Wednesday, August 26, 2015

५० लाख दिने घोषणा गर्नेले आन्दोलनको जिम्मेवारी लिनुपर्ने विजुक्छेको भनाई



भदौ ९  , नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आन्दोलनमा आउनेलाई पचास लाख दिने घोषणा गर्ने दलले आन्दोलनका क्रममा भएको घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
'जनतालाई उकास्न ५० लाख दिने घोषणा गर्ने दलले आन्दोलन क्रममा भएको घटनाको जिम्मेवारी दिनुपर्दैन,' बुधबारबाट सुरु भएको संविधानको परिमार्जित मस्यौदामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष बिजुक्छेले भने,'आन्दोलनका क्रममा टिकापुरमा भएको घटनाको ५० लाख दिने भनेर जनता उकास्ने दलले जिम्मेवारी लिनुपर्छ ।'
उनले आन्दोलनमा निशस्त्र प्रहरी पठाउनु र आन्दोलनकारीबीचमा सशस्त्र व्यक्ति रहेको थाहा नपाउने प्रशासनको कमजोरी भएको बताए। सरकारले पुरा गर्न सक्ने माग पहिला नै पुरा गर्नुपर्ने भन्दै आन्दोलनपछि मात्र माग पुरा गर्ने परिपाठी गलत भएको उनको भनाइ थियो ।

संविधानको परिमार्जित बिधेयकमाथि छलफल सुरु

भदौ ९,  संविधानसभामा बुधबारबाट संविधानको परिमार्जित बिधेयकमाथि छलफल
सुरु भएको छ।संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको परिमार्जित विधेयक छलफलका लागि संविधानसभामा पेश गरेपछि विधेयक माथिको छलफल सुरु भएको हो। छलफलको प्रस्ताव पेश गर्दै सिटौलाले असन्तुष्ट पक्षलाई संविधानसभामै आफ्ना भनाइ राखेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरे । 'आफ्ना विचार संविधानसभामै राखेर जान सकिन्छ । बाहिर गएर समस्याको समाधान हुँदैन,' उनले भने । सिटौलाले सार्वभौम, राजकीयसत्ता जनतामा निहीत भएको अवस्थामा ठाउँ ठाउँमा सुरु भएको हिंसाले नागरिकलाई नै कमजोर पार्ने उल्लेख गरे ।

छलफलमा भाग लिँदै प्रधानमन्त्री सुशील कोइरालाले संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भाग जस्तो त्यस्तै समेटिन नसक्ने बताए । संविधान परिवर्नशील दस्तोवज हुने उल्लेख गर्दै प्रधानमन्त्रीले बेला बेलामा परिमार्जन गरेर जान सकिने बताए । 'जसरी पनि संविधान जारी गर्नुपर्छ,' प्रधानमन्त्रीले भने,' केही दुखद् घटना घटेका छन् । हामी सबै मिलेर संविधान दिनु आवश्यक छ।' प्रधानमन्त्री कोइरालाले मुलुकमा अशान्ति मच्चिएको भन्दै त्यसलाई रोक्न सबैसँग अपिल गरेका छन् । 'मुलुकमा अशान्ति मच्चिएको छ,' उनले भने,' जति हिंसा भड्किन्छ, देशलाई घाटा हुन्छ । अहिले पनि म वार्ता र छलफल गर्न तयार छु ।'

छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नागरिकको आफैंले संविधान बनाउने काम अन्तिम चरणको पुगेको भन्दै अवसरको सदुपयो गर्नुपर्ने बताए। अहिले नेपालीहरुले असाधरण र उच्चस्तरी अभ्यास गरेको भन्दै ओलीले मुलुकमा संविधानसभाबाट संविधान बनाउने काम कठिन भए पनि दोस्रो संविधानसभाबाट संविधान बनाउने चरणमा पुगेको बताए । उनले अहिले पनि केही शक्तिहरु संविधान बन्न नदिने चलखेल लागेको भन्दै ओलीले त्यसलाई परास्त गर्दै अगाडि बढ्ने बताए।

Sunday, August 23, 2015

थरुहट तराई पार्टीले संविधानसभा बहिष्कार गर्ने




भदौ ६,काठमाडौं/   थरुहट तराई पार्टी नेपालले संविधानसभा बहिष्कार गर्ने भएको छ। थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै संविधान बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए। उनका अनुसार ६ बजे बस्ने संविधानसभा बैठकमा आफ्नो भनाइ राख्दै बहिष्कार गर्नेछन्। थरुहट तराईका पार्टीका तर्फबाट दुई जना सभासद् संविधानसभामा प्रतिनिधित्व गर्छन्। अर्का सभासद् गंगा थारु विधायन समितिका सभापतिसमेत हुन्।

शीर्ष चार दलले ६ प्रदेशको सीमांकन ल्याउनेवितिकै थरुहट तराई पार्टी नेपाल आन्दोलनमा होमिएको थियो। कैलाली(कञ्चपुरलाई अखण्डमा मिसाएको, थरुहट तराईका जिल्ला पहाडमा मिसाएको, थारु आयोगलगायतका माग गर्दै पार्टीले आन्दोलन गर्दै आएको छ। पार्टीले थारु कल्याणकारिणी सभा, थारु सभासद् र थरुहट संघर्ष समितिलगायतका समूहसँग मिलेर आन्दोलनमा होमिएको छ।

उग्र बन्दै रुकुम आन्दोलन





भदौ ६,   सिंगो जिल्लालाई ५ नम्बर प्रदेशमै राखिनु पर्ने भन्दै रुकुममा थालिएको
आन्दोलन उग्र बन्दै गएको छ । जिल्लाको आधा भाग ६ प्रदेशमा रहनेगरी टुक्र्याइएको भन्दै आक्रोशित रुकुमेलीले आइतवार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

जिल्ला नटुक्र्याउन भन्दै प्रधानमन्त्रीलाई अल्टिमेटम सहितको ज्ञापन पत्र पेश गर्न जिल्ला प्रशासन कार्यालय पुगेका आन्दोलनकारीले कार्यालयमै ढुंगा हानेका थिए । आन्दोलनकारीको प्रहारबाट कार्यालयको साइनबोर्डमा क्षति पुगेको छ । नारा लगाउँदै होहल्लासहित आएका थिए, जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गोविन्द थपलियाले भने, हुलले एकाएक कार्यालयमा ढुंगा हान्न थालेका थिए । थपलीयाले रुकुमको आन्दोलन उग्र बन्दै गएको समेत बताए ।

प्रशासनबाट फर्के लगत्तै जिल्ला प्रहरी कार्यालयमा पनि केही ढुङगा प्रहार भएको थियो । कार्यालय बन्द नगरेको भन्दै नेपाल टेलिकममासमेत ढुङगा प्रहार गरी तोडफोडको प्रयास भएको आन्दोलनकारीले बताएका छन् । ढुङगा प्रहारबाट कार्यालयका सामान्य सिसा फुटेको कार्यालय प्रमुख कृष्ण प्रसाद गौतमले जानकारी दिएका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले भीड तितरवितर पारेको थियो । ुउनिहरु उग्र बन्दै जान थालेपछि प्रहरी बल प्रयोग गरिएको थियो, डिएसपी थपलीयाले भने, प्रहरीले लखेटेपछि उनीहरु भागेका थिए ।

परिमार्जित ७ प्रदेशको सीमांकनमासमेत रुकुमको आधा भाग फिर्ता नभएपछि रुकुमेलीहरुमा आक्रोश चुलिदै गएको छ । उनीहरुले यसअघिको ६ प्रदेशको खाका असन्तुष्टि जनाउँदै दबावमुलक आन्दोलन थालेका थिए। यसैबीच आइतबारबाट आन्दोलनकारीले सदरमुकाममा नाकाबन्दी गरेका छन् । सदरमुकाम खलंगामा पुग्ने तरकारी,दुधलगायतका खाद्य सामाग्रीमा रोक लगाइएको छ । जिल्ला पुर्ण रुपमा बन्द रहेको छ । सरकारीकामकाज समेत पुर्ण रुपमा ठप्प छन् । शनिबार राति पनि रुकुममा राँके जुलुश निकालेर सीमांकनको विरोध गरिएको संघर्ष समितिका संयोजक टेकबहादुर पुनले जानकारी दिए ।

प्रशासनद्वारा निषेधाज्ञा जारी
रुकुममा चलिरहेको सीमांकन विरोधी आन्दोलन आइतबार उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले रुकुममा निशेधाज्ञा जारी गरेको छ । रुकुमका प्रमुख सरकारी निकायमै ढुंगा मुढा भएपछि प्रशासनले कार्यालय क्षेत्र परिसरमा निशेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय,जिल्ला विकास समिति,जिल्ला प्रहरी कार्यालय लगायत महत्वपूर्ण सरकारी निकाय रहेका क्षेत्रमा नाराजुलुस गर्न नपाइने गरी आइतबार स्थानीय प्रशासनले प्रतिवन्ध लगायको डिएसपी थपलीयाले जानकारी दिए । यी सरकारी निकाय नजिक छन् । आन्दोलनकारी उग्र बन्न थालेपछि निशेधाज्ञा जारी गरिएको हो,उनले भने । निशेधाज्ञा अनिश्चितकालीन रहेको पनि उनले बताए ।

बन्दको प्रतिकारमा नेपालगन्जका ब्यवसायी



भदौ ६,नेपालगन्ज/  गत साउन २६ देखिको बन्दले ब्यापार व्यवसाय धरासायी
भएको र बन्दकर्ता तोडफोडमा उत्रिएको भन्दै नेपालगन्जका ब्यापारी बन्द विरुद्ध प्रतिकारमा उत्रिएका छन्। आइतबार ब्यापारीहरुले बन्दकर्ताहरुको विरोधमा प्रतिकार जुलुस निकाले ।

बन्दकर्ताले भाडाका युवा र बच्चाहरु समेत प्रयोग गरि तोडफोडमा लागेको भन्दै ब्यापारी सडकमा निस्किएका हुन्। नेपालगन्ज धम्बोजीमा तयारी पोशाकको ब्यापार गर्दै आएकी ज्ञानुसिँह ठकुरीले बन्दकर्ता अराजक बन्दै गुडेको गाडी तोडफोड गर्ने, व्यापारीमा माथि आक्रमण गर्ने काम गरिरहेको भन्दै बन्दको विरोधमा उत्रिएको बताईन्। मासिक भाडा ५० हजार तिर्नु पर्छु, उनले भनिन्, बन्द भएको १५ दिन भयो ,अव कति सहेर बस्ने, त्यसकारण प्रतिकारमा उत्रियौ। सर्वसाधरणले समेत बन्दको विरोधमा व्यापारीलाई सहयोग गरे। व्यापारी डिल्लीप्रसाद जैसीले संकटालमा पनि यसरी व्यापारी र सर्वसाधारण नागरिकमाथि आक्रमण नभएको बताउँदै अहिलेको बन्द उग्र भएकोले विरोध निकालिएको बताए। यस्तै टेम्पो ब्यवसायी सुदिप क्षेत्रीले १५ दिनदेखि व्यवसायी धराप भएको बताउँदै बन्दको प्रतिकारमा उत्रिनु बाध्यता भएको बताए। घरमा खान लगाउन समस्या भैइसकेको छ, कतिदिनसम्म सहेर बस्ने, उनले भने। व्यापारीले मोटरसाईकल तोडफोड गरिएको र सटक बन्द गराएको भन्दै संयुक्त मधेशी मोर्चाका बन्दकर्तालाई दिउँसो दुई बजे धम्बोजीबाट लखेटेका थिए। बन्दका समर्थकमा रहेका संयुक्त मधेशी मोर्चाको नेताहरु विजय गुप्ता र पशुपति दयाल मिश्रलाई व्यापारीले घेराउ गरेका थिए। उनीहरुलाई प्रहरी र अधिकारकर्मीले होटेलमा लुकाएका थिए ।

सद्‌भावनाका ४ सभासदले दिए राजिनामा




भदौ ६,काठमाडौं/   सद्‌भावना पार्टीका ४ सभासदले राजिनामा दिएका छन्। सभामुख सुवाषचन्द्र नेम्वाङ समक्ष आइतबार उनीहरुले राजिनामा दिएका हुन्। राजिनामा दिनेहरुमा लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी र सञ्जयकुमार साह छन् । जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका साह संसदमा निलम्बित छन्। राजिनामा बुझाउन उनी बाहेक तीन सांसद उपस्थित थिए।

संसदमा सद्‌भावना पार्टीका ६ सदस्य छन्। माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए। सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौुं, कर्णले भने। संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो।

विज्ञप्तिको पूर्ण पाठ


sadvabana

कर्णाली आन्दोलनका घाइतेको उपचारको क्रममा मृत्यु


 भदौ ६,  कर्णाली आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते हरिबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको छ । शिक्षण अस्पताल काठमाडौमा ५ दिनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आइतबार विहान ४ वजे चिकित्सकले घाइते कुवरको मत्यु भएको घोषणा गरेका थिए। साउन ३१ गते विशेष अधिकार सहितको कर्णाली प्रदेश र संघीय संरचनामा कर्णालीलाई सुदुरपश्चिममा जोडिएको विरोधमा थालिएको आन्दालनका बेला प्रहरीले गोली प्रहार गरेर कुँवर सहित १३ जना घाइते भएका थिए । जस मध्ये ३ जनाको काठमाडाै‌ र दुई जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । ताम्ती गाविस– १ का कुवर कमर्स विषय लिएर कनिका निशा उच्च माविमा अध्यायन गर्दै थिए । उनले कर्णाली आन्दोलनमा सहभागी हुनु अघि कर्णाली हक अधिकारको बारेमा वलिदान आवश्यक रहेको बताएका थिए  ।  यसैवीच कर्णाली आन्दोलन परिचालन समिति जुम्लाले कर्णाली उपचारको क्रममा निधन भएका कुँवरको सम्मानमा कुडारी ताम्ती र जाजरकोट सडकलाई हरिबहादुर मार्ग बनाउने निर्णय गरेको छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...