Thursday, July 23, 2020

हराईरहेका ३ बालक सिमसार क्षेत्रमा मृत फेला

झापा।  झापाको भद्रपुर नगरपालिका-२ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । 

बुधवार दिउँसो २  बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल तामाङको १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामी नयाँ सिमसार क्षेत्रमा मृत फेला परेका हुन् ।
 खेल्न भनी गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएकोले खोजतलास गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सोही सिमसार क्षेत्रमा मृत फेला परेका थिए  भने अन्य २ जना बालक फेला नपरेपछी आफन्तले प्रहरीमा खबर गरे संगै  घटनास्थल तर्फ खटिएको प्रहरी टोलीले फेला परेका मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी भद्रपुर अस्पताल पठाईको र अन्यको खोजी शुरु गरेको थियो । 
हराई रहेका अन्य २ जना बालकलाई १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

पीसीआर ल्याब छिटो सञ्चालन गर्न झापाका राजनीतिक दलको सरकारसँग माग

बिर्तामोड/ एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पीसीआर ल्याब छिटो सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् ।

सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पीसीआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि तयार हुँदै छ । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन अनुमतिको पर्खाइमा छ ।
अभियानले ल्याब तयार पारिसकेपछि सरकारलाई हस्तान्तरण गर्नेछ । सञ्चालनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने गरी हस्तान्तरण गर्न राजनीतिक दलका प्रमुखहरुका राय छ । अभियानले यसअघि नै ल्याब निर्माण सम्पन्न गरेर सरकारलाई जिम्मा लगाउने बताइसकेको छ ।
बिहीबार ल्याब रहेको भवनमा भएको छलफल कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापा, महासमिति सदस्य देउमान थेवे, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी, दिपेनबाला राई, राप्रपा झापाका सचिव केशवराज ओझा, कनकाईका नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेल लगायतले संघीय र प्रदेश सरकारसँग ल्याब सञ्चालनको अनुमतिका लागि जोडदार माग गरेका हुन् ।
छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, झापाका निमित्त प्रहरी प्रमुख राकेश थापा, अनारमनीका प्रहरी प्रमुख मुकुन्द रिजाललगायत अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।
पीसीआर ल्याब साउन १० गतेभित्र तयार हुने र सञ्चालनका लागि सरकार सकारात्मक बन्नुपर्ने अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् । ल्याब स्थापना हुने समर्पण भवनमा आवश्यक संरचना निर्माण, घेराबारा, वायरिङ, एसीलगायत उपकरण राख्ने टेबल जडान कार्य सकिएको उनले जानकारी दिए ।
ल्याबका लागि आवश्यक पीसीआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । 
पीपीईलगायत थप किट प्रदेश सरकारले परीक्षण सुरु भएपछि व्यवस्थापन गर्ने बताइएको छ ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५/२५ लाख रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिसकेको छ ।
प्रदेश १ मा सङ्कलन भइरहेको र्यालको नमुना सङ्ख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्ला झापा हो । अब झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट सङ्कलित नमुना परीक्षणमा सहज हुनेछ ।

Monday, July 13, 2020

गौरीगञ्जका ३ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाको गौरीगञ्ज गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउँपालिकाबाट पठाइएका ३७ जनाको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको क्वारेन्टाइन फोकल पर्सन अनुप शर्माले जानकारी दिनु भयो ।

वहाँका अनुसार कोरोना पुष्टि हुनेमा वडा नम्बर ५ का दुई जना र वडा नम्बर ६ का एक जना छन् । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमण पुष्टि भएका वडा नम्बर ५ का १९ र २२ वर्षीय पुरुष हुन भने वडा नम्बर ६ का २१ वर्षीय हुन् ।

संक्रमण पुष्टि भएकाहरुलाई गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको फोकल पर्सन शर्माले
जानकारी दिनु भयो । योसँगै गौरीगञ्जमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ पुगेको छ ।

दमकका थप एक जनामा कोरोना पुष्टि

दमक। झापाको दमक नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दमकका कोरोना संक्रमितको संख्या १० पुगेको छ । आइतबार दमकबाट पठाइएका ३२ जनाको स्वावको पिसीआर परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेमा काँकडभिट्टा नाकाहुँदै भारतबाट २५ गते आएर मानसरोबर क्वारेन्टाइनमा बस्दै आएका ४३ वर्षीय पुरुष छन् । श्रोतका अनुसार उनी दमकको वडा नम्बर ८ का हुन् । संक्रमण पुष्टि भएसँगै उनलाइ गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा पठाइएको छ ।
दमकबाट पीसीआर परीक्षणका लागि २४ जना पुरुष र ८ जना महिलाको स्वाब संकलनगरी पठाइएको थियो । स्वाव पठाइएकामा दमकको मानसरोबर क्वारेन्टाइनका १६ जना थिए भने महिला क्वारेन्टाइनका ३ जना र अस्पतालका ७ जना थिए ।
त्यस्तै होम क्वारेन्टाइनका ६ जना थिए । रिपोर्ट नेगेटिभ आएका मध्ये क्वारेन्टाइनबाट आज १२ जना घर फर्किएका छन् । दमकका संक्रमित मध्ये ६ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
x

Sunday, July 12, 2020

शिवसताक्षी नगरपालिकाका ९ घर परिवार विस्थापित

दमक। लगातारको वर्षासँगै झापाको कन्काइ नदिमा आएको बाढीका कारण शिवसताक्षी नगरपालिकाका ९ घर परिवार विस्थापित भएका छन् । 
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्रकुमार शेर्माले कन्काइमा आएको बाढीले वडा नम्बर १० का ९ घरपरिवार विस्थापित भएको बताउनु भयो ।
वहाँका अनुसार शिवसताक्षीको वडा नम्बर ६ को पुरानो शिवगञ्ज बजार क्षेत्रमा पनि कन्काइको पानी पसेका कारण ढुवान भएको छ । 
लगातारको बर्षाका कारण सोक्षेत्रमा कन्काइले क्षति पुर्याउन थालेपछि अहिले झापाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सो क्षेत्रको निरीक्षण गरिरहेको पनि नगर प्रमुख शेर्माले जानकारी दिनुभयो । 
शिवगञ्ज बजारमा खोला उत्तर पटीबाट पसेर डुवान भएको पनि शेर्माले बताउनु भयो ।

Wednesday, February 7, 2018

पथरीलाई पराजित गर्दै आयोजक फाइनलमा, उपाधिका लागि राष्ट्रिय जागृतिसँग भिड्ने

उत्तम रिजाल, झापा – पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक गुहेश्वरी युवा क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयसम्म २–२ को बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजकका जर्सी नम्बर–१५ का निशान लिम्बु, जर्सी नम्बर–२३ का अशोक खबास, जर्सी नम्बर–१० का तीर्थ बस्नेत र जर्सी नम्बर–४ का निरज बस्नेतले गोल गरेका थिए।
आयोजकका जर्सी नम्बर–३ का सुरेन खबासको प्रहार पथरीका गोल रक्षक अर्जुन बस्नेतले विफल तुल्याएका थिए। पथरीका तर्फबाट जर्सी नम्बर–१७ का दिपक राई, जर्सी नम्बर–११ का साइमन लिम्बु र जर्सी नम्बर–३ का कवि राईले मात्र गोल गर्न सके।
कप्तान मीन धिमालको प्रहार आयोजकका गोल रक्षक किशोर गिरीले विफल बनाएका थिए। त्यस्तै, जर्सी नम्बर–४ का सुवास तामाङको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो।
यद्यपि खेलमा अग्रता पथरीले पहिलो हाफको ३२औं मिनेटमा साइमन लिम्बुको गोलबाट लिएको थियो। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। साइमनले नै पहिलो हाफकै इन्जुरी समयमा थप अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
तर, पहिलो हाफमा दुई शुन्यले पछि परेको आयोजकले दोश्रो हाफको छैटौ मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्काको गोलबाट अग्रता कम गरेको थियो। दोश्रो हाफको २४औं मिनेटमा पथरीका जर्सी नम्बर–१० का सुमन राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
उनले आयोजकका जर्सी नम्बर–२३ का अशोक खबासमाथि हातपात गरेपछि रेफ्री लोकराज ढुङ्गानाले रातो कार्ड दिएका हुन्। त्यसपछि दश खेलाडीमा सीमित भएको पथरीविरुद्ध झनै आक्रामक देखिएको आयोजकले दोश्रो हाफको ३५औं मिनेटमा बराबरी गर्यो।
उसका निरज बस्नेतले डिबक्सभित्र निशान लिम्बुले दिएको क्रस पासमा दर्शनीय गोल गरेका थिए। यसअघि, खेल शुरु भएको ९औं मिनेटमा अयोजकका जर्सी नम्बर–१० का तीर्थ बस्नेतको प्रहार बायाँ पोलमा लागेर बाहिरिएको थियो।
दोश्रो हाफको इन्जुरी समयमा आयोजकका कप्तान सुरेन थापाको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच विजयी टिमका निरज बस्नेत भए। उनले ट्रफी तथा नगद दुइ हजार प्राप्त गरे।
अब आयोजकले उपाधिका लागि सुनसरीको राष्ट्रिय जागृतिसँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 
राष्ट्रिय जागृतिले यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा सयपत्री फुटबल क्बल पाँचथरलाई ३–१ ले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले पचास हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन्।
२०७४ माघ,  २५

Tuesday, February 6, 2018

एपीएफलाई टाइब्रेकरमा पछि पार्दै पथरी फुटबल क्लब सेमिफाइनलमा

उत्तम रिजाल, झापा – शसस्त्र प्रहरी बलको एपीएफ क्लब झापालाई टाइब्रेकरमा ५–३ ले पछि पार्दै पथरी फुटबल क्लब मोरङ्ग झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृती कप फुट्बल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।


निर्धारीत ७० मिनेट सम्म खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शसस्त्रका जर्सी नम्बर ८ का उज्वल राईको प्रहार क्रसबारमा लागेर फर्किएपछि एपीएफको अघिल्लो चरण पुग्ने सपना अधुरै भएको हो।
विजयी टिमका लागि जर्सी नम्बर १५ का सुमन राई, जर्सी नम्बर ८ का साइमन लिम्बु, जर्सी नम्बर ४ का मिन धिमाल, जर्सी नम्बर १२ का सुबास तामाङ्ग र जर्सी नम्बर ३ का कबी राईले गोल गरेका थिए ।

उता पराजित शसस्त्रको तर्फबाट भने जर्सी नम्बर १० का सुशील राई, जर्सी नम्बर ४ का अभिषेक लिम्बु र जर्सी नम्बर ५ का पवन बस्नेतको प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर १२ का सुबास तामाङ्ग घोषित भए।

उनलाई कमल गाउँपालिकाका खेलकुद विकास समितिका सह–सम्योजक तेज कुमार राईले ट्रफी प्रदान गरे। त्यस्तै आयोजकका अध्यक्ष कृष्ण कार्कीले नगद २ हजार पुरस्कार प्रदान गरेका थिए। यो खेलसँगै प्रतियोगितको सेमिफाइनल समीकरण पनि पुरा भएको छ।

मंगलबार पहिलो सेमिफाइनलमा राष्ट्रिय लिग खेलेका खेलाडीहरुले भरिएको सयपत्री फुट्बल क्लब पाँचथर र राष्ट्रिय जागृती फुटबल क्बल सुनसरी आमने–सामने हुनेछन्। प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ११ र उप–विजेताले नगद ५० हजार पाँच सय पचपन्न रुपैयाँसँगै ट्रफी हात पार्नेछन्। खेल गुहेश्वरी युवा क्लबले आयोजना गरेको हो। 

२०७४ माघ, २३

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...