Monday, July 4, 2016

पहिरोले घर पुरिँदा एकै परिवारका पाँच सहित ८ जनाको मृत्यु



 २१ असार,२०७३ /  आज विहान आएको पहिरोले प्युठानमा घर पुरिँदा एकै परिवारका पाँचजनासहित ८ जनाको मृत्यु भएको छ। 

पहिरोले घर पुरिँदा रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लका एकै परिवारका पाँचजना र पूजा गाविस–३ का हुमबहादुर सुनारका परिवारका तीन जना गरी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख किशोर राठौरले जानकारी दिए। 

बिहान घरभित्र सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुरिएको थियो। पहिरोमा पुरिएर रजवारा –३ नेटाका ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ला, छोरीहरु १० वर्षीया सुशीला मल्ल, चार वर्षीया सिर्जना मल्ल र २ वर्षीया लेखा मल्लको मृत्यु भएको राठौरले बताए। 
प्रहरीलाई घटनाबारे बिहान ५ बजेमात्रै थाहा भएको र प्रहरीको टोली घटनास्थल पुग्न केही समय लागेको उनले बताए। घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा पर्छ। 

यसैवीच प्युठानकै पूजा गाविस –३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोले स्थानीय हुमबहादुर सुनारको घर पुरिँदा हुमबहादुरसहित उनकी श्रीमती थसी सुनार र सात वर्षीष छोरी सीमा सुनारको मृत्यु भएको छ। घटनाबारे विस्तृत विवरण भने अझै आउन नसकेको राठौरले वताए। 

आइएसको नेपाल कनेक्सन खोज्दै सुरक्षा संयन्त्र,अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी



 २० असार , २०७३ /  गत शुक्रबार बंगलादेशमा भएको आतंकवादी आक्रमणसँगै नेपाली सुरक्षा संयन्त्रले नेपालमा आइएसको कुनै कनेक्सन छ कि भनि खोज शुरु गरेका छन् । सो घटनाले नेपाली सुरक्षा संयन्त्रमा निक्कै ठूलो चुनौति थपिएको छ । सो घटनाबाट अन्तर्राष्ट्रिय आतंकबादको ट्रान्जिट बन्ने उच्च जोखिममा रहेको नेपाललाई शुरक्षा संयन्त्रको कार्यशैलि परिवर्तन गरी आतंकवादी प्रबेशमा निगरानी बढाउन पनि सचेत गराएको छ। 

सिरिया आन्दोलनका क्रममा दुई वर्ष अघि जन्मिएको इस्लामिक स्टेट आइएसले अति सुरक्षित मानिएको बंगलादेशको राजधानी ढाकास्थित गुलसनमा आफ्नो उपस्थिति देखाउदै शुक्रबार २० जनाको निर्ममता पूर्वक हत्या गरेपछि नेपालमा समेत सुरक्षा सर्तकताका लागि आइतबार गृह मन्त्रालय र सुरक्षा निकाय सक्रिय रहे।

काठमाडौं उपत्यकाका तीनै सुरक्षा निकायलाई शंकास्पद ब्यक्ति र स्थानमा उच्च सर्तकता र निगरानी बढाउन गृह मन्त्रालयले आइतबार नै निर्देशन दिएको छ। छिमेकी देश बंगलादेशमा शुक्रबार भएको आतंकबादी आक्रमणको विषयमा केन्द्रीत रहेर आइतबार बसेको सुरक्षा महाशाखाको बैठकले काठमाडौं उपत्यकामा रहेका राजदुतावास र विदेशी नागरिकको चहलपहल हुने स्थानमा उच्च सर्तकता र निगरानी बढाउन निर्देशन दिएको हो।  

बैठकले नेपाल प्रवेश गरेका तेस्रो देशका नागरिकको क्रियाकलापका विषयमा समेत सूचना संकलन गर्ने निर्णय गरेको छ। त्यस्तै अन्तराष्ट्रिय आतंकबादविरुद्ध सक्रिय रहेका क्षेत्रिय सुरक्षा संगठनसँगको सहकार्यमा अनुसन्धान र निगरानी बढाउने निर्णय पनि गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी

काठमाडौं उपत्यका मातहत रहेका तीनै सुरक्षा निकायका प्रतिनिधि उपस्थित रहेको बैठकमा सुरक्षा अवस्था र तत्कालका योजनामा केन्द्रित रहेर छलफल भएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च निगरानी राख्न गृहले निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

गृह मन्त्रालय शान्ति सुरक्षा महाशाखाको नेतृत्वमा नेपाल प्रहरीको महानगरीय प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि बैठकमा सहभागी थिए। महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सामान्य अवस्थामा भन्दा केही थप सुरक्षा सर्तकता राख्न सबै युनिटलाई निर्देशन दिएको बताए। उनले बंगलादेशको घटनापछि काठमाडौं उपत्यकामा रहेका विदेशी नागरिकलाई सुरक्षा प्रत्याभुति दिन सुरक्षा सर्तकता  बढाउन निर्देशन दिएको जनाए।

बाढीपहिरो न्युनिकरणमा गंभिर हुन संसदीय समितिको सरकारलाई निर्देशन

  


२० असार , २०७३  संसदको राज्य ब्यवस्था समितिले प्राकृतिक विपदबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणका लागी पुर्व सचेतना तथा तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।


बर्षेनी बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठुलो मात्रामा धनजनको क्षति हुने गरेको भन्दै समितिले प्राकृति बिपदका कारण हुने क्षतिलाई सकेसम्म रोक्ने गरि प्रभावकारी कदम चालन सरकारलाई निर्देशन दिएको हो  । समितिले प्राकृतिक बिपदका बेला परिचालन हुने नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाली प्रहरी र अन्य उद्धारकार्यमा खटिने निकायलाई स्रोत साधनको अभाव नहुने गरि बजेट व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको बैठकमा समितिले रक्षा र गृहमन्त्रीका साथै सम्बन्धित मन्त्रायलका सचिव, प्रधानसेनापति, नेपाल प्रहरीका उच्च पदाधिकारी, रेडक्रसका प्रतिनिधि लगायतसँग छलफल गरेको थियो । गत बर्षको भुकम्प र त्यसपछिका परकम्पका कारण यसपटक बाढी पहिरोको जोखिम उच्च रहेको भन्दै समितिले जोखिमयुक्त स्थानको पहिचान गरि सम्भावित क्षति न्युनिकरणका साथै सुरक्षाका उपाय अवलम्वन गर्न समेत सरोकारवाला निकायलाई सुझाव दिइएको समिति सदस्य रामकृष्ण यादवले बताउनुभयो ।  


आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै फ्रान्स युरोकपको अन्तिम चारमा

२० असार , २०७३ /  आइसल्याण्डमाथी प्रभाबशाली जित निकाल्दै आयोजक फ्रान्स  युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ।

युरोकपको अन्तिम क्वाटरफाईनलमा आइस्ल्याण्डलाई ५—२ को फराकिलो अन्तरमा पराजित गर्दै आयोजक फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो। अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएको फ्रान्सले खेलको १२ र्औ मिनेटमा नै ओलिभर जिरउडको गोल बाट अग्रता लिएको थियो। 

पहिलो गोल गरेको ७ मिनेट पनि बित्न नपाउँदै पाउल पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा दिमित्रि पयेट र ४५ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए।

त्यसपछि पहिलो हाफमा ४–० ले पछि परेको आइसल्याण्डले दोस्रो हाफको ५३ औ मिनेटमा बिर्आर्नेसनले गोल गरेर खेल ४—१ को अवस्थामा ल्याए। खेलको ५८ औ मिनेटमा जिरउडले गोल गर्दै फ्रान्सलाई ५—१ को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ८४ औ मिनेटमा बिर्आर्नेसनले गोल गर्दै खेललाई ५—२ को अवस्थामा ल्याएपनि टोलिको पराजय भने टार्न सकेनन्। 

जारी युरोकपमा यो नै अहिले सम्मको फराकिलो अन्तरको जित हो। अब अन्तिम दुई प्रबेशका लागी फ्रान्सले  विश्वविजेता जर्मनीसँग प्रतिश्पर्धा गर्नेछ।

सरकारद्धारा निजी क्षेत्रलाई पनि इन्धन आपूर्ति गर्न दिने संकेत, २ कम्पनी छनौट


२० असार , २०७३ / सरकारले निजी क्षेत्रलाई पनि इन्धन आपूर्ति गर्न दिने सम्वन्धी प्रक्रिया अघी वढाएको छ । नेपालमा अहिले सरकारी स्वामित्वको नेपाल आयल निगमले मात्र इन्धन आपूर्ति गर्दै आएको छ ।


आयल निगमसँग प्रतिस्पर्धा गर्न सक्नेगरि इन्धन आपुर्ति गर्न निजी कम्पनीलाई आह्वान गरिएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार इन्धन आयतका लागि निजी कम्पनीले आफ्नै डिपो खोल्नुपर्नेछ । अहिले सम्म २ वटा कम्पनी छनोट भइसकेको घिमिरेले जानकारी दिनुभयो । 


यसैविच आयल निगमले आगामी आर्थिक वर्षदेखि इन्धन विक्रीमा नाफाको दर घटाउने जनाएको छ । पेट्रोल, मट्टितेल, हवाई इन्धन र ग्यासमा आयल निगमलाई अत्याधिक नाफा छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३९ पैसा नाफा लिएर विक्रि गरेको निगमले ग्यासमा प्रतिसिलिण्डर ८ रुपैयाँ ४५ पैसा र मट्टिटेलमा १९ रुपैयाँ ४० पैसा नाफा लिएको छ भने हवाई इन्धनमा प्रतिलिटर २७ रुपैयाँ नाफा लिएको छ । 

अहिलेसम्म निगमलाई ऋण भार तिनुपर्ने भएकाले नाफाको दर वढाईएको भन्दै निगमका प्रवक्ता घिमिरेले आगामी आर्थिक वर्षदेखि नाफाको दर घटाउने बताउनुभयो । 

आईएसले ईराकमा गराएको बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय २५



असार १९, २०७३ / ईराकको राजधानी बग्दाद नजिकै कराडामा इस्लामिक अतिवादी संगठन आईएसले गराएको बम बिस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ । १ सय ५० भन्दा बढी घाइते भएका छन् । 


मृत्यु हुनेमा अधिकांश बालबलिका रहेको बीबीसीले जनाएको छ । कराडास्थित एक व्यस्त शहरमा कार बम बिस्फोट गराईएको थियो । रमदानका लागि बजारमा किनमेल गर्नेको भीड भएको समयमा बिस्फोट भएकाले बढी मानवीय क्षती भएको अधिकारीहरुले बताएका छन् ।


त्यसलगत्तै दोश्रो बिस्फोट सिया मुस्लिमको बाहुल्य रहेको क्षेत्रमा भएको थियो । सो बिस्फोटमा ५ जना मारिएका छन् । इराकी सुरक्षाफौजले फलुजा शहरलाई पुनः आफ्नो नियन्त्रणमा लिएको एक साता नबित्दै सो आक्रमण भएको हो ।  

इटालीलाई टाईब्रेकरमा पराजित गर्दै जर्मनी युरोकपको सेमिफाईनलमा

१९ असार , २०७३ / इटालीलाई टाईब्रेकरमा पराजित गर्दै विश्वविजेता जर्मनी युरोकप फुट्बल २०१६ को सेमिफाईनलमा प्रवेश गरेको छ । निर्धारित र अत्तिरिक्त समय सम्म एक–एक गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा जर्मनी ६–५ ले विजयी भएको हो । 

फ्रान्समा जारी प्रतियोगिताको आजबिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको २० औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा  जर्मनी डिफेन्डरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टि सदुपयोग गर्दै इटालीले खेल बराबरीमा ल्याएको थियो । उसका लागी लियोनार्दो बोनुकीले शानदार गोल गरे । 

निर्धारित र अत्तिरिक्त समय बराबरीमा सकिएपछि टाईब्रेकरमा गएको खेलमा दुबै टोलीले १८ प्रहार गरेका थिए । जर्मनीका मेसुट ओजिल, थोमस मुलर  र बाष्टिएन स्वान्स टाईगर पेनाल्टिमा चुकेका थिए  । त्यस्तै ईटालीका सिमोन जाजा, ग्रान्जियानो पेले, माटेओ डार्मिएन,  र लियोनार्दो बोनुकीले टाईब्रेकरमा गोल गर्न सकेनन् ।

सेमिफाईनलमा जर्मनीले अब आज राती हुने खेलको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनलमा आज आयोजक फ्रान्स र आईसल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय अनुसार राती पौने एक बजेबाट शुरु हुनेछ । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...