Friday, July 22, 2016

केसी र सरकारपक्षबीच दुई चरणको वार्ता सकिएपनि प्रगती हुन सकेन

७ श्रावण , २०७३  /    स्वास्थ्य सेवा र शिक्षामा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा. गोविन्द केसी र सरकारपक्षबीच दुई चरणको वार्ता सकिएपनि प्रगती भने केही हुन सकेको छैन । आज १२ बजेदेखि बसेको दोस्रो वार्तापनि चार घण्टा चलिसक्दासम्म उपलब्धी मुलक हुन सकेको छैन । 


स्रोतका अनुसार विज्ञहरुसँग थप सल्लाह गर्ने भन्दै सरकारी पक्षको आग्रहमा केही समयलाई वार्ता स्थगित गरिएको छ । साँझ फेरि वार्ता हुने सम्भावना कायमै छ । डा. केसीले उठाएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग संसदको कार्यक्षेत्र भित्र पर्ने भएकाले सरकारी पक्ष त्यस बुँदामा छलफल गर्न चाहेको छैन । त्यस बाहेकका बुँदामा छलफल भएपनि निष्कर्ष भने केही नआएको वार्तामा सहभागी केसी पक्षका एकजना चिकित्सकले बताए ।  

कार्यसूचीको विवाद मिल्यो, आश्रित विधेयक र अविश्वास प्रस्ताव पेश हुँदै

 ७ श्रावण, २०७३ / बजेटसँग सम्वन्धित विधेयक र प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव आजै सदनमा छलफल शुरु गर्ने गरी प्रमुख दलहरुवीच संसदको गतिरोध अन्त्य गर्न सहमति भएको छ । 


केहिबेरमा बस्ने बैठकमा आश्रित विधेयकको टुङ्गो लागेपछि अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउने सहमति भएको हो । दुई पक्षले आफ्नो अडान नछाडेपछि दलहरुले एकैदिन आश्रित विधेयक र अविश्वास प्रस्ताव अघि बढाउने सहमति गरेका हुन् । माओवादीले भने आश्रित विधेयकको विपक्षमा मतदान गर्ने स्रोतको भनाई छ । यसअघि नयाँ गठबन्धन बनाएका नेपाली कंग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता नलिने निर्णय गरेका थिए । सिंहदरवारमा बसेको तीन पक्षको बैठकले कंग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको सहमतिको प्रस्ताव अस्वीकार गर्दै अविश्वास प्रस्ताव कायम राख्ने निर्णय गरेको हो । बैठकपछि कंग्रेस नेता विमलेन्द्र निधिले अविश्वास प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले वीर अस्पतालको भवन बनाउन ७ सय रोपनी जग्गा उपलव्ध गराउने

७ श्रावण, २०७३ /  सरकारले वीर अस्पतालको आधुनिक भवन बनाउन भक्तपुरको दुवाकोटमा ७ सय रोपनी जग्गा उपलव्ध गराउने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले वीर अस्पताल नयाँ स्थानमा बनाउन जग्गा दिने निर्णय गरेको हो । 

त्यस्तै, मुस्ताङको लोमाथाङ्कामा रहेको युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । मन्त्रीपरिषद्ले राष्ट्रिय अनुसन्धान नीति कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । स्वदेशी विज्ञापन तथा टेलिभिजनलाई प्रोत्साहन गर्नका लागी विदेशी च्यानल र विज्ञापनलाई क्लिन फिडको नियम लगाउने निर्णय भएको मन्त्री राईले जानकारी दिनुभयो ।

विदेशी टेलिभिजनले अब बिज्ञापन रहित सामाग्रि मात्र प्रसारण गर्नुपर्ने

७ श्रावण, २०७३ /  नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले अब बिज्ञापन रहित सामाग्रि मात्र प्रसारण गर्नुपर्ने भएको छ । सरकारले आम सञ्चार नीति पारित गरेसँगै विदेशी टेलिभिजन च्यानललाई विज्ञापन रहित बनाउने क्लिन फिड स्वीकृत गरेको हो । 


मन्त्रिपरिषदको आजको बैठकले विदेशी टेलिभिजनमा क्लिन फिड लागू गर्ने प्रस्तावसहितको आम सञ्चार नीति पारित गरेको हो । नीति लागू भएमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले अब विदेशी विज्ञापन देखाउन पाउने छैनन् । मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार मन्त्री शेरधन राईले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीहरुलाई प्रोत्साहन गर्न नीति लागू गरिएको बताउनुभयो । एड्भर्टाइजिङ एशोसिएशन अफ नेपाल आन ले क्लिन फिड नीति लागू गर्न माग गर्दै आएको थियो ।

सिंहदरबारको पुर्वी गेटमा प्रदर्शन

७ श्रावण , २०७३ /  थरुहटर थारुवान संयुक्त संघर्ष समितिले सिंहदरबारको पुर्वी गेटमा प्रदर्शन गरेको छ । दोश्रो चरणको आन्दोलन स्वरुप समितिले आज सिंहदरबारमा लालटिन जुलुस, प्ले कार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो । 

यसअघि समितिको निर्धारित आन्दोलनका कार्यक्रम अनुरुप न्युरोडमा असार ३१ गते सोही प्रकृतिको प्रदर्शन गरेको थियो । पहिलो चरणमा उपत्यका लगायत तराईका २२ वटा जिल्लाका विभिन्न स्थानमा लालटिन जुलुस प्रदर्शन गरेको समितिले साउन १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने, २२ गते ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यलय अगाडि प्रदर्शन गर्ने उपत्यका आन्दोलन परिचालन समितिका संयोजक सत्यनारायण चौधरीले जानकारी दिनुभयो । प्रदेश  सिमांकनमा असन्तुष्टी जनाउँदै आएको समिति ६ महिनादेखि नै आन्दोलनरत छ ।

नवयुग वर्ष खेलाडी ,नमिता पिपुल च्वाइस

६ श्रावण, २०७३  काठमाडौं /   नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभूवन आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले वर्ष खेलाडीको उपाधी जितेका छन्। 

आज राजधानीमा आयोजित ‘पल्सर स्पोर्टस् अवार्ड–२०७२’ मा नवयुग पुरुषतर्फ वर्ष खेलाडी  घोषित भएका हुन्। उनले फुटबलका विकेश कुथु,भारोक्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरालाई पछि पारे। 

त्यस्तै, महिलातर्फ जुडोकी फुपु ल्यामु खत्री महिला वर्ष खेलाडी २०७२ घोषित भइन्। उनले उसुकी निमा घर्ती मगर, स्विमिङकी गौरिका सिंह, ट्रयाल्याथोनकी रोजा केसीलाई पछि पारिन्। पिपुल च्वाइस अवार्ड भने टेवल टेनिसकी नमिता श्रेष्ठले जितेकी छन्। एसएमएस तथा फेसबुक भोटको आधारमा चुनिने पिपुल च्वाइस अवार्डमा उनले क्रिक्रेटका सन्दिप लामिछाने,फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली तथा भरोक्तोलनकी तारादेवी पुनलाई पछि पारिन्।


उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड भने सीता भण्डारीले जितिन्। उनलाई नगद ५० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै, फुटबल प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले फुटबलकै राजुकाजी शाक्य, क्रिक्रेटका जगत टमाटा, उसुका प्रकाश महर्जन तथा जुडोका दलबहादुर गरुङलेलाई पछि पारे। उनले ५० हजार नगद हात पारे। फुटबलकै अन्जन विष्ट युवा वर्ष खेलाडी घोषित भए। उनले क्रिक्रेटका सन्दिप लामीछाने, स्विमिङकी गौरिका सिंह, उसुकी निमा घर्ती मगर, जुडोकी मनिता श्रेष्ठलाई पछि पारे। उनले ५० हजार नगद हात पारे।


सो अवसरमा फिफा रेफ्रि श्रीराम रन्जितकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व। ललितकृष्ण श्रेष्ठलाई फुटबल क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप स्पेशल अवार्ड प्रदान गरिएको छ। त्यस्तै, २३ वर्षपछि राष्ट्रिय टोलीलाई फुटबलमा उपाधि दिलाउन सफल नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम अफ दि इयरबाट सम्मानीत गरिएको छ।

प्रिमियर लिगका स्टारहरूलाई रेफ्रीप्रति सम्मान गर्न चेतावनी


६ श्रावण ,२०७३ /  नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ एफए, प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्। 

खेलाडी र प्रशिक्षकले रेफ्रीलाई घेरेर प्रभावित गर्न खोज्ने, शारीरिक रूपमा छुने र विभिन्न रूपमा निराश पार्ने घटनाका कारण इङ्लिस फुटबलको सर्वोच्च निकायले आफू हैरान भएको जनाएको छ। खेलाडी र प्रशिक्षक सानो उमेरका बालबच्चाहरूको आदर्श हुने भएकाले उनीहरूले जस्तो व्यवहार देखायो, बालबालिकाले त्यही सिक्ने भएकाले पनि खेलाडीहरू सच्चिनुपर्ने बताइएको छ।


अप्रिलमा वेस्ट ह्यामविरुद्धको खेलमा विवादास्पद रूपमा रातो कार्ड पाएपछि लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले रेफ्री जोनाथन मोसलाई गरेको व्यवहार गत सिजनमा ठूलै चर्चाको विषय बनेको थियो। मोसले डाइभिङ गरेवापत भार्डेलाई रातो कार्ड देखाएका थिए। यसैगरी टोटेनह्याम र चेल्सीबीच बराबरीमा सम्पन्न महŒवपूर्ण खेलमा पनि खेलाडी र प्रशिक्षकको व्यवहार रेफ्रीप्रति राम्रो थिएन। जसका कारण दुवै क्लबलाई ठूलो जरिवाना गरिएको थियो। 

एफएले ल्याएको नयाँ नीतिअनुसार यो सिजनदेखि रेफ्रीलाई अपशब्द प्रयोग गर्ने खेलाडीले सोझै रातो कार्ड सामना गर्नुपर्नेछ। यसैगरी आक्रामक रूपमा शरीर छुने गरी केही अपिल गरेमा पनि सोझै रातो कार्ड देखाइने छ। थुप्रै खेलाडीले रेफ्रीलाई घेरेर अपिल गरेमा पनि रेफ्रीले कम्तीमा एक खेलाडीलाई पहेँलो कार्ड देखाउनुपर्नेछ। प्रिमियर लिगका कार्यकारी अध्यक्ष रिचार्ड सुडामोरले आउँदो सिजनदेखि अनुशासनको मामलामा शून्य सहनशीलताको नीति लिइएको बताए।  

खेलाडीजस्तै रेफ्रीलाई पनि कुनै विवादका घटना हुँदा खेलाडी वा प्रशिक्षकलाई छोएर व्यवहार नगर्न निर्देशित गरिएको छ।  

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...