१५ जेठ,दमक/ झापाको दमकमा सम्पन्न प्रथम मिस दमक २०१६ को उपाधि रुजु ढकालले हात पारेकी छन् । शुक्रबार रेडक्रस भवन दमकमा भएको ग्राण्ड फिनालेमा अन्य १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम मिस दमक बन्न सफल भएकी हुन् । एड लिङ्ग एडभरटाईजिङ एजेन्सीको आयोजना तथा कौचा कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेडको मुख्य प्रायोजनमा भएको सो प्रतियोगितामा सेकेण्ड रनरअपको उपाधि सोयाश्री बज्रचार्यले हात पार्दा फस्ट रनरअप भने मेरिना विश्वकर्मा भइन् ।
सत्र प्रतिस्पर्धीको पहिलो प्रस्तुतिबाट टप टेन छनोटमा दश निर्णायक रहेको सो फिनालेका निर्णायकले उनीहरुको परिचय तथा प्रस्तुतिबाट अन्तिम दश छनोट गरेका थिए । अन्तिम दशमा प्रबेश पाएकाहरुलाई दश निर्णायकले प्रतिस्पर्धी आँफैले तानेको टोकनमा जुन निर्णायकको नाम परेको थियो सोहि निर्णायकले प्रश्न सोधेका थिए । सोहि प्रश्नको जबाफका आधारमा दश निर्णायकले टप टेनबाट टप फाइभ छनोट गरेका थिए । टप टेनमा सोधिएको प्रश्नको केहि प्रतिस्पर्धीले जबाफ दिन नसक्दा सम्भावना भएरपनि बाहिरीनु परेको थियो ।
त्यसपछि अन्तिम पाँचमा पुगेका उनीहरुलाई तपाइ मिस दमक हुनुभयो भने दमकलाई ग्रिन सिटी बनाउन तपाइको कस्तो भुमिका हुनेछ भन्ने एउटा साझा प्रश्न सोधिएको थियो । त्यस प्रश्नको जबाफ उनीहरुलाई तीन मिनेट भित्र लेख्न भनिएको थियो । सोहि समय भित्र उनीहरुले खेलेको आ–आफ्नो जबाफ करिब पाँच सय बढी दर्शकका माझ आँफै पढेर सुनाएका थिए । सोहि जबाफका आधारमा प्रतियोगिताको विजेता छनोट गरिएको थियो । जसमा ढकालले बाजी मारिन ।
त्यस्तै प्रतियोगितामा अन्य दश विधाका उत्कृष्ट पनि छनोट गरिएको थियो । जसमा मिस ट्यालेन्ट र बेष्ट आइजको उपाधि सोयाश्री बज्रचार्यले हात पारिन भने बेष्ट स्किनको उपाधी श्रृजना अधिकारीले, बेष्ट स्माइलको उपाधि गरिमा प्रधानले, बेष्ट हेयरको उपाधि आशिका राईले, बेष्ट क्याटवाकको उपाधि सिम्रन गजमेरले, बेष्ट पर्सनालिटीको उपाधि मौसम सुब्बाले, बेष्ट फ्रेण्डसीपको उपाधि काजोल क्षेत्रीले, बेष्ट फोटोजेनिकको उपाधि करुणा तामाङ्गले र पब्लिक च्याइसको उपाधि रक्षा सुब्बाले हात पारेका थिए ।
प्रतियोगिता सशस्त्र प्रहरीबल पाथिभरा गणका गणपति भरतबाबु कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।