Thursday, October 20, 2016

सर्वोच्चबाटै लोकमानसिंह विरुद्धको मुद्दा टुङ्गो लगाउन माग गर्दै अर्को रिट दायर गर्ने तयारी

काठमाडौं , ४ कार्तिक , २०७३    संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतबाटै काममा रोग लगाउन माग गर्दै रिट दायर गर्ने तयारी भएको छ । 

अख्तियार प्रमुखमा कार्कीको नियुक्तीसम्बन्धी मुद्धा अदालतमा बिचारधीन भएकाले रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई काममा रोक लगाउन माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा आज अर्को रिट दायर गर्न लाग्नुभएको हो । 

संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएर कार्की निलम्वनमा परेपनि सर्वोच्चबाटै उनलाई मुद्धाको टुंगो नलागेसम्म काममा रोग लगाउन माग गर्दै रिट दायर गर्न लागिएको अधिवक्ता अर्यालले बताउनुभयो । महाअभियोगको प्रस्ताव पारित हुन नसके कार्कीलाई पुनस्अख्तियार प्रमुखको रुपमा काम गर्न बाटो खुल्ने भएकाले सर्वोच्चबाटै उनलाई काममा रोक लगाउन माग गर्न लागिएको अर्यालले बताउनुभयो ।

Wednesday, October 19, 2016

कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रधानमन्त्री र कंग्रेस सभापति देउवाबीच छलफल

४ कार्तिक , २०७३  अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवाबीच आज बिहान छलफल भएको छ ।

दिउँसो १ बजे बस्ने संसद बैठकमा उहाँबिरुघको महाअभियोग प्रस्ताव प्रस्तुत हुनु पूर्व दुई शीर्ष नेताबीच छलफल भएको हो । महाअभियोग प्रस्तावमा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले हस्ताक्षर गरेपनि कांग्रेसले भने कुनै निर्णय गरेको छैन ।

 सभापति देउवाले महाअभियोग प्रस्ताव पारितका लागि सहयोग गर्ने आश्वासन दिएपनि ठोस धारणा भने आएको छैन । आजै अपरान्ह सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा समेत महाअभियोग प्रस्तावबारे छलफल हुने भएपछि प्रधानमन्त्री दाहालले सभापति देउवाको राय बुझ्नु भएको हो ।  

भागबन्डामा बन्यो महाभियोग समिति

४ कार्तिक , २०७३  राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश र अन्य संवैधानिक अंगका पदाधिकारीले पदीय मर्यादाविपरीत काम गरे उनीहरुलाई हटाउन महाअभियोग लगाउने सैद्धान्तिक आधार तयार भएको छ ।
बुधबार व्यवस्थापिका संसद् बैठकले त्यस्ता पदाधिकारीविरुद्ध महाभियोग सिफारिस गर्ने समिति गठन गरेको हो । संविधानअनुसार  महाभियोग लगाउन सिफारिस समितिले सहमति दिनुपर्ने व्यवस्था कार्यान्वयनका लागि व्यवस्थापिका संसद्ले लामो प्रयासपछि यस्तो समिति बनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाएर पदबाट हटाउनुपर्ने माग विभिन्न तह र तप्काबाट उठिरहेका बेला संसद् सचिवालयले महाभियोग सिफारिस समिति निर्माण गरेको हो ।

कांग्रेस ४
एमाले ४
माओवादी केन्द्र २
राप्रपा नेपाल १
सभामुख ओनसरी घर्तीमगरले समितिमा रहने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपालका सांसदको नाम सदनबाट घोषणा गरेकी हुन् । लामो समयदेखि उक्त समिति गठन प्रयास भए पनि दलहरुबीच विवादले अघि बढ्न सकेको थिएन ।
बुधबार बिहान बसेको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले उक्त समितिमा बस्ने आफ्ना सदस्यको नाम तय गरेका थिए ।
समितिमा नेपाली कांग्रेस र एमालेलाई चार–चार, माओवादी केन्द्रलाई दुई र राप्रपा नेपाललाई एक सदस्यको भागबन्डा गरिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट फर्मुला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की, दीपक कुइँकेल र कुमारीलक्ष्मी राई छन् ।  एमालेबाट रेवतीरमण भण्डारी, सुशीला कार्की, केशव बडाल र पार्वत गुरुङ, माओवादी केन्द्रबाट अमलाल मोदी र रामनारायण बिडारी तथा राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहनेछन् ।

राप्रपा नेपालले यसअघि महाभियोग सिफारिस समितिमा आफ्नातर्फबाट प्रतिनिधित्व नगराए बुधबार तय भएको संसद्मा प्रधानमन्त्रीको सम्बोधन अवरोध गर्ने चेतावनी दिएको थियो ।
सभामुख घर्तीमगरले समिति निर्माणका लागि अघिल्लो महिनादेखि नै प्रयास थालेकी थिइन् । तत्कालीन समयमा दलहरुबीच सहमति हुन नसक्दा समिति निर्माण हुन सकेको थिएन । पछिल्ला दिन दलहरुमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल र अन्य दलका प्रमुख सचेतक, शीर्ष नेता र सचेतकसँग छलफलपछि सबैलाई मिलाएर लैजाने सहमति भएको थियो ।

महाभियोग लगाउने आधार र कारण विद्यमान भए-नभएको छानबिन गरी सिफारिस गर्न संसदीय समिति रहने परिकल्पना संविधानले गरेको छ । त्यस्तो समितिले राष्ट्रपति र उपराष्ट्रपतिमाथि भने महाभियोगको आधार र कारणबारे छानबिन गर्न पाउनेछैन ।
प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सचेतकलाई बोलाएर महाभियोग समिति गठनलगायत रिक्त लेखा समिति र अन्य गठन हुन बाँकी समिति निर्माणका तयार रहन सभामुख घर्तीले असोजमै आग्रह गरेकी  थिइन् । नेपालको संविधानको धारा १०१ मा महाभियोगसम्बन्धी व्यवस्था छ जसमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीश र संवैधानिक अंगका प्रमुखलाई महाभियोग लगाएर हटाउने प्रस्ताव संसद्बाट दुई तिहाइले पणस हुनुपर्ने व्यवस्था छ ।
महाभियोग लगाउने आधार र कारण विद्यमान भए-नभएको छानबिन गरी सिफारिस गर्न संसदीय समिति रहने परिकल्पना संविधानले गरेको छ । त्यस्तो समितिले राष्ट्रपति र उपराष्ट्रपतिमाथि भने महाभियोगको आधार र कारणबारे छानबिन गर्न पाउनेछैन ।
संविधानमा महाभियोग सिफारिस समिति ११ सदस्यीय हुने उल्लेख छ । कुनै संवैधानिक निकायको प्रमुख र आयुक्त, सर्वोच्च अदालतका न्यायाधीश, राष्ट्रपति र उपराष्ट्रपतिले पदीय मर्यादाविपरीत कार्य गरेको ठहर गरी महाभियोग सिफारिस गर्नुपर्ने देखिए यस्तो समितिले सिफारिस गर्नुपर्ने हुन्छ तर संविधान जारी भएको एक वर्षसम्म यस्तो समिति निर्माण हुन सकेको थिएन । संविधान निर्माण गरी संविधानसभा विघटन भए पनि रुपान्तरित संसद्ले यस्तो समिति निर्माण गरेको हो ।
संसद्ले सिफारिस समिति गठन गरेपछि पदीय मर्यादाविपरीत काम गरेका संवैधानीक निकायका पदाधिकारीविरुद्ध महाभियोग लगाउने सैद्धान्तिक धरातल निर्माण भएको छ । यसअघि उक्त समिति निर्माण नहुँदा महाभियोग सम्बन्धी सूचना दर्ता भए पनि अघि बढ्न सक्ने अवस्था थिएन ।
यसअघि नियमावली नहुँदा समितिहरुले पूर्णता पाउन सकेका थिएनन् । अनशनरत डा. गोविन्द केसीले अख्तियारप्रमुख कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाभियोग लगाउनुपर्ने माग गरे पनि समिति नबनेसम्म उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढ्न सक्ने अवस्थामा थिएन । अब उक्त बाटो भने खुलेको छ ।
कसरी लगाइन्छ महाभियोग ?
संवैधानिक निकायका पदाधिकारीलाई महाभियोग लगाउन सर्वप्रथम दुई सांसदको हस्ताक्षरसहित निवेदन संसद् सचिवालयमा दर्ता गराउनुपर्छ । सर्वोच्च अदालतका न्यायाधीशका हकमा भने न्यायपरिषद्ले महाभियोग लगाउन सिफारिस गर्न सक्ने व्यवस्था छ । न्यायाधीशबाहेक अन्य निकायका पदाधिकारी, राष्ट्रपति र उपराष्ट्रपतिलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भए दुई सांसदको हस्ताक्षर आवश्यक हुन्छ । उक्त हस्ताक्षरसहितको निवेदनमा सिफारिस समितिले छानबिन गर्नेछ ।

समितिले उपयुक्त आधार र कारण देखे संसद्मा महाभियोग लगाउन सिफारिस गर्नेछ । संसद्को एकतिहाइले स्वीकृत गरेपछि उक्त व्यक्तिले पदबाट स्वतः अवकाश पाउनेछ । महाभियोग समितिले संसद्मा सिफारिस गरेपछि पदबाट आरोपित व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था छ ।

महाअभियोगबारे कांग्रेसलाई जानकारी छैन - प्रमुख सचेतक

४ कार्तिक , २०७३ ।  सत्तारुढ दल नेपाली काग्रेसले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध व्यवस्थापिका संसदमा बुधबार दर्ता भएको महाअभियोग प्रस्तावबारे आफूलाई जानकारी नभएको बताएको छ।

बुधबार साँझ सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल एमालेका एक सय ५७ जना सांसदले अख्तियार प्रमुख कार्की विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव गर्दा गराएका थिए।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे आफ्नो दललाई कुनै जानकारी नभएको बताए। ‘महाअभियोग प्रस्तावबारे हाम्रो दललाई कुनै जानकारी छैन,’ प्रमुख सचेतक श्रेष्ठले नागरिकन्युजसँग भने,‘यस विषयमा कुनै पनि दलले कांग्रेससँग छलफल गरेका छैनन्।’ उनले महाअभियोगका विषयमा सभापति शेरबहादुर देउवाबाट कुनै निर्देशन पनि नआएको बताए।

एमाले र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव गर्दा गराएपनि कांग्रेस सांसदहरुको हस्ताक्षर छैन। महाअभियोगबारे आजै बस्ने संसद बैठकमा छलफल हुने बताइएको छ। तर, कांग्रेसले भने संसद बैठकमा सो प्रस्तावमाथि छलफल हुने नहुने विषयमा आफूलाई जानकारी नभएको बताएको छ। ‘संसदमा छलफल हुने विषयपनि हामीलाई जानकारी छैन,’ श्रेष्ठले भने,‘यो विषयमा कांग्रेसलाई कुनै जानकारी छैन।’ आज बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सो विषयमा छलफल हुनसक्ने श्रेष्ठले बताए। 

तर, कांग्रेस सांसद रामहरि खतिवडाले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिने बताए। उनले अख्तियार प्रमुखले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम आफैं गर्न खोजेको भन्दै महाअभियोगको प्रस्तावमाथि कांग्रेसले भाग लिने बताए।

अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता ,कार्कीको क्रियाकलाप प्रति एमाले पनि असन्तुष्ट

३ कार्तिक, २०७३  एमाले र माओवादीका १ सय ९७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । 

एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् । 

एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कंग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् । यसैबीच, प्रमुख विपक्षी एमालेले अख्तियार प्रमुख कार्कीको क्रियाकलापप्रति असन्तुष्टि जनाएको छ । संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकमानको गतिविधिको आलोचना गर्नुभयो । 

सांसद यज्ञराज सुुनवारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीबारे सर्बत्र उठिरहेको प्रश्नबारे पार्टीको धारणा स्पष्ट पार्नु पर्ने माग गर्नुभएको थियो । सांसद सुनुवारले उठाएको बिषयलाई अध्यक्ष ओलीले आफ्नो सम्बोधनका क्रममा घुमाउरो शैलीमा जवाफ दिदै भन्नुभयो, ‘सरकार लगायत सबै निकायहरुले आफ्नो दायरा र लक्ष्मणरेखाभित्र बस्नुपर्छ ।’ यस्तै, बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहालले दुई पटकको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय भावनाको ठिक ढंगले प्रतिनिधित्व गर्दै आफ्ना कुरा राख्न नसकेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री दाहालले आज संसदमा गरेको सम्बोधनबाटै यो पुष्टि भएको एमालेको ठहर छ ।

चिकित्सा क्षेत्रमा देखिएको अनियमितता अध्ययन गर्न उपसमिति गठन

काठमाडौं ३ कार्तिक , २०७३  संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले चिकित्सा क्षेत्रमा देखिएको अनियमितता अध्ययन गर्न उपसमिति बनाएको छ । 

सिंहदरबारस्थित समितिको सचिवालयमा आज बसेको बैठकले चिकित्सा क्षेत्रमा शुल्क, सिट र प्रवेश परीक्षामा देखिएको अनियमितता अध्ययनका लागि ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई शुल्कमा देखिएको अनियमितता, प्रवेश परीक्षा, काठमाडौं विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा अख्तियारको हस्तक्षेप भएरनभएको तथा सिट निर्धारण सम्बन्धमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको समिति सभापति रञ्जुकुमारी झाले जानकारी दिनुभयो । 

उपसमिति गठन गर्नु अघि समितिले स्वास्थ्यमन्त्री गगन थापासँग चिकित्सा क्षेत्रमा देखिएको समस्या र समाधानका लागि सरकारबाट भएका प्रयासबारे जानकारी लिएको थियो । स्वास्थ्यमन्त्री थापाले केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको प्रतिवेदनलाई निर्देशक डकुमेण्ट्रीको रुपमा लिएर काम अघि बढाइरहेको जानकारी गराउनुभएको थियो । उहाँले शैक्षिक सत्रलाई असर नपर्ने गरी अर्को व्यवस्था नहुन्जेलसम्म नेपाल मेडिकल काउन्सिललाई काम अगाडि बढाउन निर्देशन दिएको बताउनुभयो ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...