Saturday, December 19, 2020

रियललाई पाखा लगाउँदै चात्यासा क्वाटर फाईनलमा

 4ggg

झापा, ४ पुस/  रियल स्टार फुट्बल क्लबलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाउँदै चात्यासा फुट्बल क्लब झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।

निर्धारीत समय सम्म १–१ को बराबरी भएपछि भएको टाईब्रेकरमा चात्यासाले बाजी मारेको हो । उसका लागी सन्देश केसी, श्याम श्रेष्ठ, राहुल लिम्बु र प्रविन राईले गोल गरेका थिए ।

उता पराजित रियलका तर्फबाट अबिन लिम्बु, बिकास लिम्बु र बिकास माझीले गोल गरे । उसका रोशन धिमालको प्रहार भने चात्यासाका गोलरक्षक योगेश धिमालले बिफल तुल्याएसँगै चात्यासाले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यसअघि खेलको ३२ औं मिनेटमा गोल गर्दै प्रबिन राईले चात्यासालाई अग्रता दिलाएका थिए भने किस्मत लिम्बुले दोश्रो हाफको १८ औं मिनेटमा गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलरक्षक योगेश धिमाल भए । चात्यासाले अब अन्तिम चार प्रबेशका लागी विर्तामोड युनाईटेडसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

भोली भुट्निज युथ क्लब र वाईएफसी पथरीबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो ।

Friday, December 18, 2020

फुलबारी क्लबको विजयी शुरुवात

झापा, ३ पुस/   धरमपुरको फुलबारी स्पोर्टिङ्ग क्लबले झापाको दमकमा जारी दुम्सेली नक आउट फुट्बल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दमक–३ स्थित चुलाचुली खेल मैदानमा जारी प्रतियोगितामा उसले मोरङ्गको इष्ट स्टार स्पोर्टिङ्ग क्लब मधुमल्लालाई ३–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

 विजयी टिमका लागि सुमन लिम्बु, अमन लिम्बु र पृतम लिम्बुले गोल गरेका थिए । जर्सी नम्बर ११ का सुमनले ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने जर्सी नम्बर १५ का अमनले २४ औं र जर्सी नम्बर ९ का पृतमले दोश्रो हाफको २१ औं मिनेटमा गोल गरेका थिए । 

पराजित टिमकातर्फबाट जर्सी नम्बर ३ का प्रबेश बस्नेतले पहिलो हाफको २३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ६ का आशिष लावती घोषित भए । जीतसँगै फुलबारी प्रतियोगिताको क्वाटर फाईनल प्रबेश गरेको छ ।

 अब उसले अन्तिम चार प्रबेशका लागि मंगलबार गछिया फुट्बल क्लब मोरङ्गसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार रियल स्टार फुट्बल क्लब र चात्यासा फुट्बल क्लबबीच खेल हुने खेल संयोजक अनिस बस्नेतले जानकारी दिनु भयो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार हात पार्ने छ भने उप–विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना चुलाचुली फुट्बल क्लब दुम्सेले गरेको हो । 


Wednesday, August 12, 2020

कोरोना संक्रमित प्रहरीको लापर्वाही, सुटुक्क गए बुट्बल

दमक। झापाको मेचीनगर नगरपालिकाबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएको स्वाबको रिपोर्ट नआइ नै नेपाल प्रहरीका एक अधिकृत बुट्बल गएको खुल्न आएको छ । मेचीनगरबाट गत २५ गते स्वाब संकलन गरिएका थियो ।

जसको आज रिपोर्ट आएको भएपनि रिपोर्ट नआउँदै कोरोना संक्रमित प्रहरी नायब निरीक्षक आज दिउँसो नै बुट्बल पुगेको खुल्न आएको हो । उनी घर विदामा आएर मेचीनगर ७ को उनको घरमा नै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

तर उनी आज रिपोर्ट आउँदा बुट्बल पुगेका थिए । प्रहरी जस्तो जिम्मेवार व्यक्ति भएर पनि यसरी रिपोर्ट नआउँदै बाहिर हिड्नुले कोरोना संक्रमण बढाउन थप बल पुग्ने देखिएको छ । श्रोतका अनुसार उनी अख्तियार बुट्बलमा कार्यरत हुन् ।

मेचीनगरमा आज ती प्रहरीसहित ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जसमध्ये दुई जनालाई स्वास्थ्य चौकी धाइजनको आइसोलेसनमा र एक जनालाई मेचीनपाको आम्दा अस्पतालमा राखिएको छ । प्रहरी भने कोरोना पोजेटिभ भएको रिपोर्ट आउँदा बुट्बल आसपास सरर हिडिरहेका थिए ।

 

Monday, August 10, 2020

गौरादहका ५ जनामा कोरोना संक्रमण पुष्टि

 दमक। झापाको गौरादह नगरपालिकाका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौरादहबाट १ सय ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।


जसमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक पर्शुराम भट्टराईले जानकरी दिनुभयो । कोरोना संक्रमण पुष्टि हुनेमा दुई जना सशस्त्र प्रहरी बलमा कार्यरत भइ विदामा घर आएका हुन भने तीन जना साउदी अरबबाट आएका पुरुषहरु हुन् । 

जसमा वडा नम्बर ७ र ९ का दुई–दुई जना पुरुष तथा वडा नम्बर ५ का एक पुरुष छन् । योसँगै गोरादहमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ पुगेको छ । यद्यपि यसअघिका ११ जनाले भने कोरोना जितिसकेका छन् ।

Sunday, August 9, 2020

कोरोना संक्रमित आएको थाहापाएपछि हस्पिटल बन्द

दमक। झापाको दमकमा रहेको दमक हस्पिटल बन्द गरिएको छ । आज कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीका एक पुरुष हस्पिटलमा जाँच गराउन गएको खुल्न आएसँगै हस्पिटल बन्द गरिएको अस्पताल श्रोतले बताएको छ । उनी कोरोना परीक्षणको रिपोर्ट नआउँदै दिउँसो हस्पिटल गएका थिए । 

उनको दमक नगरपालिकाबाट स्वाब संकलन गरी बुधबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । दमकबाट पठाइएका एक सय ७ जनामध्ये आज ४७ जनाको रिपोर्ट आएको थियो । जसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हस्पिटलमा उनी दिउँसो जाँच गराउन गएको श्रोतले बतायो । उनी साथीसँग गएको र उनमा रुगा लागेको अबस्थामा अस्पताल गएको श्रोतले बतायो । श्रोतले भन्यो, उनी दिउँसो हस्पिटल आएका थिए । उनीसँगै अर्का साथी पनि आएका थिए । दुबै जनाले चेक जाँचका लागि पुर्जा लगेको र पछि हस्पिटलबाट फर्किएका थिए । हस्पिटलमा दिउँसो धेरै भिड रहेको पनि बुझिएको छ ।

हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले यो विषम परिस्थितिमा पनि जनतामा सेवा दिदैं आएको तर सुरक्षा निकायका सदस्यबाट नै लापर्वाही गर्नाले हस्पिटलले सेवा दिन नसक्ने बताउनु भयो । वहाँले भन्नु भयो, कन्ट्रयाक ट्रेसिङ्गको रिपोर्ट नआएसम्म सम्पूर्ण सेवा बन्द गरिएको छ । 

नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव भट्टराईले ३–४ दिनमा उनको सम्पर्कमा आएका र हस्पिटलका को–को सँग उनको भेट भएको थियो, तिनीहरुले को–को सँग भेट गरे तिनीहरु सबैको परीक्षण गरिने बताउनु भयो ।

 स्वाब संकलन गरीएका व्यक्ति रिपोर्ट नआउँदैं खुल्लम खुला हिडेको पाइएसँगै त्रास बढेको छ । उनमा कोरोना पुष्टि भएको खबर पाएपछि हस्पिटलमा काम गर्नेहरुमा पनि त्रास बढेको छ । एक जनाले नाम नखुलाउने शर्तमा भने, जनतालाई सुरक्षा दिनेबाटै यत्रो गल्ति हुन्छ भने अन्य सर्वसाधारणले के गर्लान । उनको हेल्चेक्राइले अन्यमा पनि संक्रमण भएमा त्यसको जिम्मेबार को हुने ? दमकमा भयावह स्थिति आएमा त्यसको जिम्मेवारी कसले लिने । आजको यस घटनाले सुरक्षा निकायसँग पनि सचेत हुनुपर्ने देखिएको छ ।


Thursday, August 6, 2020

प्रदेश २ का कानूनमन्त्री यादवलाई कोरोना भएसँगै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की होम क्वारेन्टाइनमा

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की होम क्वारेन्टाइनमा बस्नु भएको छ । यही साउन १४ गते प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

देशमा प्रहरी व्यवस्थापन सम्बन्धमा काठमाण्डौंमा भएको छलफलमा सहभागी प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना सक्रमण भएको पुष्टि भएसँगै मन्त्री कार्की होम क्वारेन्टाइनमा बस्नु भएको वहाँका स्वकीय सचिव कमल पौडेलले जानकारी दिनुभयो।

काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहनु भएको थियो ।

कार्कीको सचिवालयले १६ साउनपछि मन्त्रीसँग भेटघाट गर्ने र प्रत्यक्ष सम्पर्कमा पुग्नेहरूलाई सतर्क रहन आग्रह समेत गरेको छ । मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षण गर्न आग्रह समेत गर्नु भएको छ ।

Friday, July 31, 2020

झापामा १२ सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना सङ्क्रमण

दमक/  झापामा शुक्रबार १२ जना सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पूर्वी नाका काँकडभिट्टास्थित राजस्व तथा भन्सार गुल्ममा कार्यरत १२ जना र अर्जुनधारा नगरपालिकाका एक सर्वसाधारणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
काँकडभिट्टा सशस्त्रका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाका फोकल पर्सन नवीन बरालले जानकारी दिए । उनका अनुसार मेचीनगर नगरपालिकाबाट ३२ जना सशस्त्र प्रहरीसहित एक सय १७ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । जसमा १२ जना सशस्त्रमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सशस्त्रका कोरोना सङ्क्रमित हुनेमा १० पुरुष र २ महिला छन् । सङ्क्रमित हुने पुरुषहरु २७ वर्षदेखि ४० वर्षसम्मका छन् । त्यस्तै, दुवै महिला २७ वर्षीया हुन् । योसँगै काँकडभिट्टामा कोरोना सङ्क्रमित हुने सशस्त्र प्रहरीको सङ्ख्या ३२ पुगेको छ । यसअघि सोही गुल्मका २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु आइसोलेसनमा छन् ।
सङ्क्रमित १० पुरुषलाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको छ भने २ महिलालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल पठाइएको छ । शुक्रबार आएको रिपोर्टले मेचीनगरमा समुदायमा भने कोरोना सङ्क्रमण नभएको प्रस्ट भएको मेचीनगर नगरपालिकाको उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रतिक्रिया दिइन् ।
उप्रेतीले भनिन, ‘मेचीनगरबाट पठाइएका एक सय १७ जनामध्ये १२ जनामा कोरोना देखियो, ती सबै सशस्त्रका हुन् । समुदायका कसैको पनि रिपोर्ट पोजेटिभ देखिएन । यसले समुदायमा कोरोना फैलिएको छैन भन्ने प्रस्ट भएको छ ।’
उप्रेतीले सशस्त्रका थपमा कोरोना देखिनुले सङ्क्रमित एउटै हलमा बस्दा पनि कोरोना फैलन सक्ने देखिएको भन्दै सामुदायिक भवनलाई क्वारेन्टाइन बनाउन उपयुक्त नहुने देखिएको बताइन । उपप्रमुख उप्रेतीले सबैमा सचेत रहन पनि अनुरोध गरेकी छन् । उनले सञ्चार क्षेत्रले सही सूचना सम्प्रेषण गरेर खबरदारी गर्न पनि अनुरोध गरिन ।
यससँगै झापामा कोरोना सङ्क्रमित सशस्त्रको सङ्ख्या ३५ पुगेको छ । बिहीबार मात्र झापाको पाथीभरा शिक्षालयका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै, अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई थप उपचारका लागि गोठगाउँ पठाइएको छ । यससँगैै झापामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ६८ पुगेको छ ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...