Sunday, September 3, 2017

वीरगञ्जको विरासत कब्जा गर्न दलीय भिडन्त


मधेश आन्दोलनको इपिसेन्टरमा हेभिवेट उम्मेदवारको चर्चा

महेश दास



वीरगञ्ज मुलुकको औद्योगिक एवं व्यापारिक शहर वीरगञ्ज पछिल्लो समय मधेश आन्दोलनको केन्द्रविन्दुका रुपमा चर्चित छ । मधेश आन्दोलनले के-कति उपलब्धी पायो भन्ने बहस जारी रहँदा वीरगञ्जले भने आन्दोलनबाट ठूलो आर्थिक क्षति भोगिसकेको छ । धेरै उद्योगधन्दा यहाँबाट सधैंका लागि विस्थापित भएका छन् । र, यही बेलामा वीरगञ्ज महानगरपालिका बनेको छ र नयाँ मेयरको खोजीमा छ ।
प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्ज चुनावी माहोलमा छपक्कै छोपिएको छ । राष्ट्रिय जनता पार्टीबाहेक अन्य दलका उम्मेदवारले चुनावी प्रचार-प्रसार तथा घरदैलो पनि थालिसकेका छन् । अब वीरगञ्जको मेयर को बन्ला ? बहस यही प्रश्नको वरिपरि घुमिरहेको छ ।
वीरगञ्जको अर्थ राजनीति
नेपालको प्रवेशद्वार तथा मुलुकको कुल राजश्वमा करिब ३५ प्रतिशत योगदान दिँदै आएको वीरगञ्जमा दुई वटा ठूला भन्सार कार्यालय छन् । स्थलमार्ग र रेलमार्गबाट भारतको तेस्रो मुलुकबाट आयात/निर्यात हुने नेपालको एक मात्र शहर हो, वीरगञ्ज ।

तीन महिनाअघि उपमहानगरबाट महानगरपालिकामा बढुवा पाएको हो । प्रमुख पार्टीहरु र मधेशकेन्दि्रत दलहरु यो महानगर कब्जा गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउँदै छन् ।

साविक वीरगञ्ज उपमहानगरमा १९ वटा गाविस समेटिएका थिए । मंसिर ०७१ मा ११ गाविस थपेर २७ वटा वडा बनाइएको थियो । पछि पाँच वटा गाविस थपियो । र, महानगरपालिका बनेपछि ३२ वटा वडा छन् ।
महानगर बनेपछि दोब्बर मतदाता थपिएका छन् ।

 कुल मतदाता एक लाख आठ हजार पाँच सय एक छन् । आर्थिक नगरसमेत भएका कारण यहाँको अर्थ राजनीति निकै महत्वपूर्ण हुने गरेको छ । विशेष गरी कांग्रेस, एमाले, राजपा र फोरम नेपाल वीरगञ्जको मेयर जित्ने दौडमा लागेका छन् । आयात/निर्यातको मुख्य नाका भएकाले काठमाडौंको लाइफलाइन पनि हो यो ।
कस्तो छ दलीय अवस्था ?
दोस्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र १ र २ मा रहेका नगरका वडा र गाविसहरु अहिले महानगरभित्र परेका छन् । दोस्रो संविधानसभामा पर्सा क्षेत्र बाट कांग्रेसका राजेन्द्र अमात्य र २ बाट एमालेका बिचारी यादव विजयी भएका थिए । ती दुवै क्षेत्र अहिले महानगरभित्र पर्छन् । कांग्रेसले जितेको क्षेत्रमा एमाले नभई हालको राजपा प्रतिस्पर्धामा थियो । एमालेले जितेको क्षेत्रमा त्रिपक्षीय भिडन्त देखिएको थियो ।

यस्तै, ०४९ को निर्वाचनमा वीरगञ्जको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । ०५४ को स्थानीय निकायको निर्वाचनमा भने विमलप्रसाद श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहले मेयरलगायत १९ मध्ये अधिकांश वडामा जीत हासिल गरेको थियो । त्यसबेला कांग्रेसले सात र एमालेले ६ वटा वडामा जितेका थिए ।
हाल महानगरमा गाभिएका १६ गाविसमध्ये ०४९ को स्थानीय निर्वाचनमा एमालेलेे सात, कांग्रेसले सात र राप्रपाले दुईमा जितेका थिए । ०५४ को स्थानीय निर्वाचनमा एमाले तीन, कांग्रेस आठ, राप्रपा तीन र अन्य दल दुई गाविसमा विजयी भएका थिए ।
चार पक्षीय टक्कर
राज्यको पुनर्संरचनापछि पहिलो पटक हुन गइरहेको स्थानीय तहको निर्वाचनमा विगतझैं कांग्रेस र एमालेसँगै थपिएका छन्, मधेसकेन्दि्रत राजपा र फोरम नेपाल पनि ।

गणतन्त्र स्थापनायता तराई मधेशमा तीन पटक आन्दोलन भयो । पछिल्लो आन्दोलनमा करिब ६ महिना वीरगञ्जलगायत नाका ठप्प बने ।

पछिल्लो आन्दोलन शहर र नाकामा सीमित थिए, गाउँ-गाउँमा समेत फैलिएको थियो । गाउँ-गाउँबाट हजारौंको संख्यामा दिनहुँ स्थानीय बासिन्दाले शहरमा आई आन्दोलनप्रति ऐक्यबद्धता जनाउँथे ।

हालै मधेशकेन्द्रित ६ वटा दल एक भई राजपा गठन भयो । उक्त गठबन्धनभन्दा बाहिर रहेको फोरम नेपाल पनि संगठन सदृढीकरणका साथै एमाले र कांग्रेसका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउने दौडमा छ । राजपा र फोरम नेपालले मधेश आन्दोलनताकाबाटै पार्टी प्रवेश सुरु गरी हालसम्म निरन्तरता दिँदै आएका छन् ।

राजपाले आन्तरिक द्वन्द्व र टिकटका आकांक्षीहरुको विवादलाई समाधान गर्न सकिरहेको छैन । वीरगञ्जका पूर्वमेयर विमल श्रीवास्तव र अर्का युवा नेता राजेशमान सिंह दुवैले आ-आफ्ना पक्षमा सडकमै शक्ति प्रदर्शन गरिसकेका छन् ।

आन्दोलनकारीलाई उपेक्षा गरी नवप्रवेशीलाई मात्र उम्मेदवार बनाएकामा कार्यकर्ताबीच देखिएको असन्तुष्टिलाई नियन्त्रण गर्नु फोरम नेपालको मुख्य चुनौती देखिन्छ । यद्यपि, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफैं असन्तुष्टि समाधान गर्न अग्रसर देखिन्छन् ।

मधेशकेन्द्रित दलबाट हुने एमालेविरुद्धको प्रहारबाट कांग्रेसलाई फाइदा पुगेको छ । मधेशकेन्दि्रत तीन दल चुनावी प्रतिस्पर्धामा जानुले मतदाताको ‘सेन्टिमेन्ट’ बाँडिने निश्चित छ । त्यसको फाइदा कांग्रेस र एमालेलाई पुग्नेछ ।

कांग्रेसको चुनौती संगठनलाई एकतावद्ध लिएर जानु, उम्मेदवार चयनमा देखिएको असन्तुष्टि घटाउनु, बागी उम्मेदवार हुन नदिनु र अन्तरघात रोक्नु हो । यस्तै, मधेश विरोधीको आरोप खेपिरहेको एमालेका लागि ती आरोप चिर्नुपर्ने चुनौतिबाहेक आन्तरिक रुपमा खासै समस्या देखिँदैन ।

टिकटमा असन्तुष्ट भएका सुन्दर कुर्मी यसअघि नै फोरम नेपालमा प्रवेश गरिसकेकाले एमालेले मधेशकेन्दि्रत दलका प्रभावशाली व्यक्तिलाई पार्टी प्रवेश गराएर वडा र गाउँपालिकामा टिकट दिने रणनीति अपनाएको देखिन्छ ।
यस्ता छन् मेयरका उम्मेदवार
महानगरपालिकाको मेयरको उम्मेदवार सबैभन्दा पहिला एमालेले टुंग्यायो । उक्त पार्टी अहिले आक्रामक प्रचारमा देखिन्छ । एमालेले तीन महिनाअघि माओवादी केन्द्र छाडेर आएका बसरुद्दिन अन्सारीलाई उम्मेदवार बनाएको छ ।

नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका अन्सारी दोस्रो संविधान सभा निर्वाचनमा माओवादी केन्द्रबाट पर्सा २ का उम्मेदवार थिए । निर्वाचनमा अन्सारीले ६ हजार दुई सय मत ल्याएका थिए ।

शैक्षिक गतिविधी र सामाजिक कार्यमा सक्रिय रहँदै आएका अन्सारी वीरगञ्ज महानगरपालिकाको प्रसौनी विर्ताका बासिन्दा हुन् । २८ हजार मुस्लिम मतमा एमालेले सोही समुदायका उम्मेदवार उठाएर सेन्टिमेन्ट क्यास गर्ने रणनीति बनाएको प्रष्ट हुन्छ ।

एमालेबाट उपमेयरकी उम्मेदवार सोफिया आचार्य छिन् । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रकी उपप्राध्यापक आचार्य राजीनामा गरेर चुनावी मैदानमा उत्रिएकी छन् । बुद्धिजीवी संगठनमा रहिसकेकी उनी वीरगञ्ज रानीघाट निवासी हुन् ।

एमालेको भातृ संगठन अनेमसंघ र ठाकुरराम क्याम्पसमा प्रगतिशील प्राध्यापक संगठनमा समेत सक्रिय थिइन् उनी । र, एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यकी पत्नी हुन् ।

कांग्रेसले पूर्वसभासद तथा जिल्ला सभापति अजयकुमार द्विवेदीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उपमहानगरपालिकाको उपमेयर भइसकेका द्विवेदी पहिलो संविधानसभामा पर्सा २ बाट विजयी भएका थिए । 

उनी दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका बिचारी यादवसँग पराजित भए । विद्यार्थी राजनीतिबाट आएका द्विवेदी बौद्धिक र तार्किक नेताका रुपमा वीरगन्जमा स्थापित छन् । उपमेयरको उम्मेदवारमा विवाद बढेका कारण कांग्रेसले व्यक्ति तोक्न सकेको छैन ।

फोरम नेपालले पाँच महिनाअघि पार्टी प्रवेश गराएका व्यापारिक घराना सरावगी गु्रपका अध्यक्ष विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका सरावगी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रतिष्ठित घरानाबाट उदाएका सरावगी सामाजिक र धार्मिक कार्यमा सक्रिय रहँदै आएका छन् । फोरम नेपालले उपमेयरको उम्मेदवार पिंकी यादवलाई बनाउने निर्णय गरेको छ । यादव मधेश आन्दोलनमा सक्रिय थिइन् । उनी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवकी पत्नी हुन् ।

माओवादी केन्द्रले ३१ वर्षीय रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको जिल्ला सदस्य तथा केन्द्र निकट मुस्लिम मोर्चाका केन्द्रीय सदस्य हुन् उनी । विदेशबाट अध्ययन गरी फर्किएका अन्सारी गण्डक अस्पतालका निर्देशक हुन् ।

सामाजिक सञ्जालमा उनको उम्मेदवारीले निकै चर्चा पाएको छ । युवामाझ लोकपि्रय देखिन्छन्, उनी । माओवादी केन्द्रले पनि उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन ।

नेपाल लोकतान्त्रिक फोरमले उम्मेदवार घोषणा गरेको छैन । फोरम नेपाल र राजपाका असन्तुष्टका साथै कांग्रेस र एमालेका विद्रोहीहरुलाई लिएर उम्मेदवारी दिने रणनीति उनी पार्टीको देखिन्छ । राप्रपाले पनि उम्मेदवार चयन गरेको छैन ।
राजपामा उम्मेदवारीका लागि भिडन्त
मेयर उम्मेदवार तय गर्न सबैभन्दा बढी सकस राजपामा देखा परेको छ । राजपाले चुनावको आन्तरिक तयारी धेरै पहिलेदेखि गरे पनि गत साता मात्र चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेर उम्मेदवार छनोट शुरु गरेको छ ।

सुरुमा आठ जिल्लामा आठ पर्यवेक्षकहरु १३ भदौसम्मको अवधि लिएर पर्सा आएका थिए । पछि ६ जनाको विशेष टोली पनि आयो । केन्द्रीय पर्यवेक्षकले जिल्ला टेकेकै दिन कार्यकर्ताबीच भिडन्तको स्थिति सृजना भएको थियो ।

केन्द्रीय पर्यवेक्षकको टोली वीरगञ्जमै डेरा जमाएर बसेको छ । सहमतिबाट उम्मेदवार चयन गर्ने प्रयास भइरहेको टोलीका एक सदस्यले बताए ।

राजपाका महासचिवद्वय विमलप्रसाद श्रीवास्तव र राजेशमान सिंहले मेयरमा सशक्त दाबेदारी गर्दै आएका छन् । दुईमध्ये कसैले पनि पछि हट्ने संकेत दिएका छैनन् । दुवै आकांक्षी मेयरको उम्मेदवार भन्दै आफ्ना नजिकका नेता-कार्यकर्तालाई चुनावी मैदानमा उतारिसकेका छन् ।

विमलप्रसाद श्रीवास्तव वीरगञ्ज नगरपालिका हुँदै उपमहानगरपालिकासम्म चार पटक मेयर भइसकेका छन् । विकासप्रेमीका रुपमा वीरगञ्जवासीबीच चिनिन्छन्, उनी ।

पञ्चायतकालदेखि ०५४ को स्थानीय निर्वाचनसम्म चुनाव लड्दा उनी ०४९ मा मात्र पराजित भएका थिए । उनी स्थानीयस्तरमा स्वतन्त्र समूह बनाएर मेयरमा विजयी भएका थिए । श्रीवास्तव पहिलो र दोस्रो संविधानसभामा पर्सा १ मा पराजित भएका थिए ।

राजपाका अर्का प्रमुख आकांक्षी राजेशमान सिंह वीरगञ्ज उपमहानगरपालिकाको वडा ३ बाट नगर परिषद् सदस्य निर्वाचित भई त्यसको अध्यक्ष पनि भइसकेका छन् । ०५४ सालमा श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहमा रहेका सिंह श्रीवास्तवका नजिकका मानिन्थे ।

दुवैको व्यापारमा साझेदारीसमेत थियो । तर, व्यापारिक साझेदारीमा समस्या भएपछि दोस्रो संविधानसभा निर्वाचनअघि उनीहरु अलग भएका थिए । सिंह दोस्रो संविधानसभामा पर्सा १ बाट उम्मेदवार बनेका थिए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सिंह र तमलोपाबाट श्रीवास्तवले उम्मेदवारी दिँदा त्यसको फाइदा कांग्रेसले उठाएको थियो । सिंह पछिल्लो मधेश आन्दोलनमा सबैभन्दा बढी चर्चित नेता बन्न पुगे ।

जुझारु र यूवामाझ लोकपि्रय सिंह पछिल्लो समय सुदृढीकरण र पार्टी प्रवेश गराउने काममा दिनरात लागिपरेका छन् । राजपामा यी दुई उम्मेदवारको द्वन्द्वले नोक्सान हुने बताउँदै वरिष्ठ उपाध्यक्ष सुरेन्द्र कुर्मीलाई मेयर उठाउनु पर्ने दबाब बढ्दै गएको छ ।
 
२०७४ भदौ १८

सञ्चारमन्त्री बस्नेत आफैंले काटे अव्यवस्थित तार




काठमाडौं  सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ ।
सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । बस्नेतले भने, ‘एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।’

यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए ।

तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ ।     

                                                                                      रासस

२०७४ भदौ १८

चीनको ३६ अर्ब लगानीमा नेपालमा सिमेन्ट उद्योग खुल्दै

काठमाडौं   नेपालको सिमेन्ट उत्पादनमा चीनको एक निजी कम्पनीले ३६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । चीनको होक्सी नामक कम्पनीले नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा नवलपरासिमा सिमेन्ट उद्योग खोल्न लागेको हो ।
 
९ सय मेगावट क्षेमताका अरुण तेस्रो र माथिल्लो कर्णालीमा आएको वैदेशिक लगानीपछिको तेस्रो ठूलो लगानीको प्रतिवद्धता आएको लगानीवोर्डले जनाएको छ । लगानीसम्वन्धी सम्झौता पीआईएमा बोर्डका कार्यकारी प्रमुख सिईओ महाप्रसाद अधिकारी र चिनियाँ कम्पनी होक्सीका निर्देशक लाई वेङले आज हस्ताक्षर गर्ने कार्यक्रम छ । 
 
नवलपरासीमा उत्पादन गर्ने भनिएको सिमेन्टका लागि आवश्यक ढुङ्गा भने पाल्पाको ज्यामिरेबाट निकालिने सम्झौतामा उल्लेख गरिएको छ । सन २०१८ को पहिलो ३ महिना देखि नै सिमेन्ट उत्पादन शूरु गर्ने भनिएको सो उद्योगबाट दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । 
 
उद्योगबाट १ हजार भन्दा वढी नेपालीले प्रत्यक्ष रोजगारी पाउनेछन् । विदेशी लगानी भित्र्याउने नाममा वढी सहुलियत दिएको भन्दै सिमेन्ट उत्पादन गर्दै आएका नेपाली उद्योगीले भने लगानीवोर्डको आलोचना गरेका छन् ।

२०७४ भदौ १८

प्रतिबन्धित भारु ६८ लाख सहित २ जना पक्राउ

काठमाडौं  महानगरीय प्रहरी अपराध महाशाखा टेकुले एक हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । 
 
काठमाडौं महानगरपालिका १५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई हिजो पक्राउ गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।
 
उनीहरुको साथबाट अवैध भारु ६८ लाख २० हजार रुपैयाँ बरामद गरेको महाशाखाले जनाएको छ । सर्वसाधारणलाई ठगी गर्ने उद्देश्यले हिडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७४ भदौ १८

बकर ईद हर्षोल्लासपूर्वक मनाइँदै, आज सार्वजनिक बिदा

काठमाडौं   मुस्लिम धर्मावलम्बीले महान् पर्व बकर ईद आज हर्षोल्लासपूर्वक मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विश्वास छ । 
 
मुस्लिम धर्मावलम्वीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन छ । पर्वको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । बकर ईदका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । 
 
यसैबीच बकर इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिंदै आफ्नो सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गनुपर्नेमा जोड दिनुभएको छ ।
 
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना दिंदै पर्वको माध्यमबाट विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गरी सबै नेपालीको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न आह्वान गर्नुभयो । 
 
प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिंदै सबै जातजाती मिलेर एकताको सन्देश प्रवाह गरी राष्ट्र विकासमा सहकार्य गर्न आह्वाहान गर्नुभएको छ । 
 
भाद्र १८, २०७४

Friday, September 1, 2017

मंसिरपछि हाम्रो देशमा ८८४ सांसद


काठमाडौं पहिलो र दोस्रो संविधानसभामा ६०१ सांसद थिए । सानो देशमा धेरै सांसद भएको भनेर आलोचना पनि भएको थियो । तर, अव देशमा यो भन्दा पनि बढी सख्याँमा संसद हुँदैछन् ।
क्षेत्र निर्धारण आयोगले दिएको प्रतिवेदन अनुसार मंसिर १० र २१ मा प्रदेश र संघीय संसदका लागि चुनाव हुँदैछ । चुनावपपछि देशमा झन्डै नौ सय सांसद हुनेछन् । देश संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक संसद र प्रदेशको चुनावका लागि मिति घोषणा भएको छ ।
अहिलेकै कार्यतालिका अनुसार प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भए मंसिर तेस्रो सातापछि मुलुकमा ८८४ जना सांसद हुने भएका छन् । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्यको समेत निर्वाचन भइसकेपछिको संख्या जोड्दा देशमा सांसदहरुको संख्या ८८४ पुग्ने छ ।
नयाँ संविधान अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्रका आधारमा सरकारले घोषणा गरेको मंसिर १० र २१ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो निर्वाचन भएपछि प्रदेशसभामा प्रत्यक्षतर्फ जम्मा ३३० र त्यसको ४० प्रतिशतका आधारमा समानुपातिक २२० सांसद हुनेछन् । र सात प्रदेशमा कुल सांसद  ५५० रहनेछन् ।
त्यस्तै केन्द्रीय प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फ ११० सांसद आउनेछन् । यसरी प्रतिनीधिसभा २७५ सदस्यीय हुनेछन् ।
यसबाहेक राष्ट्रिय सभामा ५९ जना सांसद चुनिने व्यवस्था छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार जोसुकै भएपनि मत भने स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलेमात्र हाल्न पाउनेछन ।

राष्ट्रियसभाको निर्वाचन भने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि मात्र हुनेछ । यो निर्वाचन पनि २०७४ माघ ७ भित्रै हुनेछ ।

२०७४ भदौ, १६

दमकको ओम सत्य साई ट्रेडसमा भिषण आगलागी, २ करोड भन्दा बढीको लत्ता कपडा जले


झापाको दमक ६ स्थित वेलडाँगी रोडको ओम सत्य साईराम ट्रेडसमा भिषण आगलागी हुँदा २ करोड भन्दा बढीको लत्ता कपडा जलेर नष्ट भएको जनाइएको छ । रेनुका पराजुली प्रबन्ध निर्देशक रहेको यस ट्रेडर्समा २ करोड भन्दा बढीका सामान जलेको संचालक गणेश पराजुलीले बताउनु भयो ।
विद्युत सर्टभई आगो लागेको हुन सक्ने जनाइएको छ । ढेड घण्टाको प्रयासमा आगोलाई स्थानीयवासी, प्रहरी र दमक नगरपालिकाको दुईवटा दमकलले नियन्त्रणमा लिएको छ । प्रहरीले भने यसको विवरण संकलन गर्ने कार्य जारीरहेको जनाएको छ । 

२०७४ भदौ, १६

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...