Monday, May 24, 2021

माधव नेपाल र झलनाथ खनालसहित ११ नेता एमालेबाट निस्काशित

 

काठमाडौं/  नेकपा एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्काशन गरेको छ। उनीहरुलाई एमालेको साधारणसदस्य समेत नरहने गरी निस्कासित गरिएको हो।

 

नेकपा एमालेले पार्टीको हीतविपरीत कार्य गरेको ठहर गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको एक स्थायी समिति सदस्यले बताए।

नेपाल १५ वर्षसम्म एमाले पार्टी प्रमुख रहेका नेता हुन् भने खनाल पनि एक कार्यकाल पार्टी अध्यक्ष भएका व्यक्ति हुन्। नेपाल र खनाल दुवैजना पूर्वप्रधानमन्त्री हुन्।

बरिष्ठ नेता नेपाल, अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई पार्टीबाट निष्कासन गरिएको हो।

उनीहरुलाई पार्टी हितविपरित काम गरेको भनी शनिबार स्पष्टीकरण सोधिएको थियो। तर नेपाल र खनालसहितका ११ नेताले कुनै स्पष्टीकरण दिएका थिएनन्।
 
२०७८, जेठ १०

Sunday, May 16, 2021

सहयोगी हातले गर्यो सुरक्षाकर्मीलाई सहयोग

दमक। सहयोगी हात नेपालले कोरोना महामारीसँगैको निषेधाज्ञामा खटिएका सुरक्षाकर्मीका लागि सहयोग गरेको छ । उसले दमक, केर्खा, चुलाचुली लगायतका प्रहरीहरुको लागि जारसहितको पिउने पानी, मास्क र सेनिटाइजर सहयोग गरेको हो ।


वितरण पछि संस्थाका अध्यक्ष छविलाल बाँसकोटाले  यो विषम परिस्थितिमा जनमानसको निम्ति अहोरात्र खटिएका सुरक्षाकर्मी लाई केही मात्रामा राहत मिलोस भन्ने अभिप्रायले सहयोग गरेको प्रतिक्रिया दिनुभयो । 

सो संस्थाले दमकको डाँफेमुनाल चोक, ताराबारी प्रहरी विट,फाल्गुनन्द चोक प्रहरी विट,  पाडाँजुगी प्रहरी विट केर्खा प्रहरी विट इलामको चुलाचुली प्रहरी चौकी तथा दमक कोभिड अस्पताल बेलडाँँगीमा पिउने पानी, जार, मास्क ,सेनिटाइजर वितरण गरेको छ । 

सो क्रममा संस्था अध्यक्ष छविलाल बास्कोटा, वरिष्ठ उपाध्यक्ष रमा लिम्बू , उपाध्यक्ष भानुभक्त खतिवडा सचिव रमेश अधिकारी कोषाध्यक्ष ख्यामराज अधिकरी, सल्लाहकार बिमल शर्मा,ताराप्रसाद अधिकारी, लगायतको उपस्थिति रहेको थियो । 


२०७८, जेठ २

Friday, May 7, 2021

थप ९ हजार १९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

काठमाडौं/  पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ भने कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३  हजार ५७९ जनाको मृत्यु भएको छ ।

७२८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै  ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।




२०७८, बैशाख २४

Monday, May 3, 2021

सके बहुमतको प्रधानमन्त्री, नभए आफ्नै नेतृत्वमा मध्यावधि

 




२० वैशाख, काठमाडौं । कोरोना महामारी नभएको भए प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान भइसक्नुपर्ने थियो । गत वर्ष महामारीकै बेला पनि वैशाख २६ गते अधिवेशन आह्वान भएको थियो ।

तर यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशनको साटो विशेष अधिवेशन रोजे, त्यो पनि विश्वासको मत लिन ।मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ वैशाखमा संसद अधिवेशन आह्वान गरेकी छिन् ।

संसदीय अभ्यासमा सरकारले बोलाउने नियमित अधिवेशन हो । सामान्यतया विशेष अधिवेशन सांसदहरुले समावेदन दिएको अवस्थामा बोलाइन्छ । तर प्रधानमन्त्री आफैंले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्दा संवैधानिक र राजनीतिक उल्झन बढ्ने कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण बताउँँछन् ।

‘संविधान र लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र हुन थाल्यो’ कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल भन्छन्, ‘संसद भंग गर्ने, अध्यादेशमार्फत बजेट ल्याउने र प्रधानमन्त्री आफ्नै नेतृत्वमा मध्यावधि चुनावमा जान खोजेको देखिन्छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेको भए चालु अधिवेशनमा लिनुपर्ने भन्दै खाँणले भने, ‘प्रधानमन्त्रीको नियत प्रष्ट भइसकेको छैन, तर यो सुनियोजित ढंगले आएको छ भन्ने लाग्छ ।’

ओलीले बहुमत पाए सरकार चलाउने, नपाए प्रतिनिधिसभा भंग गरेर आफ्नै नेतृत्वमा मध्यावधि चुनाव गर्न चाहेको विपक्षी नेताहरुको विश्लेषण छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘जतिबेला माओवादी केन्द्र र एमाले भयो, त्यसबेला नै विश्वासको मत लिनुपर्छ भनेर हामीले भनेका हौं । विश्वासको मत लिने निर्णयको स्वागत गर्छौ, तर त्यसका लागि नियमित अधिवेशन बोलाउनुपर्छ ।’ उनले भने, ‘प्रधानमन्त्रीले नियमित संसद छल्ने र फेरि विघटनतिर लैजान खोजेको देखिन्छ ।’

माओवादी केन्द्रका नेता पुनले जस्तै कांग्रेस नेताहरु पनि प्रधानमन्त्रीको कदममा षड्यन्त्र देख्छन् । ‘संविधान र लोकतन्त्रमाथि गम्भीर षड्यन्त्र हुन थाल्यो’ कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल भन्छन्, ‘संसद भंग गर्ने, अध्यादेशमार्फत बजेट ल्याउने र प्रधानमन्त्री आफ्नै नेतृत्वमा मध्यावधि चुनावमा जान खोजेको देखिन्छ ।’

विश्वासको मतको अंकगणित

२७१ सदस्यीय प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका १२१ सांसद छन् । संसदबाट विश्वासको मत पाउन प्रधानमन्त्री ओलीलाई थप १५ मत चाहिन्छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने सम्भावना छैन । राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकएक सांसद छन् । यो मत प्रधानमन्त्री ओलीलाई बहुमत दिन पर्याप्त छैन ।

बाँकी रह्यो जनता समाजवादी पार्टी (जसपा) । ३२ मत (३४ मध्ये दुई सांसद निलम्बनमा परेका कारण) भएको जसपा सिंगो रुपमा प्रधानमन्त्री ओलीको पक्षमा उभिने सम्भावना अहिले देखिंदैन । प्रधानमन्त्री ओलीले पनि सिंगो जसपाभन्दा महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग मात्र सम्वाद गर्दै आएका छन् ।

उनीहरुको माग सम्बोधनका क्रममा सरकारले १२० जना संलग्न १५ वटा फौजदारी अभियोगका मुद्दा फिर्ता गरेको छ । तर, जन्मकैदको सजाय भोगिरहेको रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका माग अझै सम्बोधन भएका छैनन् ।

‘यदि अविश्वासको प्रस्ताव ल्याएको भए एमालेबाटै ‘फ्लोर क्रस’ गराएर बहुमत पुर्‍याउन सकिन्थ्यो’ कांग्रेसका एक नेता भन्छन्, ‘अब राष्ट्रपति कहाँ जाँदा एमाले सांसदहरुलाई जोड्न पाइँदैन । त्यसैले नयाँ सरकार असम्भव जस्तै भएको छ ।’

जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘पार्टीको बैठक बसेको छैन । बैठक बस्ला, छलफल गरेर एउटा निर्णयमा पुग्ला । हेरौं न विश्वासको मत कता जान्छ ?’

जसपाको मत पाउन अति गाह्रो छ, आफ्नै पार्टी एमालेको मत पाउन पनि प्रधानमन्त्री ओलीलाई सजिलो छैन । २८ फागुन र त्यसयता अध्यक्ष ओलीले एकलौटी निर्णयहरु गरेको भन्दै माधवकुमार नेपाल समूहले पार्टीमा समानन्तर गतिविधि गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आए यो समूहले ‘फ्लोर क्रस’ गर्न सक्ने आकलन समेत गरिएको थियो । यद्यपि प्रधानमन्त्रीको पछिल्लो कदमबारे नेपाल समूहका नेताहरुले केही बताएका छैनन् ।

अल्पमतको सरकार, नभए चुनाव

जसपाको महन्थ–राजेन्द्र पक्ष वा आफ्नै पार्टीका सांसदहरुको मत नपाएर जुनसुकै कारणले संसदमा विश्वासको मत पाएनन् भने प्रधानमन्त्री ओली पदमुक्त हुनेछन् ।

तर यसपछिको नयाँ सरकार पनि ओलीकै नेतृत्वमा बन्ने सम्भावना बढी छ । किनकि विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि प्रधानमन्त्री ओलीले नै संसद अधिवेशन अन्त्य गर्न सक्नेछन् ।

त्यसपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

यसका लागि सरकारको नेतृत्व दाबी गर्ने दलले १३६ सांसदको समर्थन जुटाउनुपर्छ । नेपाली कांग्रेससँग ६१ (निलम्बनमा परेका २ बाहेक), माओवादी केन्द्रसँग ४९ सांसद छन् ।

अहिले कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्न तयार देखिएको जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका १६ सांसद जोड्दा पनि १२६ मात्रै हुन्छ र बहुमतका लागि अरु १० सांसद पुग्दैनन् ।

‘यदि अविश्वासको प्रस्ताव ल्याएको भए एमालेबाटै ‘फ्लोर क्रस’ गराएर बहुमत पुर्‍याउन सकिन्थ्यो’ कांग्रेसका एक नेता भन्छन्, ‘अब राष्ट्रपति कहाँ जाँदा एमाले सांसदहरुलाई जोड्न पाइँदैन । त्यसैले नयाँ सरकार असम्भव जस्तै भएको छ ।’

त्यसो भए संसदको सबभन्दा ठूलो दलका नेताको हैसियतमा ओली फेरि प्रधानमन्त्री बन्नेछन् । ३० दिनभित्र संसदमा विश्वासको मत नपाए ओली फेरि कामचलाउ हुनेछन् र संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने सम्भावना नहुँदा ७६(७) अनुसार संसद विघटन हुन्छ र मुलुक मध्यावधि चुनावमा जान्छ ।

यसैबीच जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व पनि छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम पनि ल्याउनुपर्छ । प्रधानमन्त्री ओलीले संसद भंग गरेर अध्यादेशमार्फत चुनावी बजेट ल्याउन सक्ने पनि कतिपयको विश्लेषण छ ।

सम्भावित काउन्टर

प्रधानमन्त्री ओलीको रणनीतिलाई विश्लेषण गरेर विपक्षी दलहरुले पनि रणनीति बनाउन थालेका छन् । कांग्रेसले भोलि मंगलबार पदाधिकारी बैठक बोलाएको छ भने माओवादी केन्द्र र जसपाका नेताहरु पनि छलफलको तयारीमा छन् ।

तर सिंगो जसपा नयाँ सरकारको पक्षमा उभिने सम्भावना नभएकाले ओलीलाई रोक्ने अहिलेको एउटै उपाय माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा मात्रै बाँकी छ ।

एक नेताका भनाइमा, कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम–उपेन्द्र पक्षका सांसदहरु मिल्दा बहुमत पुग्ने गरी नेपाल समूहका सांसदहरुले राजीनामा दिएमा नयाँ सरकार बन्ने सम्भावना रहन्छ । ती नेता भन्छन्, ‘फ्लोर क्रस गर्ने सम्भावना हुँदा अविश्वासको प्रस्ताव नल्याउनका लागि माधव नेपालहरुले राजीनामा दिएर किन सहयोग गर्लान् ?’ त्यसो भएमा मुलक फेरि मध्यावधि चुनावमा जानेछ ।



Tuesday, April 27, 2021

छोराको जन्मदिनमा टिकटक रोडमा पिङ्ग

 दमक। सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाल दमकका अध्यक्ष दिपक खड्काले आफ्ना छोरा साइन खड्काको जन्मदिनको अबसर पारेर मोरङ्गको मिक्लाजुङ स्थित टिकटक रोड क्षेत्रका लागि स्टेन पिङ्ग हस्तान्तरण गर्नु भएको छ ।

उहाँले टिकटक रोड व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापालाई संस्थाको नामबाट सो पिङ्ग हस्तान्तरण गर्नु भएको हो । अन्य क्षेत्रको पार्कमा पिङ्ग खेल्न शुल्क तिर्नु पर्ने तर सो क्षेत्रमा तिर्न नपर्ने भएकाले सबैले निशुल्क खेल्न पाउन भन्ने उदेश्यले छोराको जन्मदिनमा पीङ्ग हस्तान्तरण गरेको अध्यक्ष खड्काले प्रतिक्रिया दिनुभयो ।

पिङ्ग हस्तान्तरण कार्यक्रममा पहिलो पाईलाका अन्य पदाधिकारीका साथै उद्योग बाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष तथा पहिलो पाइलाका सल्लाहकार राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।

समाजसेवी खड्काले आफ्नै लगानी भएपनि विभिन्न क्षेत्रमा संस्थाकै नाममा सहयोग गर्दै आउनु भएको छ । पहिलो पाइलाले पुर्वका विभिन्न क्षेत्रको सरसफाईदेखि, विरामीहरुको उपचार, विद्यार्थीका लागि भाग्य बोक्ने झोला सम्मका कार्यमा समेत सहयोग प्रदान गर्दै आएको छ ।

Monday, April 26, 2021

कोरोना संक्रमित बढेसँगै दमकमा मास्क बाढ्दै बाणिज्य संघ


 उत्तम रिजाल, दमक/ एकै दिन १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै झापाको दमकमा उद्योग बाणिज्य संघले व्यापारी तथा सर्वसाधारणमा सचेत रहन आग्रह गर्दै मास्क वितरण शुरु गरेको छ ।

उसले आज विहान दमकको नयाँ सब्जि बजार क्षेत्रका व्यापारी तथा सर्वसाधारणमा मास्क वितरण गरेको छ । उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, राजकुमार योङया, रमा लिम्बु लगायत बाणिज्य संघका अन्य पदाधिकारी लगायतको टोलीले मास्क वितरण गरेको हो ।

विहान मात्र एक हजार हाराहारीमा मास्क वितरण गर्दै कार्यक्रम गरेको उसले दिउँसो बैठक बसी थप निर्णय गर्ने बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । दमकमा हिजो मात्र वडा नम्बर २, ४, ६ र ८ का ७ महिला र ८ पुरुष गरी १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


Saturday, April 24, 2021

माओवादी केन्द्रद्धारा वाइसीएल गठनलाई तिब्रता


दमक/ नेकपा माओवादी केन्द्रले योङ्ग कम्युनिष्ट लीग वाइसीएल गठनलाई तिब्रता दिएको छ । उसले आज मात्र झापाको गौरादहमा धर्म चौहानको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गर्नेगरि २७ सदस्यीय गौरादह नगर कमिटी गठन गरेको छ । 

युवा नेता बीरेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटी गठन गरेको हो । कमिटी गठनपछि प्रमुख अतिथि बस्नेतले नेकपा सनक र रहरमा बनेको हैन नेपालका कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गर्ने ऐतिहासिक आवश्यकताका आधारमा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले नेपालका इमान्दार कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउने आभियानमा निरन्तर लागिने समेत बताउनु भयो। त्यस्तै उहाँले भन्नुभयो –केपी ओली विगठन तिर र हामी ध्रुवीकरण तर्फ छौं । 

कार्यक्रममा नेताहरु दुर्गा चौलागाईं , पुष्प ढकाल, हुकुम सिह नेपाली डण्डिराज घिमिरे , कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो । 

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...