उत्तम रिजाल, झापा। नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा तर्फका
उमेदवार डा. खगेन्द्र पाण्डव अधिकारीले अरुलाई ‘टुरिष्ट’ देख्ने केपी
शर्मा ओली आफैँ टुरिष्ट भएको बताएका छन्।
विशेष संवाद गर्दै अधिकारीले भने, ‘कैलालीमा
डा. आरजु राणा देउवालाई टुरिष्ट देख्ने, यसै क्षेत्रमा चुनाव लड्दा गोपाल
किराँतीलाई टुरिष्ट देख्ने, वाम गठबन्धन बाहेकका अन्य उमेदवारलाई टुरिष्ट
देख्ने केपी ओली आँफै टुरिष्ट हुन्।’
कांग्रेस नेता अधिकारीले अाेली तेह्रथुमबाट
पृथ्वीनगरमा आएकाे उल्लेख गर्दै बसाइँ सरेर फेरि पछि दमक आएकाे बताए। उनले
अाेली अहिले भक्तपुरबासी भएकाे टिप्पणी गरेका छन्। ‘उनी चाँहि कसरी याे ठाउँका स्थानीय भए म
अचम्ममा परेको छु,’ अधिकारीले ओली दमकबाट भक्तपुर बसाइँ सरिसकेको र उनी २१
गतेको निर्वाचनमा भक्तपुरको बाल्कोटबाट भोट हाल्न उतै गइसकेकाले अरुलाई
टुरिष्ट देख्ने उनका आँखाले आफूँलाई चाँहि किन देखेन भनेर प्रतिप्रश्न गरे।
अधिकारीले वाम गठबन्धनबाट उमेदवारी दिएका
अन्य जिल्लाका नेतालाई ओली भोट माग्दै हिँडेको देख्दा अचम्म लागेको पनि
बताए। अधिकारीले नेपाली नागरिक देशको जुनसुकै क्षेत्रबाट लड्ने अधिकार भएको
पनि बताए। सरकारको नोकरबाट जनताको नोकर हुन आफूँले
उमेदवारी दिएको जनाउँदै लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई भोट
दिन पनि अधिकारीले अपिल गरेका छन्।
उनले अहिले लोकतन्त्र धरापमा पार्ने
षड्यन्त्र भइरहेको पनि दावी गरे। अधिकारीले मुलुक अधिनायकवादतर्फ जानबाट
रोक्न लोकतन्त्र पक्षधरहरु एक हुने बेला आएको उल्लेख गरे। अधिकारीले आफू
यसै क्षेत्रको स्थायी बासिन्दा भएको र यहाँको हरेक विषय वस्तुको जानकार
भएको पनि बताएका छन्।
उनले आदिवासीहरुको चिहान भत्काएर आदिबासी
रंगशाला बनाउन गरिएको सहमति तोड्दै हजारौं आदिबासीहरुको अपमान गर्ने ओलीलाई
यस क्षेत्रका जनताले चिनिसकेको र त्यसको सजाय मंसिर २१ गते मतपत्रबाट दिने
बताएका छन्।
एक लाख ३७ हजार मतदाता रहेको झापा क्षेत्र
नम्बर–५ मा ९५ हजार मत खस्ने आँकलन गरेका अधिकारीले आफूले ५० हजार मत
ल्याएर जीत हात पार्ने दावी समेत गरेका छन्।
२०७४,मंसिर १८
२०७४,मंसिर १८






