Wednesday, December 7, 2016

इन्डोनेसियामा शक्तिशाली भुकम्प

एजेन्सी मंसिर २२, २०७३    इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले कयौं घर भत्किएका छन् । ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पपछि अधिकांश घरहरु भत्किएका छन् । भत्किएका घरहरुमा फसेकाहरुको उद्धार तिब्र बनाईएको छ ।  सन् २००४ मा आचेमै गएको ९ दशमलव २ रेस्टर स्केलको भूकम्पपछि सुनामी गएको थियो । तर, अहिले भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ । 

कार्यविभाजनलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टी

 काठमाडौं, २१मंसिर , २०७३ ।   संगठनात्मक कार्यविभाजनलाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टी बढेको छ ।
पोलिटब्युरो बैठकमा संगठनात्मक संरचनाका विषयमा छलफल भईरहेका बेला पार्टीको आन्तरिक कार्यविभाजनप्रति कतिपय नेताले तीब्र असन्तुष्टी जनाएका छन् । सचिवालय सदस्य शशी श्रेष्ठले आफु भन्दा कनिष्ठलाई हेडक्वाटरमा राखेर पाखा लगाएको भन्दै पदबाट राजीनामा दिनुभएको छ । बैठकबाट रुँदै वाहिर निस्किएकी श्रेष्ठले बैठकमै पार्टी अध्यक्ष पुष्पकमल दाहालसामू सचिवालय सदस्यबाट राजीनामा दिएको बताउनभयो । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा संगठनात्मक विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको हो । बैठकमा अन्य कार्यबिभाजनबारे छलफल जारी छ ।

Tuesday, December 6, 2016

सन् २०२५ सम्म डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरिसक्ने

१८ मंसिर , २०७३  वायु प्रदुषण नियन्त्रण गर्ने भन्दै फ्रान्स,  स्पेन,  मेक्सिको र ग्रीसले सन् २०२५ सम्म डिजेलबाट चल्ने सवारी साधन विस्थापित गरिसक्ने बताएका छन् ।
 मेक्सिकोमा भएको वातावरणीय सम्मेलनमा सो चारै देशले सो घोषणा गरेका हुन् । सम्बन्धित मुलुकका अधिकारीले  सर्वसाधरणलाई साइकल पैदल  अथवा  अन्य बैकल्पिक सवारीसाधनको प्रयोग गर्न आग्रह गरेका  छन्  । बिश्वका ऐतिहासिक शहर फ्रान्सको पेरिस,स्पेनको मड्रिड मेस्किको र ग्रीसको एथेन्समा वास्तविक सुन्दरतामा कमी आउन नदिने  योजनाका साथै मानव स्वास्थ्य र पर्यावरण जोगाउनका लागि समेत यो कदम चालिएको  सरकारी अधिकारीले जनाएका छन् ।   

विश्व स्वास्थ्य संगठनका अनुसार  हरेक बर्ष  वायु प्रदुषणका  कारण  मात्र ३० जनाको मृत्यु हुने गरेको  छ । जलबायु संकटलाई कम गर्न यो कदम स्वागतयोग्य भएको बिश्लेषण गरिएको छ । 

Wednesday, November 30, 2016

संविधान संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

१५ मंसिर,२०७३,काठमाडौं।   प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुक ध्वस्त पार्ने निष्कर्ष निकाल्दै भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको छ।
बुधबार संसद भवन नयाँ बोश्वरमा बसेको बैठकले संविधान संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। गौतमले भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्नसमेत आफ्ना सांसदहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

‘यो संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन सकेको छैन,’ गौतमले भने,‘यसले संविधानको उल्लघंनमात्र गरेको छैन,मुलुक नै ध्वस्त हुने गरी ल्याइएको छ।’एमालेले संविधाव संशोधनको आधार र औचित्य पुष्टि गर्न यसअघि सरकारलाई आग्रह गर्दै आएको थियो। तर सरकारले मंगलबार राति संशोधन प्रस्ताव दर्ता गराएपछि एमाले संसदीय दलको बैठकले औपचारिक धारणा सार्वजनिक गरेको हो। एमालेले कुनै पनि हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने रणनीति अपनाउने भएको छ।

एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङले प्रदेश सभा गठन भएको अवस्थामा रुपान्तरित संसदले  संविधान संशोधन गर्न नसक्ने बताए। उनले सरकारले सर्वोच्च अदालतको अपहेलना  गरेकोसमेत आरोप लगाए। संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपालका जिल्लामा बुधबार विहानैदेखि आन्दोलन सुरु भएको छ। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठानलगायतका जिल्ला बन्दको आह्वानसमेत गरिएको छ।

संविधान संशोधनको औचित्य छैन : लोहनी

१५ मंसिर,२०७३, पाल्पा – राप्रपा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अहिले संविधान संशोधनको कुनै औचित्य नरहेको बताउनुभएको छ । 
राप्रपा पाल्पाले बुधबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता डा. लोहनीले प्रदेशको ‘सीमा परिवर्तन किन ?’ भनेर सरकारले पुष्टी गर्न नसकेको भन्दै नागरिक र जनप्रतिनिधिको माग तथा भावना विपरित भएको सीमा परिवर्तनसहितको संविधान संसोधन प्रस्तावले कसैको हित नगर्ने बताउनुभयो ।
मधेसका जिल्लासँग पहाडी जिल्ला मिसिन हुँदैन भन्ने निहित सिद्धान्तले ५ नम्बर प्रदेशलाई फुटाइएको भन्दै सरकारको यो गैरजिम्मेवार कामले नेपालको राष्ट्रियतालाई हित नगर्ने उहाँको भनाई छ ।
सुनसरी, मोरङ र झापाको विषयमा अध्ययन गर्न आयोग बनाएर अघि बढे जस्तै पाल्पा, रुपन्देही, गुल्मी लगायतका पहाडी जिल्लाको विषयमा पनि आयोग बनाएर अघि सर्नुपर्नेमा उहाँको जोड छ ।  
‘संविधान लागु भएपनि कार्यान्वयनका लागि समयमै तीनै तहको चुनाव हुनुपर्छ’, पूर्व अर्धमन्त्री समेत रहनुभएका नेता लोहनीले भन्नुभयो ‘चुनाव नभए संविधान संकटमा फस्नेछ ।’

संविधान संशोधनको विरोधमा पश्चिम नेपाल अशान्त




१५ मंसिर,२०७३, काठमाडौं   सरकारले मंगलबार संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा पश्चिम नेपाल आन्दोलित भएको छ।
विशेषगरी पाँच नम्बर प्रदेश टुक्रउने प्रस्तावको विरोधमा बुटवलमा विहानैदेखि पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले पूर्व–पश्चिम तथा उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प बनाएका छन्। उनीहरुले पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्युठानलगायत पहाडी जिल्ला अलग गर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

यसैगरी सरकारले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाएको भन्दै प्युठानबासी पनि आन्दोलित भएका छन्। उनीहरुले पाँच नम्बर प्रदेश पहाडी जिल्ला यथावत राख्नु पर्ने भन्दै प्युठान बन्द गरिएको छ। बुधबार विहानैदेखि बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा गरिएको छ। प्युठानमा  सार्वजनिक यातायात पुर्ण रुपमा बन्द छन् । विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीहरुले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन् ।

सत्तापक्ष  र विपक्ष दलले संयुक्त रुपमा संघर्ष समिति बनाई बिरोध गरेका छन्। मधेसी दललाई फकाउन सरकारले पहाडी जिल्लालाई छुट्टयाएर प्रदेशको सीमा फेरबदल गरे प्युठानी जनताले सहेर नबस्ने चेतावनी दिएका छन् ।

पूर्व घोषित ५ नं प्रदेशबाट प्युठान र रोल्पालाई छुट्याउने निर्णय भएपछि रोल्पा र प्यूठानको संयुक्त रुपमा संघर्ष समिति समेत बनेको छ। यसैगरी सीमाकंन हेरफेरसहित संविधान  संशोधन विधेयक संसदमा दर्ता गरिएको विरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्द आह्वान गरिएको छ।  पाँच नम्बर प्रदेश अन्तर्गतको पहाडी  जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा भाग्ने प्रस्ताव गरेको भन्दै उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार जिलमा रहेका विभिन्न क्रियाशील संघसंस्थाको आयोजनामा जिल्ला बन्द गरिएको हो। बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन विहानैदेखि ठप्प रहेको  राससले जनाएको छ।

यसैगरी पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने प्रस्ताव गरेको भन्दै अनिश्चिकालीन गुल्मी बन्दको आह्वान गरिएको छ। उद्योग वाणिज्य संघ  गुल्मीको आयोजनमा  जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, नेपाल पत्रकार संघका प्रतिनिधिसहितको भेलाले अनिश्चितकालीन गुल्मी बन्दको आयोजना गरेको हो।
पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने प्रस्तावको पाल्पामा पनि विरोध भएको छ। जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधिले आफूहरुको माग पूरा नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

संविधान संशोधन प्रस्तावको विरोधमा जनमोर्चाद्धारा आन्दोलनको घोषणा

१५ मङ्सिर २०७३, 
काठमाडौं– राष्ट्रिय जनमोर्चाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर प्रकार संकट पैदा गरेको जनाएको छ।  जनमोेर्चाले संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनको घोषणासमेत गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चाले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव विरुद्ध देशव्यापी एकल र संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ। ‘सरकारले १४ गते राति संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको हाम्रो पार्टीले उक्त राष्ट्रघाती र जनविरोधी प्रस्तावको विरुद्ध देशव्यापी रुपमा एकल र संयुक्त संघर्ष गर्ने ठेनाग गरेको छ,’ राष्ट्रिय जनमोर्चाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

उसले मधेसी दलको मागलाई सम्बोधनगर्ने नाममा संसदमा दर्ता गरिएको संशोधन प्रस्तावले मुलुकको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर प्रकारको संकट पैदा भएको जनाएको छ। राष्ट्रिय जनमोर्चाले संशोधन प्रस्तावको विरोधमा बुधबार रत्नपार्कस्थित शान्ति वाटिकामा विरोध सभा गर्ने जनाएको छ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...