Monday, October 17, 2016

पुनःनिर्माणसम्बन्धी थप नीति बन्दै

१ कार्तिक २०७३  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार जना विज्ञ सदस्यलाई पुनःनिर्माणसम्बन्धी थप नीति योजना निर्माणको जिम्मेवारी दिएको छ। 
यसअघि बनेका नीति नियमले समेट्न नसकेका विषयलाई समेटी नीति तर्जुमा गर्न निर्देशक समितिको असोज १० गतेको निर्णयअनुसार विज्ञ सदस्यलाई जिम्मेवारी दिइएको हो।

कार्यकारी समितिका विज्ञ सदस्य ध्रुव शर्मालाई पुनःनिर्माणसम्बन्धी नीति योजना निर्माण तथा डा विष्णु भण्डारीलाई जीविकोपार्जन र ग्रामीण आवास निर्माणसम्बन्धी कार्यविधि निर्माणको जिम्मेवारी दिइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

“भूकम्पमा भत्किएर अनुदान सम्झौता हुनुअघि बनिसकेका घरलाई रकम दिने कार्यविधि निर्माणको खाका बनाउन विज्ञ सदस्य डा चन्द्रबहादुर श्रेष्ठलाई अख्तियारी दिइएको छ, न्यूनतम रकममा भूकम्प प्रतिरोधी घर बनाउने नक्सा विज्ञ सदस्य डा हरिनाथ पराजुलीले निर्माण गर्नुहुनेछ”– उनले बताए।

सहरमा भत्किएका घरको प्रवलीकरण (रेक्टोफिटिङ) र गाउँघरमा भत्किएका घरको मर्मत सम्भारका लागि कार्यविधि निर्माणको जिम्मेवारी समेत पराजुलीलाई नै दिइएको प्राधिकरणले जनाएको छ। रासस

'थ्रेसहोल्ड' राख्ने विषयमा दुईथरी मत

१ कार्तिक २०७३  निर्वाचनसम्बन्धी कानुनमा 'थ्रेसहोल्ड' राख्ने विषयमा साना र ठूला दलबीच दुई थरी रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ। 
नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ''थ्रेसहोल्ड'' राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठिक रहेको जिकिर गरेका छन्। निर्वाचन कानुनमा 'थ्रेसहोल्ड' सीमा कम हुँदा दलहरु धेरै भएको, त्यसको असर सरकार निर्माणमा केन्द्रित भएको र राज्यसंयन्त्र कमजोर पारेको दाबी गर्दै ठूला दलका सांसदले कडा व्यवस्था माग गरेका छन्।

साना दलले भने 'थ्रेसहोल्ड' नै आवश्यक नरहेको तर्क गर्दै मस्यौदा विधेयकमा हटाइनु उचित भनेका छन् निर्वाचन कानुनसम्बन्धी विधेयकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारी, आनन्द ढुंगाना, रामहरि खतिवडा, एमालेका  अग्निप्रसाद खरेल, भरतमोहन अधिकारी, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, शान्ता मानवी, भानुभक्त ढकाल, रविन्द्र अधिकारी, गुरुप्रसाद बुर्लाकोटी  र रामेश्वर फुँयालले संशोधन प्रस्ताव दर्ता गराएका छन्। त्यस्तै, माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले मस्यौदा विधेयक संशोधन हुनुपर्ने प्रस्ताव सचिवालयमा दर्ता  गराएका छन्। उनीहरुले कुनै न कुनै रुपमा दल नियन्त्रण गर्न आवश्यक भएका निश्चित 'थ्रेसहोल्ड' व्यवस्था हुनुपर्ने आफ्नो संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।

'थ्रेसहोल्ड' लगायत अन्य व्यवस्थाका विपक्षमा अधिकांश  साना दलले पनि प्रस्ताव दर्ता गराएका छन्। जनमोर्चाका  प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर, राप्रपा नेपालका दिलनाथ गिरी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, थरुहट मञ्चकी रुक्मिणी चौधरी, मधेश समता पार्टी नेपालका मेघराज निसाद नेपाली र जनता दल हरिचरण साहले थ्रोसहोल्डका विषयमा विधेयकमै रहेको व्यवस्था संशोधन आवश्यक नरहेको प्रस्ताव दर्ता गराएका छन्।

दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगका १ सय ८० दल दर्ता भएका थिए। तीमध्ये स्वतन्त्रसहित ३१ दलले प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। संसद्मा १० सिटभन्दा कम हुने २३ दल छन्। तीमध्ये तीन सांसद हुने तीन, दुई सांसद हुने दुई र एक जना मात्र सांसद हुने स्वतन्त्रसहित १४ दल छन्। संविधानसभामा सद््भावना पार्टी थरुहट तराई पार्टी नेपाल, बहुजन शक्ति पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी संघीय सद्भावना पार्टी खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल अखण्ड नेपाल पार्टी जनजागरण पार्टी र नेपाल मधेस समता पार्टी नेपालले एक जना मात्र सांसद पाएका थिए।

आइतबार बसेको व्यवस्थापिका संसद् बैठकले राजनीतिक दल, मतदाता नामावली र निर्वाचन आयोग सम्बन्धी विधेयक संशोधन गरी एकीकृत रुपमा प्रतिवेदन पेस गर्न उपसमिति पठाएको छ।

साना दलले 'थ्रेसहोल्ड' को विरोध गरिरहँदा दुई ठूला दलबीच भने नयाँ निर्वाचन कानुनमा न्यूनतम तीन प्रतिशत 'थ्रेसहोल्ड' राख्ने सहमति केही दिनपहिले भएको थियो । राजनीतिक दललाई व्यवस्थित गर्न बन्ने कानुनमा न्यूनतम तीन प्रतिशत 'थ्रेसहोल्ड' प्रावधान राख्ने विषयमा सहमति बनेको थियो। यसरी दुई प्रमुख दलबीचको सहमतिमै 'थ्रेसहोल्ड' सहितको विधेयक पारित भयो भने राष्ट्रिय दलको मान्यता लिन दलले न्यूनतम तीन प्रतिशत मत प्राप्त गर्नुपर्नेछ। यसअघिको व्यवस्थाले एक प्रतिशत मत नल्याउने पनि सांसद बन्न पाएका थिए।

गत असोज १८ मा सरकारले संसद्मा पेस गरेको राजनीतिक दलसम्बन्धीे विधेयकसहित थप दुई विधेयक निर्वाचन आयोग काम, कर्तव्य र अधिकार तथा मतदाता नामावलीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेका विधेयक दर्ता गरेको थियो जसमा सांसदले असोज २१ गतेसम्म  संशोधन प्रस्ताव दर्ता गराएका थिए। ३५ वटा संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ। विधेयकमाथि संशोधनका लागि नेपाली कांग्रेसले संसदीय कार्यसमिति बैठक राखेरै दसैंअघि छलफल गर्ने निर्णय गरेको थियो। कांग्रेस संसदीय दल कार्यसमिति बैठकमा नेताहरूबीच 'थ्रेसहोल्ड' व्यवस्था राख्ने सहमति भएको थियो।

पूर्ववर्ती सरकारले विधेयक मस्यौदा तयारी क्रममा निर्वाचन आयोगस“ग भएको छलफलमा आयोगले न्यूनतम १.५ प्रतिशत 'थ्रेसहोल्ड' राख्ने प्रस्ताव राखेको थियो। दाहाल सरकारले भने 'थ्रेसहोल्ड' लाई तीन प्रतिशत पुर्‍याएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलले पेस गर्ने उम्मेदवार सूची क्रमसंख्याका आधारमा निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने अथवा पुरानै व्यवस्थाअनुसार दलले प्राप्त गरेको सिटसंख्यामा पार्टीले नै खुला रूपमा निर्वाचित भएको नाम विवरण आयोगमार्फत सार्वजनिक गर्ने भन्ने विषयमा कांग्रेसभित्र छलफल जारी छ।

त्यस्तै, राजनीतिक दलले उठाउँदै आएको चन्दा र निर्वाचनको समयमा दल र राजनीतिक पार्टीका उम्मेदवारबाट हुँदै आएको आर्थिक अनियमितता नियन्त्रण र नियमन गर्दै दलहरूको आर्थिक कारोबार पारदर्शी र उत्तरदायी बनाउन एमालेले दलहरूलाई राज्यले नै 'फन्डिङ' गर्ने व्यवस्था हुनुपर्ने अडान लिएको छ।

विदेशमा राजनीतिक दलका लागि उनीहरूले प्राप्त गरेको मतका आधारमा राज्यले नै आर्थिक सहयोग उपलब्ध गराउने भए पनि नेपालमा त्यस्तो व्यवस्था नहु“दा दलहरूले अरु संघसंस्था र व्यक्तिबाट चन्दा लिने चलन छ।

निर्वाचन स्वच्छ र स्वस्थ बनाउँदै दलहरूलाई पारदर्शी र उत्तरदायी बनाउन उनीहरूले पाएको मतका आधारमा राज्यले नै रकम उपलब्ध गराउनुपर्ने संशोधन प्रस्तावमा छ।

दललाई राज्यले नै कोष उपलब्ध गराएपछि त्यो दलको आयव्यय र आर्थिक कारोबार सरकारी निकायबाटै लेखा परीक्षण गराउने व्यवस्था हुनुपर्ने माग पनि संशोधन प्रस्तावमा छ।  यसलाई व्यवस्थित गर्ने मात्र नभई निर्वाचनमा देखिएको सार्वजनिक संघसंस्था र व्यक्तिबाट उठाउने चन्दा र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने कडा व्यवस्था हुनुपर्ने प्रस्ताव संशोधनमा आएको छ।

विधेयकमा के थियो?


कुनै पनि दलले सरकारी, सामुदायिक, सार्वजनिक वा निजी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याए वा पुर्‍याउन लगाए त्यसको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ व्यवस्थासहितको विधेयक सरकारले संसद्मा दर्ता गराएको थियो।

'राजनीतिक दलसम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा हडताल, पर्चा टास्ँने, रङरोगन गर्ने र तोडफोड गरी सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित दलबाटै असुलउपर गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको हो। 

दलहरुका कारण निजी सम्पत्तिमा क्षति भए सम्पत्ति धनीले र सार्वजनिक सम्पत्तिको हकमा तोकिएको अधिकारीले हानि–नोक्सानी पुगेको ३५ दिनभित्र क्षतिपूर्ति दाबी गर्दै जिल्ला अदालतमा उजुरी दिन सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

यस्तो उजुरीमा निर्णय गर्दा सम्बन्धित जिल्ला अदालतले क्षतिपूर्ति तिर्ने दायित्व दलको प्रमुख पदाधिकारीको हुने विधेयकमा उल्लेख छ।  कुनै दलले सम्पत्ति विवरण उपलब्ध नगराए ५० हजारसम्म जरिवाना र दुई निर्वाचनसम्म भाग लिन नपाउने व्यवस्था पनि प्रस्तावमा छ। एकल चुनाव चिह्न लिई दुई वा सोभन्दा बढी दलले निर्वाचनमा भाग लिन सक्ने नयाँ व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। संयुक्त रुपमा निर्वाचनमा भाग लिन चाहने  दलले निवेदन दिन सक्ने तर उम्मेदवार कुन दलसँग सम्वन्धित हो खुलाउनु पर्ने विधेयकमा उल्लेख छ।

विधेयकले दलहरुलाई आर्थिक सहायता लिने बाटो खुल्ने व्यवस्था पनि प्रस्तावमा छ। दललाई नेपाली नागरिक वा संगठित संस्थाले स्वेच्छाले आर्थिक सहयोग गर्न सक्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ तर सरकारी कार्यालय, सार्वजनिक निकाय, सामुदायिक विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, विदेशी सरकार, नाम नखुलेको व्यक्ति र आयोगले तोकेको व्यक्तिसँग रकम लिन नपाउने प्रस्ताव विधेयकमा गरिएको छ।

विधेयकले दलहरु जुनसुकै समयमा एकीकरण हुन सक्ने व्यवस्था पनि गरेको छ। एकीकरण हुने वा गाभिन चाहने दलले ३५ दिनभित्र विधान र केन्द्रीय समिति निर्णयसहित निवेदन दिनुपर्ने विधेयकमा उल्लेख छ।

विधेयकमा दल दर्ताका लागि कम्तीमा ५ सय जना मतदाता हुनुपर्ने नयाँ व्यवस्था छ। यसअघि १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर बुझाउनुपर्ने व्यवस्थालाई केही खुकुलो पारेको छ तर नयाँ व्यवस्थाअनुसार ५ सय जनाको हस्ताक्षर नभई दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धतापत्र बुझाउनुपर्ने विधेयकमा उल्लेख छ । उनीहरुको नागरिकता र परिचयपत्र प्रमाणित प्रतिलिपिसहित हस्ताक्षर हुनुपर्ने व्यवस्था पनि प्रस्तावमा छ।

पुलिसमा नयाँ पाँच अनुहार

१ कार्तिक , २०७३ नेपाल पुलिस क्लबले अन्डर १९ राष्ट्रिय फुटबल टोलीबाट खेलेका तीन खेलाडी सहित पाँच नयाँ अनुहारलाई क्लबमा भित्राएको छ । 
पछिल्लो समय घरेलु फुटबलमा कमजोर प्रर्दशन गरिरहेको पुलिसले क्लबलाई मजबुत पार्न भन्दै पाँच युवा फुटबलरलाई क्लबमा भित्राएको हो । १९ बर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलेका दिनेश राजवंशी, तेज तामाङ र सुमन लामा नयाँ सिजनदेखी पुलिसको जर्सीमा देखिने छन् ।

 गत बर्ष नेपालले अन्डर १९ दक्षिण एसियाली फुटबल च्याम्पियनसिपको उपाधि जित्दाका मुख्य खेलाडीको आगमनले पुलिस बलियो बनेको प्रशिक्षक अनन्त थापाले बताएका छन् । गत सिजन मनाङ्ग मस्र्याङदी क्लबमा उत्कृष्ट प्रर्दशन गरेका रवि पासवान र फ्रेन्ड्स क्लबका पुर्व खेलाडी बुद्ध तामाङलाई पुलिसले क्लबमा अनुबन्धन गरेको छ । पाँचै जना खेलाडीलाई कार्यालय सहयोगी पदका रुपमा क्लबमा भित्राइएको हो ।

क्लबका स्वर्णिम पुस्ताका खेलाडीहरु खेलजीवनको उत्तरार्धमा पुगेपछि पुलिसले युवा खेलाडीलाई क्लबमा अनुबन्धन गर्दै नयाँ टिम तयार पार्ने अभियानमा छ । विराटकृष्ण श्रेष्ठले मुख्य प्रशिक्षकको पदबाट राजीनामा दिएपछि अनन्त थापाले पुलिस क्लबका खेलाडीलाई प्रशिक्षण दिईरहेका छन ।

चितुवाको निशानामा कृष्णसार, ३ महिनामा २५ को हत्या

 १ कार्तिक , २०७३  चितुवाको आक्रमणमा परी बर्दियामा तीन महिनामा २५  कृष्णसार मारिएका छन् । पटक पटक चितुवाको आक्रमणले केही कृष्णसार अन्यत्र पलायन भएका छन् ।
गत बर्ष तीन सयको संख्यामा रहेका कृष्णसारको संख्या हाल २ सय १५ मा झरेको छ । दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया - २ स्थित खैरापुर संरक्षण क्षेत्रमा संरक्षित रुपमा राखिएको थियो । संरक्षण क्षेत्रमै रहेका चार वटा चितुवाले पटक पटक आक्रमण गरेपछि कृष्णसार संकटमा परेको सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताउनु भयो । 

संरक्षण क्षेत्रसंग जोडिएको सामूदायिक बनमा रहेको चितुवाको आक्रमणले कृष्णसार उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।  चरिचरण क्षेत्रमा रहेको दुई वटा बोडिङ्ग बाट पानी आपुर्ती गरिए पनि पर्याप्त नभएपछि संरक्षण क्षेत्रमा रहेका दुर्लभ कृष्णसार नजिकको बन क्षेत्रमा चरिचरणमा जाँदा चितुवाको आक्रमण बढेको हो । असोज महिनामा मात्र चितुवाको आक्रमणमा चार पोथी र पॉच भाले कृष्णसार मारिएको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । 

संरक्षण क्षेत्रका सहायक संरक्षण अधिकृत शर्माले चितुवा आक्रमण रोक्न सुरक्षाका लागि रात्री गस्ति शुरु गरिएपनि नियन्त्र हुन नसकेको बताउनुभयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि चितुवालाई बेहोस पारि बर्दिया राष्ट्रिय निकुन्ज पठाउन सम्बन्धीत निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो । 

चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भएको संयोगको भेटले खुसी छु - दाहाल

१ कार्तिक , २०७३  भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कनु भएको छ । 

प्रधानमन्त्री दाहाल नेपाल एयरलाईन्सबाट अपरान्ह साढे ३ बजे काठमाडौं आईपुग्नु भएको हो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण फलदायी भएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग एकसाथ भएको भेट संयोग मात्र भएको भन्दै त्यसबाट आफु निकै खुसी भएको प्रतिक्रिया दिनुभयो ।

यो भेटले नेपाल र नेपालीको शिर उच्च भएपनि विभिन्न टिका टिप्पणीले आफुलाई दुखित बनाएको उहाँको भनाइ थियो । आफू र चिनियाँ राष्ट्रपति सी बीच नेपाल भ्रमण, विगतमा भएको सहमति कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको दाहालले जानकारी दिनुभयो । त्रिपक्षीय वार्ताका क्रममा आफुले त्रिदेशीय साझेदारी र त्यसबाट नेपालले लाभ लिन चाहेको कुरा उल्लेख गरेको प्रधानमन्त्री दाहालको भनाई थियो । 

संविधान कार्यान्वयन र शान्ति प्रक्रियाबारे कुरा राख्दा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीले पूर्ण समर्थन हुने बताएको उहाँले दाबी गर्नुभयो । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको १८ सदस्यीय प्रतिनीधिमण्डल शनिबार भारत गएको थियो । 

Wednesday, September 14, 2016

राष्ट्रिय प्रतियोगिताको तयारीमा झापा


उत्तम रिजाल,
२९ भदौ /  आगामी मंसिर ८ गते देखी पुर्वाञ्चलमा शुरु हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाले तयारी तिब्र बनाएको छ । प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्दै बढी भन्दा बढी पदक हत्याउने दाउकासाथ उसले तयारी थालेको हो । जसका लागी जिल्ला विकास समितीको आयोजनामा जिल्लका सम्पूर्ण खेलका जिल्ला संघ र प्रशिक्षकहरुको भेला सम्पन्न गरेको छ  । 

भेलाले राष्ट्रिय प्रतियोगिता लक्षित पुर्वाञ्चल क्षेत्रिय प्रतियोगिताका लागि जिल्लाका २१ खेलका खेलाडी छनोट तालिका पनि सार्बजनिक गरेको छ । खेलाडी छनोट यहि भदौ ३१ गते देखी असोज १४ गते सम्म चल्ने छ । जस अन्तरगत भदौ ३१ गते कराँते,असोज एक गते बास्केटबल, ३ गते कुस्ती,६ गते महिला फुट्बल,७ गते आइटिएफ तेक्वान्दो , ८ गते भलिबल, पुरुष फुट्बल, तेक्वान्दो, सुटिङ्ग, उसु र टेबल टेनिस,९गते ब्याडमिन्टन ,१० गते भारत्तोलन र चेस, ११ गते कबड्डी,१३ र १४ गते बक्सीङ्ग र क्रिकेट तथा १४ गते खो खो खेलका खेलाडी छनोट हुनेछन् । छनोट खेल जिल्लाका विभिन्न एघार स्थानमा हुनेछन् । भेला मेची रंगशालामा भएको थियो । 





Tuesday, July 26, 2016

मछिन्द्रनाथको रथ जावलाखेलमा (फोटो फिचर)


११ श्रावण, २०७३ /  वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ जेठ ६ मा लगनखेल पुर्याइएको थियो।

रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो। करिब १६ सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

नेवारी परम्परा तथा बाजागाजाका साथ मंगलबार दिउँसो साढे ४ बजे लगनखेलबाट रथ तान्दै करिब साढे ६ बजे जावलाखेल पुर्याइएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए।

वि.सं. ५४६ देखि जात्रा शुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्ध मध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् ।

ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतियादेखि शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गरिन्छ । भगवान मछिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रुपमा रथ यात्रा शुरु हुन्छ। रथ तान्नु अगाडी गुरुज्यूको पल्टनबाट सलामी समेत दिइन्छ । बाजागाजासहित तान्न थालिएको रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पुर्याइन्छ। दोस्रो दिन सुन्धारा पुर्याइन्छ भने सुन्धारा पुर्याएको एक दिन रथ सोही स्थानमा राखिन्छ। त्यहाँ भएका स्थानीयहरुले सोही दिन मच्छिन्द्रनाथको पूजा अर्चना गर्छन्।
 त्यसपछि ललितपुरको थटीटोलमा रथ पुर्याएर नरिवल जात्रा निकाल्ने परम्परा छ । जहाँबाट जावलाखेल लैजान ज्योतिषहरुले साइत हेर्दछन्। थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको गुठी संस्थान प्रमुख आचार्यले जानकारी दिए।

यात्रा जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ।  छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ।






समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...