Saturday, April 24, 2021

माओवादी केन्द्रद्धारा वाइसीएल गठनलाई तिब्रता


दमक/ नेकपा माओवादी केन्द्रले योङ्ग कम्युनिष्ट लीग वाइसीएल गठनलाई तिब्रता दिएको छ । उसले आज मात्र झापाको गौरादहमा धर्म चौहानको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गर्नेगरि २७ सदस्यीय गौरादह नगर कमिटी गठन गरेको छ । 

युवा नेता बीरेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटी गठन गरेको हो । कमिटी गठनपछि प्रमुख अतिथि बस्नेतले नेकपा सनक र रहरमा बनेको हैन नेपालका कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गर्ने ऐतिहासिक आवश्यकताका आधारमा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले नेपालका इमान्दार कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउने आभियानमा निरन्तर लागिने समेत बताउनु भयो। त्यस्तै उहाँले भन्नुभयो –केपी ओली विगठन तिर र हामी ध्रुवीकरण तर्फ छौं । 

कार्यक्रममा नेताहरु दुर्गा चौलागाईं , पुष्प ढकाल, हुकुम सिह नेपाली डण्डिराज घिमिरे , कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो । 

Monday, January 11, 2021

दमकका चोक चोकमा दीप प्रज्वलन

 




राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको सम्झनामा आज झापाको दमकका विभिन्न चोकहरुमा दीप प्रज्वलन गरिएको छ ।


दमकको डाँफेमुनाल चोक तथा इलाका प्रहरी कार्यालय अगाडीको चोकमा पहिलो पाईला नेपालको टिम तथा अन्य राष्ट्रवादीहरुको समुहले दीप प्रज्वलन गरेको हो ।

सो अबसरमा पहिलो पाईलाका अध्यक्ष दीपक खड्का, उपाध्यक्ष निशा घिमिरे, शुरेश बराल, सचिव मेघनाथ फुयाँल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै शाही शक्तिका पुर्वाञ्चल प्रमुख लिप्सन बास्तोलासहितको उपस्थिति रहेको थियो भने अर्जुन रेग्मी, भवानी सुवेदी, उमेश लामा, रेवत बस्नेत लगायत राष्ट्रवादीहरुको पनि सहभागिता रहेको थियो ।


दमक चोकमा करिब एक सयको उपस्थिति रहेको थियो भने इप्रका अगाडीको चोकमा पहिलो पाईलाका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । आज देशभर नै २ सय ९९ औं राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती राष्ट्रवादीहरुले मनाएपनि सरकारले भने कुनै कार्यक्रम गरी मनाएन् । त्यस्तै अन्य राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गरेनन् ।




Saturday, January 9, 2021

महिलालाई आत्मरक्षाको तालिम दिंदै लियो क्लब

 

दमकमा सामाजिक कार्यमा सक्रिय रहेका युवाहरुको एक समुहले महिलामाथी हुने हिंसाका विरुद्ध शसक्त बनाउन आत्मरक्षाका लागि तालिम दिने भएका छन् । लियो क्लब अफ दमकले सो तालिमको आयोजना गरेको छ । 




तालिमले महिलाहरुले आफ्नो सुरक्षा आँफै गर्न सक्ने कलाको विकास गर्ने सो क्लबका अध्यक्ष प्रबेश बास्ताकोटीले जानकारी दिनुभयो । क्लबले आज एक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन मार्फत यसको जानकारी दिएको हो ।

सो मार्शलआर्ट तालिम ७ दिनको हुने र आगामी माघ ११ गतेबाट शुरु गरिने पनि अध्यक्ष बास्ताकोटीले जानकारी दिनुभयो । त्यस्तै क्लबले यो जाडोलाई मध्यनजर गर्दै विभिन्न कपडा व्यवसायीहरुबाट न्यानो कपडा पनि संकलन गर्दै आएको बास्ताकोटीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार संकलन गरिएका कपडाहरु अति विपन्न परिवारका लागि उपलब्ध गराईनेछ । साथै क्लबले दुर्घटना न्युनिकरणका लागि २ सय कुकुरलाई बेल्ट लगाउने र खाना खुवाउने कार्यक्रम पनि तय गरेको छ । यद्यपी सो कार्यक्रमको मिति भने तय भइनसकेको बास्ताकोटीले जानकारी दिनुभयो ।

यसअघि दमकका ४ सय कुकुरलाई बेल्ट लगाइएको पनि उहाँले जानकारी दिनुभयो । क्लबले स्थापनादेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । पत्रकार सम्मेलनमा क्लबका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Friday, December 25, 2020

विर्तामोडलाई पाखा लगाउँदै बेलबारी फाईनलमा

विर्तामोड युनाईटेडलाई पाखा लगाउँदै मोरङ्गको नर्थ राधानगर फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको फाईनल प्रबेश गरेको छ । उसले विर्तामोड माथी एक शुन्यको जीत निकालेको हो ।

निक्कै नै प्रतिस्पर्धात्मक रहेको खेलमा विजयी टिमका लागि म्यान अफ दि म्याच विवेक पौडेलले निर्णायक गोल गरे । जर्सी नम्बर ७ का पौडेलले दोश्रो हाफको १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि एक शुन्यले पछि परेको विर्तामोडले खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न नसक्दा प्रतियोगिताको सेमिफाईनलबाटै बाहिरीएको छ । भोली अन्तिम सेमिफाईनलमा आयोजक चुलाचुली फुट्बल क्लब र फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुर आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरी १२ टिमको सहभागिता रहेको छ

Thursday, December 24, 2020

वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक सेमिफाईनलमा

 वाईएफसी पथरीलाई एक शुन्यले पाखा लगाउँदै आयोजक चुलाचुली फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको सेमिफाईनल प्रबेश गरेको छ । 

विजयी टिमका लागि म्यान अफ दि म्याच मल्दिनो आङ्गथुपोले निर्णायक गोल गरे । उनले पहिलो हाफको ५ औं मिनेटमा पेनाल्टि मार्फत गरेको गोल नै अयोजकलाई सेमिफाईनल पुग्न पर्याप्त भयो ।

खेलको शुरुवातमै एक शुन्यले पछि परेको वाईएफसीले गोल गर्ने थुप्रै अबसर पाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि क्वाटरफाईनलबाटै घर फर्किएको छ ।

जितसँगै आयोजकले अब अन्तिम दुई प्रबेशका लागि फुलबारी स्पोर्टिङ्ग क्लब धरमपुरसँग प्रतिस्पर्धा गर्नेछ । भोली प्रतियोगिताको पहिलो सेमिफाईनलमा विर्तामोड युनाईटेड झापा र बेलबारी फुट्बल क्लब मोरङ्ग आमने–सामने हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो ।

दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी सो प्रतियोगिताको विजेताले नगद २५ हजार र उप–विजेताले नगद १५ हजारसँगै ट्रफी हात पार्ने छन् ।

Saturday, December 19, 2020

रियललाई पाखा लगाउँदै चात्यासा क्वाटर फाईनलमा

 4ggg

झापा, ४ पुस/  रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए ।

उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे । उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए । चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।

Friday, December 18, 2020

फुलबारी क्लबको विजयी शुरुवात

झापा, ३ पुस/   धरमपुरको फुलबारी स्पोर्टिङ्ग क्लबले झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी प्रतियोगितामा उसले मोरङ्गको इष्ट स्टार स्पोर्टिङ्ग क्लब मधुमल्लालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

 विजयी टिमका लागि सुमन लिम्बु, अमन लिम्बु र पृतम लिम्बुले गोल गरेका थिए । जर्सी नम्बर ११ का सुमनले ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने जर्सी नम्बर १५ का अमनले २४ औं र जर्सी नम्बर ९ का पृतमले दोश्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । 

पराजित टिमकातर्फबाट जर्सी नम्बर ३ का प्रबेश बस्नेतले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ६ का आशिष लावती घोषित भए । जीतसँगै फुलबारी प्रतियोगिताको क्वाटर फाईनल प्रबेश गरेको छ ।

 अब उसले अन्तिम चार प्रबेशका लागि मंगलबार गछिया फुट्बल क्लब मोरङ्गसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार रियल स्टार फुट्बल क्लब र चात्यासा फुट्बल क्लबबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनु भयो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो । 


समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...