Monday, May 23, 2016

काठमाण्डौंको दब्दबा सकियो,झापाका भुपेन्द्र नेपाल च्याम्पियन



१० जेठ,इलाम /  बुद्धिचालमा काठमाण्डौंको एकल दब्दबा सकिएको छ । इलाममा जारी १९ औं राष्ट्रिय प्रतियोगिताको सोमबार आठौ राउण्डको खेल सकिएसँगै झापा दमकका भुपेन्द्र निरौला (निरज) एक खेल अगावै नेपाल च्याम्पियन भएपछि काठमाण्डौंको एकल दब्दबा समाप्त भएको हो । अहिले सम्म राजधानी बाहिरका कोहिपनि नेपाल च्याम्पियन बनेका थिएनन् । उनको ७ अंक रहेको छ । उनलाई पच्छ्याइ रहेका ओलम्पियाड ललितपुरे सजिन महर्जन पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट माष्टर केशब श्रेष्ठसँग चित खाएपछि भुपेन्द्र एक खेल अगावै नेपाल च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै आगामी ओलम्पियाडका लागि छनोट हुनेपनि उनी पहिलो खेलाडी भएका छन् । पहिलो बोर्डमा खेलेका भुपेन्द्रले भने आठौं राउण्डमा क्षितिज भण्डारीसँग अंक बाडेका थिए । यद्यपी उनले खेलमा एक अंकको स्पष्ट अग्रता लिएका थिए । भण्डारीको ५.५ अंक रहेको छ ।

दोस्रो बोर्डमा पराजय भोगेका महर्जनको पनि पराजयको बाबजुद ५.५ अंक नै रहेको छ । महर्जनले श्रेष्ठलाई पराजित गरेको भए खेलको निणर्य नौं औं तथा अन्तिम राउण्डबाट मात्र आउने थियो । झापा दमककै प्रकाश नेपाल फिडे माष्टर मनिष हमाललाई बराबरीमा रोक्न सफल भए । उनले तेस्रो बोर्डमा खेलेका थिए । बराबरीपछि प्रकाश र मनिषको समान ५ अंक भएको छ । त्यस्तै चौथो बोर्डमा खेलेका फिडे माष्टर विलमलाल श्रेष्ठ र पुरुषोत्तम चौलागाईले पनि बराबरी खेलेका छन् । क्यान्डिडेट माष्टर रिजेन्द्र राजभण्डारी भने हिमाल लामासँग पराजित भए । जित हासिल गरेका लामाको ५.५ अंक भएको छ । यो सँगै अजरबैजानमा हुने आगामी ओलम्पियाडमा सहभागि हुने बाँकी चार खेलाडीको टुङगो अन्तिम राउण्डबाट मात्र लाग्ने भएको छ । अन्तिम राउण्डका टप ५ बोर्डमा रहने खेलाडी गर या मरको अवस्था रहने छन् ।

 उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा पुर्व च्याम्पियन विना जैसवाल पराजित हुदै ओलम्पियाडका लागि छनोट हुने सम्भाबनाबाट टाढा भएकी छन् । उनको चार अंक मात्र रहेको छ । शिर्ष स्थानमा  रहेकी सिन्दीरा जोशीको ६.५,दोस्रो स्थानमा रहेकी मोनालिसा खम्बुको ६,तेस्रो स्थानमा रहेकी शान्ता थापाको ६,चौथा स्थानमा रहेकी सुजना लोहनीको ५.५ पाँचौ स्थानमा रहेकी संगिता जैसवालको र छैटौ स्थानमा रहेकी विसेखा जैसवालको समान ४.५ अंक रहेको छ । त्यस्तै सुरुचि थिङको ४ अंक रहेको छ । अन्तिम राउण्ड मंलबार विहान ७ बजेबाट शुरुहुनेछ ।


हिमाल लामालाई पराजित गरेसँगै झापाका भुपेन्द्र निरौला उपाधि नजिक

१० जेठ,इलाम/  ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज) उपाधि नजिक पुगेका छन् । आज चौथो दिनको पहिलो राउण्डको खेलमा हिमाल लामालाई पराजित गरेपछि उनि उपाधी नजिक पुगेका हुन् । लामाले ३१ औं चालमा गरेको ड्र अफरलाई ठाडै अस्विकार गरेका उनले ८५ औं चालमा लामालाई हार स्विकार्न बाध्य बनाएका थिए । जितसँगै भुपेन्द्रको ६.५ अंक भएको छ । पराजित हिमलको भने ४.५ अंक रहेको छ ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेका ओलम्पियाड सजिन महर्जनले पुरुषोत्तम चौलागाईलाई पराजित गरेका छन् । महर्जनको ५.५ अंक पुगेको छ । त्यस्तै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाई क्षितिज भण्डारीले पाखा लगाए । जितसँगै उनको ५ अंक भएको छ । तेस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमाल र क्यान्डिडेट माष्टर केशब श्रेष्ठले बराबरी खेल्दा झापा दमककै प्रकाश नेपालले रबिन्द्र शाक्यलाई चित ख्वाए ।

प्रतियोगितामा यि तीनै जनाको समान ४.५ अंक रहेको छ । अन्य खेलमा फिडे माष्टर बिलमलाल श्रेष्ठ,विजय डंगोल,क्यान्डिडेट माष्टर प्रचण्डमान मालाकार र बाबुराजा महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै थप एक÷एक अंक बटुलेका छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा सातौ राउण्डको बराबरीसँगै सिन्दीरा जोशी आफ्नो अग्रतालाई कायमै राख्न सफल भएकी छन् । उनको ५.५ अंक रहेको छ । उनले पहिलो बोर्डमा सुजना लोहनीसँग बराबरी खेलेकी हुन् ।

 त्यस्तै दोस्रो बोर्डमा खेलेकी शान्ता थापाले मोनालिसा खम्बुसँग बराबरी गर्न सफल भइन् । खम्बु,लोहनी र थापाको समान ४.५ अंक रहेको छ । उनीहरुलाई अनिसा न्यौपाने,अस्मिता अधिकारी,विनिता कपाली र विना जैसवालले पच्छ्याइ रहेका छन् । 

भुपेन्द्रको अग्रता कायमै


९ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल
प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला (निरज)को अग्रता कायमै रहेको छ । आइतबार दोस्रो राउण्डमा पहिलो बोर्डमा ब्लाकबाट खेलेका उनले पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेपनि एक अंकको अग्रता कायमै रहेको छ । उनको ५.५ अंक रहेको छ ।

पहिलो राउण्डमा ओलम्पियाड सजिन महर्जनलाई माथ दिएका निरौलाले चौलागाईसँग भने आशातित प्रदर्शन गर्न सकेनन् । चौलागाईले निरौलालाई कडा चुनौति दिएका थिए । निरौलासँग बराबरी खेलेका  चौलागाई र हिमाल लामाको ,तथा सजिन महर्जनको समान ४.५ अंक रहेको छ । दोस्रो राउण्डमा तेस्रो बोर्डमा खेलेका महर्जनले रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका हुन् ।  तीनै जनाले निरौलालाई पच्छ्याइ रहेका छन् । दोस्रो बोर्डमा खेलेका लामाले पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारलाइ पराजित गरेका थिए । पराजय भोगे पनि तण्डुकारको ४ अंक रहेको छ । उनीसँगै फिडे माष्टर मनिष हमाल र राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारीको पनि ४ अंक रहेको छ । त्यस्तै फिडे माष्टर बिलमलाल श्रेष्ठ र सुमित पन्त समान ३.५ अंकका साथ उनीहरुलाई पच्छ्याइ रहेका छन् । यता अर्का फिडे माष्टर सुजेन्द्र प्रसाद श्रेष्ठ भने झापा दमककै प्रकाश नेपालसँग चित खाएका छन् । यो सँगै एकल अग्रता कायम गरेका भुपेन्द्र माथी च्याम्पियन बन्नका लागि बाँकी तीन खेलमा कम्तिमा एक जित र एक बराबरी गर्नु पर्ने छ । 

प्रतियोगितामा आश गरिएका खेलाडी गणेशमान दुवाल,प्रचण्डमान मालाकार र जनार्दन श्रेष्ठ भने सोचे अनुसारको खेल देखाउन सकेका छैनन् । उता चौथो महिला राष्ट्रिय बुद्धिचालमा भने पुर्व नेपाल चयाम्पियन विना जैसवाल अन रेटेड सुजना लोहनीसँग स्तब्ध भएसँगै यस बर्ष पनि च्याम्पियन बन्ने उनको सपना अधुरै हुने भएको छ । उनको ३ अंक छ भने लोहनीको ४ तथा शिर्ष स्थानमा रहेकी सिन्दिरा जोशीको ५ तथा मोनालिसा खम्बु र शान्ता थापाको समान ४.५ अंक रहेको छ । 

 त्यस्तै संगिता जैसवालको ३.५ तथा विनिता जैसवाल,सुरुचि थिङ र अभा पुडासैनिको समान ३ अंक रहेको छ । पुरुष तथा महिला तर्फ अन्तिम पाँचमा रहने खेलाडी अजरबैजानमा हुने ओलम्पियाडका लागि छनोट हुनेछन् । प्रतियोगिता शिवानी एयरको मुख्य प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह–प्रायोजनमा भइरहेको छ । होटल समिटको हलमा भइरहेको प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछन् । 

Saturday, May 21, 2016

नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता

८ जेठ,इलाम/   इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् । 

पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए । पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ ।

 यसअघि शनिबार नै  तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए । त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले । उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । 

त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए । अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई   पराजित गरेका छन् । प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् । 

उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् । उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् । 

Friday, May 20, 2016

श्रेष्ठ द्धारा तण्डुकार पराजित



७ जेठ,इलाम/  इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाल च्याम्पियन केशब श्रेष्ठले लगातार जित हात पारेका छन । पहिलो राउण्डमा भगवती प्रसाद शर्मालाई पहिलो बोर्डमा चित खुवाएका उनले दोस्रो राउण्डमा पहिलो बोर्डमै पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारमाथि जित हासिल गदै लगातार दुई खेलमा जित निकाल्दै पुन नेपाल च्याम्पियनको संकेत दिएका छन् । 

उता दोस्रो बोर्डमा खेलेका फिडे माष्टर मनिष हमालले १९ सय ३९ रेटेड पुरुषोत्तम चौलागाईलाई माथ दिदै लगातार दुई खेलमा जित निकालेका छन् । त्यस्तै तेस्रो बोर्डमा खेलेका भुपेन्द्र निरौला निरजले १९ सय २२ रेटेड गणेशमान दुवाललाई पराजित गरेका छन् । जितसँगै भुपेन्द्रले पनि लगातार दुई खेलमा जित हासिल गर्दै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै १९ सय ७८ रेटेड सजिन महर्जनले पनि पहिलो दिनको दुबै खेलमा जित हात पारेका छन् । दोस्रो राउण्डमा पाँचौ बोर्डमा खेलेका उनले १७ सय ९१ रेटेड कृष्ण शाहालाई माथ दिदा फिडे माष्टर द्धोय बिलमलाल श्रेष्ठ सुजेन्द्र प्रसाद श्रेष्ठले बराबरीमा चित्त बुझाए । दुबैको समान एक दशमलव ५ अंक रहेको छ । 

अन्य खेलमा क्यानिडेट माष्टर रिजेन्द्र राजभण्डारी,रविन्द्र शाक्य,भगवती प्रसाद शर्मा,बाबुराजा महर्जन ,सुमित पन्त र अविरल राईले जित हात पारेका छन् । उता महिलातर्फ भने अस्मिता अधिकारी,विना जैसवाल,सिन्दीरा जोशीले दुबै राउण्डमा जित हात पारेका छन् । शनिबार दोस्रो दिन पनि दुई राउण्का खेल हुनेछन् ।

Thursday, May 19, 2016

पुर्व नेपाल च्याम्पियन सहितका चेस खेलाडी इलाममा, शुक्रबार दुई राउण्ड खेल हुने


 ६ जेठ,इलाम /  १९ औं राष्ट्रिय चेस च्याम्पियनसीपमा सहभागि हुन पुर्व नेपाल च्याम्पियनहरु सहित राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका चेस खेलाडीहरु इलाममा आइ पुगेका छन् । पुर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ,नविन तण्डुकार र मनिष हमाल इलाम आइपुगेका हुन् । 

प्रतियोगिताको औपचारीक उद्घाटन बिहिबार गौतम बुद्ध सभा गृहमा भएपनि खेल भने शुक्रबारबाट मात्र शुरु हुन लागेको हो । उद्घाटन कार्यक्रम अघि विभिन्न झाँकी सहितको र्यालीले इलाम बजार परिक्रमा गरेको थियो । 

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रमूख अतिथी तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले चेस खेललाई राज्यले उपेक्षा गरेको गुनासो गरेका थिए । उनले अन्य खेलका लागि सरकारले बजेट छुट्याएपनि चेस खेलको लागि भने अहिले सम्म कुनै काम नगरेको उल्लेख गरेका थिए । उनले चेस खेलको विकासका लागि घर–घरमा चेसको विकास गर्नुपर्ने बताए । उनले अन्तराष्ट्रिय प्रतियोगिताबाट मेडल ल्याउन सक्ने खेलाडी उत्पादन गर्न  नेपाल ओलम्पिक कमिटीले पनि आफ्नो तर्फबाट कार्य गरिरहेको बताए । 

त्यस्तै कार्यक्रमका सभापति तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले चेसबाट देश चिनाउने अभियान नेपाल बुद्धिचाल संघको रहेको भन्दै अन्तिम पाँचमा छनोट हुने पुरुष तथा महिल खेलाडीहरु अजरबैजानमा हुने ओलम्पियाडमा सहभागि हुनपाउने बताए । कार्यक्रममा सबै राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, नेपाल बुद्धिचाल संघका पुर्व अध्यक्ष राजेस्वरी जोशी, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, इलाम बुद्धिचाल संघका अध्यक्ष याम प्रसाद लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा तेक्वान्दो संघ, उसु संघ र कराँते संघले आफ्नो प्रस्तुति राखेका थिए भने गायक विमल गौतमले चेस सम्बन्धि आफ्नै गित प्रस्तुत गरेका थिए । 
प्रतियोगितामा विभागिय टोलि नेपाली सेना,सशस्त्र प्रहरी बल सहितका गरि पुरुषतर्फ ३५ जना र महिला तर्फ १८ जना प्रतिस्पर्धा गर्दैछन् । नौ राउण्ड सम्म चल्ने प्रतियोगितामा शुक्रबार दुई राउण्ड खेल हुनेछन् । 

चार खेलाडी सम्मानित




५ जेठ, दमक/ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि उनीहरुलाई आज दमकस्थित एभरेष्ट बोर्डिङ्ग स्कुलमा एक कार्यक्रम गरी एभरेष्ट बोर्डिङ्ग स्कुल र झापा जिल्ला बुद्धिचाल संघले संयुक्त रुपमा सम्मान गरेका हुन् । उनीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
 
स्कुलका तर्फबाट प्रिन्सिपल कोषराज प्याकुरेलले सोहि स्कुलकी छात्रा खुस्बुलाई एक हजार र अन्यलाई पाँच सयसहित सम्मान गरेका थिए । 

त्यस्तै बुद्धिचाल संघले जनही एक हजार र सम्मान पत्रसहित सम्मान गरेको थियो । भुपेन्द्र बाहेकका तीनै खेलाडी गत महिना ललितपुरमा भएको छनोट प्रतियोगिताबाट छनोट भएका हुन् । भुपेन्द्रलाई भने बुद्धिचाल संघको केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याइ विजयी भएको र झापाको साख बढाएको भनि सम्मान गरिएको हो । उनी राष्ट्रिय आरविटर तथा क्यानिडेट मास्टर हुन् । 

संघकोतर्फबाट सम्मानित हुनेहरुलाई झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा प्रमुख अतिथि विजय बहादुर मावोहाङ्ग, उपाध्यक्ष देबराज गजमेर, सचिब झमक प्रसाद प्याकुरेल र कोषाध्यक्ष सुरज सुब्बाले सम्मान गरेका थिए । 

कार्यक्रम सोहि स्कुलका प्रिन्सिपल कोषराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । राष्ट्रिय प्रतियोगिता शुक्रबारबाट शुरु हुदैछ । प्रतियोगिता पुरुषतर्फ १९ औ प्रतियोगिता हो भने महिला तर्फ चौथो हो । झापाबाट छनोट भएका चार खेलाडी सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा झापा दमकका भुपेन्द्र निरौला निरज, प्रकाश नेपाल, खुस्बु थापा र काँकडभिट्टाकी पुनम प्रसाई छन् ।

समाजसेवामा रमाउने उप्रेती

  दमक।   जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । ...