेर अदालतको म्याद तामेल हुन नदिनुले राज्य नै गुण्डागर्दीमा उत्रिएको आरोप लगाउदै यसवारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । थरुहट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले लोकमानसिंह कुन लोकका यमराज हुन भन्ने प्रश्न गर्दै उनलाई राजनीतिक दलका नेताले नै संरक्षण गरेको जिकिर गर्नुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...