Friday, June 26, 2015

कोलम्बियालाई सडनडेथमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमीफाइनलमा

१२ असार/  कोलम्बियालाई सडनडेथमा पराजित गर्दै अर्जेन्टिना कोपा
अमेरिका कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई सडनडेथमा ५–४ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकर ४–४ मा सकिएपछि भएको सडन डेथमा अर्जेन्टिनाका लागि कारलोस टेभेजले गोल गरेका थिए ।

भारतको असम राज्यबाट नेपाली भाषीलाई निकाला गर्ने तयारी

१२ असार/   दक्षिणी भुटानबाट एक लाख बढी नेपालीभाषी भुटानी नागरिकलाई देश निकाला गरिएको दुई दशकपछि भारतको असम राज्यबाट नेपाली भाषीलाई निकाला गर्ने तयारी थालिएको भन्दै भारतमा रहेका गोर्खालीले चिन्ता व्यक्त गरेका छन् । असमका मुख्यमन्त्री तरुण गोगीले मतदातासम्बन्धी कानून सच्याउने नाममा नेपालीलाई देश निकाला गर्न लागेको गोर्खालीको गुनासो छ । असम सरकारको यो नीतिप्रति भारतीय जनता पार्टीले आपत्ति जनाइरहेको छ । यसबारे भारतबाट प्रकाशित हुने नेपालीभाषाको पत्रिका हिमालय दर्पणले यस्तो रिपोर्ट प्रकाशित गरेको छ ।  असम सरकारको एउटा परिपत्र (नोटिफिकेसन) ले  गर्दा असममा बसोबास गरिरहेका नेपालीभाषी गोर्खाहरुमाथि पनि अन्य विदेशीहरुसँगै निस्काशनको खतरा बनिरहेको छ । असम सरकारको एउटा परिपत्रअनुसार जो मानिसहरु १९७० पछि असम पसेका छन्, तिनीहरुलाई असममा मतदानको अधिकार प्राप्त हुने छैन । अनि तिनीहरुको मतदाता परिचयपत्र पनि बनिने छैन । यसको अर्थ अन्य विदेशीहरुसँगै नेपालीभाषी गोर्खाहरुलाई पनि विदेशी मानिने छ अनि तिनीहरुलाई असम छोड्ने आदेश दिइन सक्छ । यस्तो परिपत्रपछि असममा बसोबास गरिरहेका नेपालीभाषी गोर्खाहरुमाथि निस्कासनको खतरा बन्न सक्छ अनि तिनीहरु विदेशी रहेको मोहर लाग्न सक्छ । असमको तेजपुरका भाजपा सांसद आरपी शर्माले यस नोटिफिकेसनको विरुद्ध लगातार आवाज उठाउँदै आइरहेका छन् । नेपालीभाषी सांसद शर्माले यसबारे केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेर ज्ञापनपत्र दिइसकेका छन् । सांसद शर्माले भने, सन् १८१६ को सुगौली सन्धीअनुसार जब यो सम्पूर्ण क्षेत्र अंग्रेजहरुकै अधिनमा थियो, तब भारत र नेपालमा मानिसहरुको आउजाऊलाई स्वीकार गरिएको थियो । भारत–नेपाल माझको १९५० को सन्धी अनुसार दुबै देशका नागरिकहरुलाई एक अर्काको देशमा आवागमनको सुविधा दिइएको छ । दुबै देशका नागरिकहरुलाई एक अर्काको देशमा आउजाऊ गर्ने, नोकरी गर्ने, व्यापार गर्ने, सम्पत्ति थुपार्ने जस्ता सुविधाहरु प्राप्त छ । असम सरकारको परिपत्र लागू भए बंगलादेशीहरुसँगै जो हिन्दु बंगलादेश अथवा पाकिस्तानबाट आएका छन्, तिनीहरुमाथि पनि निष्कासनको खतरा बनिरहने छ ।

Thursday, June 25, 2015

माग पूरा नभएको भन्दै प्रशिक्षार्थी डाक्टरद्धारा नोेबेलको ओपिडी सेवा बन्द

१० असार/   प्रशासनले माग पूरा नगरिदिएपछि एक सातादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेजका प्रशिक्षार्थीहरुले आजदेखि अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरेका छन् । श्रम शोषणमा रोक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एक सातादेखि आन्दोलनमा रहेका नोेबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूले आफ्नो माग पूरा नभएको भन्दै ओपिडी सेवा बन्द गरेका हुन् । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र विद्यार्थीबीचको समस्या झन् जटिल बनेको हो ।
यता, कलेज प्रशासनले विद्यार्थीकै आग्रहमा आफूहरूले मन्त्रालयमा वार्ताका लागि पहल गरेकाले हाल आएर विद्यार्थीले वार्तामा जान्न भन्नु उपयुक्त नहुने बताएको छ । कलेज प्रशासनले काठमाडौँ विश्वविद्यालयलाई समेत आफूहरूले गुहारेको र विश्वविद्यालयले पारिश्रमिकका विषयमा गर्ने निर्णय आफूलाई मान्य हुने जनाएको छ ।
नोबेल मेडिकल कलेजमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

महाकाली नदी किनारका बस्ती जोखिममा

१० असार/    बिहानैदेखिको निरन्तर झरीले महाकाली नदीमा पानीको
सतह बढेको छ । नदीको पानीको बवाह बढेपछि नदी किनारका बस्ती जोखिममा परेका छन् ।
निरन्तर वर्षा नरोकिँदा तथा नदीको पानीको बहाव बढ्दै जाँदा नदी किनार अनपा–११ बङ्गाबगडस्थित कैलाशपति निम्न माध्यमिक विद्यालय बन्द भएको छ । ‘बिहानबाट वर्षा रोकिएको छैन ।’ विद्यालयका प्रध्यानाध्यापक राजेन्द्रबहादुर सिंहले भने, ‘आकाशबाट पानी पर्न नरोकिएकाले विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्न सक्छ ।’ नदीको सतह बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै आज बिहान १० बजेबाट विद्यालय बन्द गरिएको उनको भनाई छ ।
नदी किनारमा बस्ने यहाँका मानिसहरुमा वर्षात सुरुसँगै २ वर्षअघिको बाढी सम्झना अझै नबिर्सेकाले बाढीको त्रास बढिरहेको छ । नदी नियन्त्रणका लागि यो वर्षबाट तटबन्ध निर्माण कार्य सुरु भएको छ । तर, काम ढिलो गरी निर्माण कार्य सुरु भएकाले बाढीबाट ढुक्क भएर बस्ने सक्ने स्थिति नरहेको खलंगाका स्थानीय माधवराज भट्टको भनाई छ । नदीमा पानीको सतह बढेपछि तटबन्ध निर्माण कार्य प्रभावित भएको
आयोजनाले जनाएको छ । नदीमा पानी बढेसँगै ठेकेदारहरुले आफ्नो निर्माण सामग्रीहरु सुरक्षित स्थानमा राख्न थालेका छन् । तटबन्धको प्याकेज नं १ मा संकलग्न ठेकेदार दानसिंह तिंकरीले पानी बढेपछि काम हुन नसक्ने र महँगा निर्माण सामग्री भएकाले सुरक्षित राख्न लागेको जनाए ।  
तटबन्ध निर्माणका लागि पहिलो चरणमा नमस्कारदेखि लास्कु खोलासम्म साढे ४ किलोमिटर क्षेत्रमा ८ प्याकेजमा निर्माण भइरहेको छ । तटबन्ध निर्माणमा १३ वटा प्याकेज मध्ये पहिलो चरणमा ८ प्याकेजमा निर्माण कार्य भइरहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख महेन्द्रप्रसाद बडूले बताए ।


कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने

१० असार/     इपिएस कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने भएको छ । पाठ्यक्रम परिवर्तन भएपनि प्रश्नपत्रको मोडल भने पुरानै हुनेछ । कार्यस्थलमा चाहिने उत्कृष्ट क्षमता भएका आवेदकहरुलाई छनौट गर्न पाठ्यसामग्री परिमार्जन गरिएको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । 
आउँदो असोज २ र ३ गते हुने छैंटौं कोरियन भाषा परीक्षामा सामेल हुनेहरुलाई भने इपिएसस्तरीय पाठ्यसामग्री (हान्गुक अ फ्योजुन ग्योजे) र परिमार्जन गरिएको नयाँ पाठ्यपुस्तक दुवैबाट प्रश्न सोधिने सेन्टरका निर्देशक ली दो सिर्कले जानकारी दिनुभयो । अर्को वर्षदेखि भने परिमार्जन भएको पाठ्यक्रमबाट मात्रै प्रश्न सोधिने उहाँले बताउनुभयो । परिमार्जन भएको पाठ्यसामग्री एचआरडी कोरियाको वेवसाइट www.hrdkorea.or.kr, इपिएस टपिकको वेवसाइट epstopik.hrdkorea.or.kr र इपिएसको वेवसाइट eps.go.kr बाट डाउनलोड गर्न सकिन्छ ।  
छैंटौं कोरियन भाषा परीक्षा आउँदो असोज २ र ३ गते काठमाण्डौं र पोखरामा हुँदैछ । परीक्षाका लागि ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।

६ महिनामा साढे तीनहजार भन्दा बढीले कोरियामा रोजगारी पाए

सन् २०१५ को शुरुदेखि अहिलेसम्म ३ हजार ६ सय ८४ जना नेपाली कामदार कोरिया पुगेका छन् । इपिएस मार्फत कोरियामा रोजगारी गर्न पठाउने १५ वटा देशमध्येको यो दोश्रो ठूलो संख्या हो । नेपालभन्दा कम्बोडियाका धेरै कामदारले यो अवधिमा कोरियामा रोजगारी पाएका छन् । तेश्रोमा इण्डोनेसिया छ ।
इपिएस प्रणालीमार्फत ३० हजारभन्दा धेरै नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपाली कामदार इमान्दार, परिश्रमी भएको र सरकारले कोरियामा गैरकानूनी कामदार घटाउन गरेको प्रयासले नेपाली कामदारको कोटा बढेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलालले जानकारी दिनुभयो । गएको वैशाख १२ गते गएको विनाशकारी भुँइचालोपछि भने १ हजार ५ सय ६७ जना कोरिया गएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य–सचिवमा विष्ट

१० असार/    राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव
विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।
एमालेको तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई बिहीबार खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ अनुसार संघहरुका तर्फबाट परिषद् अध्यक्षले तीन सदस्य नियुक्त गर्न पाउने अधिकार प्रयोग गर्दै विष्टलाई राखेपको सदस्यमा बिहीबारै नियुक्त गरेका हुन् । सदस्य नियुक्त गरेपछि उनलाई सदस्य–सचिव बनाइएको हो ।
विष्ट नेपाल सेपाकटात्रो संघबाट सिफारिस भएका हुन् । विष्टसँगै मन्त्री पौडेलले नेपाल पौडी संघको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल संघको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए ।
सदस्य बनाए लगतै मन्त्री पौडेलले विष्टलाई ऐनको दफा ३ को उपदफा ३ अनुसार सदस्यसचिवमा नियुक्त गरेका हुन् ।
विष्ट एमालेमा नेता माधवकुमार नेपाल निकट मानिन्छन् । करिब ९ महिना अघि दक्षिण कोरियामा भएको १७ औं एसियाली खेलकुदमा तीन खेलाडी भगाएको आरोपमा मन्त्री पौडेलकै सयोजकत्वमा बनेको कमिटीले एक वर्षसम्म खेलकुदका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनबाट रोक लगाएको थियो । त्यसका बाबजुद मन्त्री पौडेलले विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका छन् ।
जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि सदस्य सचिव रिक्त थियो । निमित्त सदस्य–सचिवको रुपमा सकुन्ता नगरकोटीले जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

Monday, June 22, 2015

अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

८ असार/   अमेरिका महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । १० खेलाडीमा सिमित भएको कोलम्बिया विरुद्ध अमेरिकाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियोे । गोलकिपर क्याटलिना पेरेजले फलगरेपछि रातो कार्ड खाँदै बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । दुई पटकको विजेता अमेरिकाका लागि ५३ औं मिनेटमा एलेक्स मोर्गनले गोल गर्दै १–० को अग्रता दिलाइन् । कार्ली लोयडले ६६ औं मिनेटमा पाएको पेनल्टीमा गोल गर्दै अमेरिकालाई २–० को जित दिलाइन् । अमेरिकाले अब क्वाटरफाइनलमा आउँदो शुक्रबार चीनसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आजै सम्मपन्न अर्को खेलमा इङ्गल्याण्डले नर्वेलाई २–१ ले पाखा लगायो । १९९५ पछि पहिलो पटक नर्वेलाई पराजित गर्ने क्रममा इङ्गल्याण्डले पछिपरेको स्थिति उल्टाएको थियो । खेलको ५३ औ मिनेटमा सोल्भेगले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ६१ औं मिनेटमा स्टेभ होग्टनले र ७६ औं मिनेटमा लुसी ब्रोन्जले गोल गरेपछि इङ्गल्याण्डको जित निश्चित भएको थियो । जितपछि इङ्गल्याण्डको उपाधि आसा जिवितै रहेको छ । उ प्रतियोगिताको अन्तिम आठमा प्रबेश गरेको छ । इङ्गल्याण्डले अब अन्तिम चार प्रबेशका लागी आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । आजै अन्तिम आठ प्रवेशका लागी जापानले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...