२३ असार , २०७३ / इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदउल फित्र आज हर्सोल्लासका साथ मनाईदैछ । आत्म संयम् र शुद्धिका लागि एक महिनासम्म गरिने रमदान उपवास सकिएको भोलिपल्ट इदउल फित्र मनाउने गरिन्छ ।
आज बिहानै नुहाई धुवाई गरी नयाँ तथा सफा लुगा लगाएर मुस्लिम समुदायका मानिसहरुले इदगाह, मस्जिद र खुला मैदानमा भेला भई सामुहिक नमाज पढ्ने गर्छन् । नमाज पढेपछि सबैले एक आपसमा गला मिलाई शुभकामना आदानप्रदान गर्छन् ।
दानको विशेष महत्व रहेको यो पर्वमा नमाज अघि मुस्लिम धर्मगुरु वा मस्जिदले तोकेको रकम हरेकले दान गर्ने परम्परा छ । सो रकम गरिब, असहाय र अनाथकालागि खर्च गरिन्छ । नमाजपछि तीनदिनसम्म इष्टमित्र, आफन्त, छरछिमेक तथा साथीभाईलाई बोलाएर सेवई, खजुर, मिठाई लगायतका परिकार खाने तथा खुवाउने गरिन्छ । पर्वका अवशरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।
यसैबीच, ईदउल फित्रको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ । धार्मिक तथा सांस्कृतिक विविधतायुक्त मुलुकको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धनमा ईदउल फित्र जस्ता पर्वले महत्वपूर्ण योगदान गर्ने उहाँद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले पनि पर्व मनाई रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।